सात खेलाडीलाई ‘हाम्रो खेलकुद सर्वकालीन सम्मान’



काठमाडौं । 

हाम्रो खेलकुद डट कमले आफ्नो सातौं वार्षिकोत्सवको अवसरमा आ आफ्नो समयमा महत्वपूर्ण योगदान गरेका सात खेलाडीलाई ‘हाम्रो खेलकुद सर्वकालीन सम्मान’ प्रदान गरेको छ ।

हाम्रो खेलकुदले बिहीबार ललितपुरको पाटनमा एक कार्यक्रमकाबीच धावक जितबहादुर केसी, धावक बैकुण्ठ मानन्धर, फुटबलका राजुकाजी शाक्य, ओलम्पियन तेक्वान्दोकी संगिना वैद्य, तेक्वान्दोकै दीपक विष्ट, क्रिकेटका पूर्व कप्तान पारस खड्का र पौडीकी गौरिका सिंह सर्वकालीन सम्मानबाट सम्मानित गरेको हो । उनीहरुले जनही २५ हजार रुपैयाँसँगै सम्मान पत्र प्राप्त गरे ।

जीतबहादुर केसीले झण्डै ५ दशक अघि एसियन एथलेटिक्स च्याम्पियनसिपमा कास्य पदक जितेका थिए । फिलिपिन्समा भएको च्याम्पियनसिपको म्याराथनमा केसीले २ घण्टा ३५ मिनेट ३८ सेकेन्डमा पूरा गर्दै तेस्रो स्थान प्राप्त गरेका थिए । बैकुण्ठ मानन्धरले सन् १९८४ मा सुरु भएको सागमा मानन्धरले लगातार तीन संस्करणमा म्याराथनमा स्वर्ण पदक जितेका थिए ।

सागमा स्वर्ण पदकमा ह्याट्रिक गर्ने उनी पहिलो खेलाडी हुन् । यस्तै फुटबलमा कप्तान र प्रशिक्षक दुवै रूपमा साफको स्वर्ण जित्ने सौभाग्य निकै कमले मात्रै पाउँछन् । राजुकाजी शाक्य तीनैमा पर्छन् । सागको पहिलो संस्करण सन् १९८४ र छैटौं १९९३ मा फुटबलतर्फ स्वर्ण जित्दा शाक्य टोलीका महत्वपूर्ण सदस्य थिए । छैटौं संस्करणमा नेपाली फुटबलले स्वर्ण भित्र्याउँदा उनी टोलीको कप्तान थिए । प्रशिक्षकका रूपमा २०१६ मा भारतमा भएको सँगको १२औं संस्करणमा २३ वर्ष मुनिको फुटबल टोलीलाई स्वर्ण दिलाएका थिए ।

विश्व खेलकुदको महाकुम्भ ओलम्पिकमा सन् १९६० देखि नेपाली खेलाडीले सहभागिता जनाउन शुरु गरेपनि संगिना वैद्यले २००४ को एथेन्स ओलम्पिकका लागि छनोट चरण पार गरेकी थिइन् । स्वदेशमा आयोजना भएको १९९९ को आठौं र २००४ नवौं सागमा स्वर्ण पदक जितेकी संगिना १३औं सागमा टोलीको प्रशिक्षक थिइन् । उनी तेक्वान्दोकी एसियन च्याम्पियन पनि हुन् । दीपक विष्टले स्वदेशमा सन् १९९९ मा आयोजना भएको आठौं सागदेखि लगातार चार संस्करणमा तेक्वान्दोतर्फ स्वर्ण जितेका थिए ।

त्यस्तै, उनले सन् २००२ र २००६ मा एसियाली खेलकुदमा कास्य जितेका थिए । छनोट चरण पार गरेर ओलम्पिकमा सहभागिता जनाउने दोस्रो खेलाडीको रूपमा पनि उनले बेजिङ ओलम्पिक २००८ खेलेका थिए । पारस खड्का नेपाली क्रिकेट इतिहासका सर्वाधिक सफल कप्तान र खेलाडी हुन् । नेपालले अहिलेसम्म खेलेको एक मात्र टी–२० विश्वकप २०१४ खेल्दा होस् वा सन् २०१८ मा ओडीआई मान्यता प्राप्त गर्दा होस् दुवैमा पारस नै टोलीको कप्तान थिए ।

यसैगरी, तीन वर्ष अघि स्वदेशमा भएको १३औं सागमा गौरिका सिंहले ४ स्वर्ण पदकसहित ९ पदक जितेकी थिइन् । सागको पौडीतर्फ व्यक्तिगत स्पर्धामा स्वर्ण जित्ने उनी पहिलो नेपाली खेलाडी बनेकी थिइन् । सन् २०१६ को रियो ओलम्पिकमा भाग लिदा सबैभन्दा कम उमेरकी खेलाडी थिइन् । त्यतिबेला उनको उमेर १३ वर्षको थियो ।

प्रतिक्रिया दिनुहोस्