निर्वाचनमा पार्टी संगठित ढंगले एकजुट भएर अगाडि बढ्नु पर्छ : महामन्त्री थापा

0
Shares

भक्तपुर।

नेपाली काँग्रेसका महामन्त्री एवं पूर्व स्वास्थ्य मन्त्री गगन थापाले आसन्न निर्वाचनमा एकजुट भएर लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

नेपाली काँग्रेसका पूर्व नेता तथा शिक्षासेवी स्व. श्यामबहादुर कार्कीको पन्ध्रौं स्मृति दिवसमा शनिबार बालकोटमा आयोजित कार्यक्रममा बोल्दै महामन्त्री थापाले आउँदो प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पार्टीले संगठित ढंगले अगाडि बढ्नु आवश्यक रहेको बताउनुभयो ।

कांग्रेस बहुमतउन्मुख र ठूलो दलका रुपमा रहन्छ भन्ने कुरा स्थानीय तहको निर्वाचनले देखाइसकेको उहाँको भनाइ थियो ।

निर्वाचनमा अरु दलहरुसँग गठबन्धन गरेर गए पनि पार्टीभित्रको एकतालाई बलियो बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।महामन्त्री थापाले स्व.कार्कीले शैक्षिक र रानीतिक क्षेत्रमा पुर्याएको योगदानको बारेमा चर्चा गर्नुभयो।

कार्यक्रममा नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले २०४६ र २०६२ /०६३ को राजनीतिक परिवर्तन पछि पनि जनताको अवस्थामा अपेक्षाकृत सुधार हुन नसकेको भन्दै दल र दलका नेतामा आमुल सुधार आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य द्वय जीतजंग बस्नेत र रमा पौडेल,पूर्व सांसद लेखनाथ न्यौपाने, वाग्मती प्रदेशका उद्योग राज्यमन्त्री रजनी जोन्छे ,कांग्रेस जिल्ला सभापति दुर्लभ थापा, मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र प्रजापति,चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री, कांग्रेस नेता रामप्रसाद दवाडी,सुरेन्द्र केसी,प्रदीप कार्की लगायतले श्यामबहादुर कार्कीले पुर्याएको योगदानको बारेमा चर्चा गर्नुभयो ।

कार्यक्रममा गणेश आधारभुत विद्यालय बालकोटका ९७ जना बालबालिकालाई झोला एवं स्टेशनरी सामान वितरण गरिएको प्रतिष्ठानका अध्यक्ष बिष्णुराज कार्कीले जानकारी दिनुभयो ।

सोही अवसरमा आयोजित रक्तदान कार्यक्रममा ९१ जनाले रक्तदान गरेको उहाँले जानकारी दिनुभयो ।