१७ वटा अस्पतालमा निःशुल्क उपचार

0
Shares

काठमाडौं । 

नेपालमा यति बेला कोभिड–१९ को संक्रमण बढेसँगै पछिल्लो २४ घण्टामा ८ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ ।

कुल ५ हजार ९ सय ९ जनामा नमुना परीक्षण गरिएकोमा ८ सय ९५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार जारी गरेको तथ्यांकमा उल्लेख गरेको छ । सोमबार २ सय ६४ जना कोरोना संक्रमणको रिपोर्ट नेगेटिभ आएका डिस्चार्ज भएका छन् । स्वास्थ्य मन्त्रालयको सोमबारको तथ्यांकअनुसार हालसम्म ४ हजार ९ सय ३४ जना सक्रिय संक्रमित रहेका छन् ।

नेपालमा खोप छ खोप पूरा मात्रा नलगाउनेको संख्या बढेसँगै कोरोना संक्रमणबाट जटिल अवस्थामा पुग्नेको संख्या पनि बढेको स्वास्थ्य विज्ञहरूको ठम्याइ छ । पछिल्लो समय जम्मा ३३ हजार १ सय ७६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । नेपालमा २०७७ माघ १४ गते कोरोना विरुद्धको खोप शुरू भएदेखि २०७९ श्रावण १६ गतेसम्म जम्मा ४ करोड ९४ लाख २५ हजार १ सय १३ मात्रा कोरोनाविरुद्धको खोप लगाएका छन् । जसमा २ करोड १५ लाख ५६ हजार ९१ मात्रा एकपटक मात्र कोरोनाविरुद्धको खोप लगाएका छन् भने २ करोड ५ लाख ९२ हजार १ सय दुई मात्रा खोप लगाएका छन् । त्यसै गरी ७२ लाख ७६ हजार ९ सय २२ जनाले अतिरिक्त (बुस्टर) मात्रा लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा हालसम्म कोरोनाविरुद्धको जम्मा खोप ५ करोड ८८ लाख ९१ हजार ९ सय ७० मात्रा भित्रिएको छ । यो तथ्यांकले नेपालको कुल ३ करोड जनसंख्यामा १ करोड ७ लाख ७८ हजार ४५ जनाले एक मात्रा, १ करोड २ लाख ९६ हजार ५ जनाले दुई मात्रा खोप लगाएका छन् भने ७२ लाख ७६ हजार ९ सय २२ जनाले अतिरिक्त मात्रा कोरोनाविरुद्धको खोप लगाएका छन् । खोपको पहुँच भन्दा बाहिर रहेका व्यक्तिको खोजविन गरी कोरोना बिरुद्धको खोप लगाई कोरोनाको जोखिम कम गर्नेतर्फ सरकार, रजानीतिक दर र आम नेपाली सतर्क भई स्वास्थ्य मापदण्डको पालना गर्न स्वास्थ्य मन्त्रालयले आह्वान गरेको छ ।

साथै दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दै गएसँगै नेपाल सरकारले कोभिड–१९ संक्रमितको निःशुल्क उपचारका लागि १७ वटा अस्पतालहरू तोकेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सार्वजनिक गरेको सूचनामा ३१ असारको निर्णयानुसार निःशुल्क उपचारका लागि देशभर १७ वटा अस्पताल तोकिएको उल्लेख गरेको छ । तोकिएका अस्पतालहरूमा कोभिड–१९ का मध्यम तथा गम्भीर बिरामीको निःशुल्क उपचार हुने मन्त्रालयले जनाएको छ । सबैभन्दा बढी वागमती प्रदेशमा शुक्रराज ट्रपिकल अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, भरतपुर अस्पताल र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान तोकिएको छ ।

त्यस्तै, प्रदेश १ मा विराटनगरस्थित कोशी अस्पताल र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान, मधेश प्रदेशमा प्रादेशिक अस्पताल जनकपुर अस्पताल, नारायणी अस्पताल, वीरगन्ज अस्पताल तोकिएको छ । गण्डकीमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र वागलुङको धौलागिरि अस्पताल, लुम्बिनी प्रदेशमा बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल र नेपालगन्जको भेरी अस्पताल, कर्णालीमा प्रादेशिक अस्पताल सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला तोकिएका छन् ।

त्यस्तै, सुदूरपश्चिममा सेती प्रादेशिक अस्पताल, कैलाली र डडेलधुरा अस्पताल निःशुल्क उपचारका लागि व्यवस्थापन गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोभिड संक्रमितको उपचारबापत तोकिएका अस्पतालहरूलाई बिरामीको अवस्थाअनुसार अनुदान दिने व्यवस्था सरकारले गरेको जारी सूचनामा उल्लेख गरिएको छ ।