मुगमकार्मारोङमा पाँच जना विद्यार्थीमा कोरोना पुष्टि

0
Shares

मुगु।

पछिल्लो समय मुलुकभर पुनः कोरोना संक्रमितहरुको संख्या दिनानुदिन बढिरहेका छन् । यसैबीच हिमाली जिल्ला मुगुमा पनि कोरोना संक्रमितहरु देखिन थालेका छन् । जिल्लमको मुगुमकार्मारोङ गाउँपालिकास्थित एक विद्यालयमा अध्ययनरत पाँच जना विद्यार्थीहरुमा कोरोना संक्रमण देखिएको हो ।

मुगमकार्मारोङ गाँउपालिकाका स्वास्थ्य शाखा संयोजक बलिराज बुढाका अनुसार श्री नेपाल राष्ट्रिय आधारभूत आावासीय बिद्यालय तामाकामा अध्यानरत पाँच जना विद्यार्थीहरुमा कोरोना देखिएको हो । टाउको दुख्ने र ज्वरो आउने समस्या देखिएपछि ८ जना विद्यार्थीहरुको कोरोना परीक्षण गरिएको थियो, जसमध्ये पाँच जनामा संक्रमण देखिएको हो ।

यसरी पाँच जना विद्यार्थीमा कोरोना संक्रमण देखिएसँगै पालिकाबासीलाई आ–आफ्नो क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह गरिएको छ । श्री नेपाल राष्ट्रिय आधारभूत आवासीय विद्यालय तामाकामा हाल ३ सय ५० जना भन्दा बढी विद्यार्थीहरु अध्यानरत छन् ।

आवासीय विद्यालयका प्रधानाध्यापक कुशल शाहीले पनि आफ्नो पाँच जना विद्यार्थीमा कोरोना देखिएको जानकारी गराए । उनले भनेका छन्, ‘कुनै–कुनै विद्यार्थीलाई कहिले काँही सामान्य टाउको दुख्ने र ज्वरो आउने समस्या देखिदै आएको थियो । आज मात्रै पनि २ जना विद्यार्थीमा सामान्य समस्या आएपछि उपचारका लागि पुलु पठाएका थियौ । उनीहरुसँगै साथी गएका अन्य ६ जनासहित ८ जानको स्वास्थ्य परीक्षण गर्दा ५ जनामा कोरोना पोजेटिभ देखियो ।’

अहिले सबै विद्यार्थीलाई आ–आफ्नो ठाउँमा सजग रहन आग्रह गरिएको उनले बताए । पाँच जना विद्यार्थीमै कोरोना पुष्टि भएपछि रोकथाम तथा न्यूनीकरणको तत्काल ब्यवस्था गर्नका लागि गाउँपालिकासँग समन्वय भइरहेको जिल्ला प्रशासन कार्यालय मुगुका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकृत खड्क बहादुर रोकायाले जानकारी दिए ।