संविधानको रक्षाका लागि तालमेल आवश्यक : नेता कोइराला

0
Shares

चितवन।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शशाङ्क कोइरालाले संविधानको रक्षाका लागि प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सत्तारूढ गठबन्धन दलहरुबीच तालमेल आवश्यक भएको बताएका छन् ।

सञ्चारकर्मीसँग आज यहाँ कुराकानी गर्दै उनले कांग्रेससित निर्वाचनमा एक्लै लड्न सक्ने तागत भए पनि संविधानको रक्षा, देशको विकास र स्थिरताका लागि तालमेल गर्नुपरेको बताए ।

उनले भने, “सरकार पनि गठबन्धनको छ । गठबन्धनबाट निर्वाचनमा जाँदा सहज हुन्छ ।” तालमेल गरेर निर्वाचनमा जाँदा काङ्ग्रेसले एक सय सिट पाउनु पर्ने उनको दावी छ । तालमेलमा के हुन्छ भन्ने कुरामा अहिले भन्न नसकिने भन्दै उनले थप्नुभयो “एमालेसँग प्रतिस्पर्धा गर्नका लागि एक हुनु प¥यो ।” अहिलेको परिस्थितिमा सबै दलहरु कोही न कोहीसँग सहकार्य गरेर मात्रै निर्बाचनमा आउने उनको भनाई थियो ।

संबिधान र एमाले अध्यक्ष ओलीको प्रतिगमनको बिरुद्धमा एक भएका दलहरु एक ठाउँ भएर निर्वाचनमा जाँदा राम्रो हुने कोईरालाले बताए ।
यसैबीच नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले आगामी निर्वाचनमा काङ्ग्रेसका उम्मेदवारहरुलाई कसरी बलियो बनाउने भन्ने बिषयमा सोच्ने समय आएको बताए । उनले भने “टिकट वितरणदेखि उम्मेदवारलाई विजयी गराउनेसम्मको मार्गचित्र अहिले देखिनै बनाउनु पर्छ ।” देशलाई स्थिर सरकार दिनका लागि पनि पदाधिकारीहरु जिम्मेवार भएर प्रस्तुत हुनु पर्ने उनको भनाई थियो ।

फरक प्रसंगमा बोल्दै पौडेलले कांग्रेसका भातृ संस्थाहरुले साउन महिना भित्रै पूर्णता पाउने बताए । तत्काल आम निर्वाचनको मिति तोकिएकाले सबै निर्वाचन केन्द्रित हुने भन्दै उनले निर्वाचन पछि भातृ संस्थाहरुको अधिबेशन हुने बताए । उनले भने “भातृ संस्थाहरुले पूर्णता पाउँछ । अनि निर्वाचनमा जान्छन् । भातृ संस्थाको अधिबेशन निर्वाचन पछि मात्रै होला ।”