पारिवारिक बेमेलले निम्त्याएको बीभत्स घटना

काभ्रेस्थलीमा एकै परिवारका चार जना मृत फेला

0
Shares

काठमाडौं ।

पारिवारिक तनावका कारण एकै परिवारका ४ जना मृत अवस्थामा फेला परेका छन् । तारकेश्वर नगरपालिका–२ पदमचाल हाइटमा एकै परिवारका ४ जना मृत भेटिएको प्रहरीले जानकारी दिएको छ ।

पारिवारिक बेमेलका कारण उक्त घटना भएको प्रहरीले निष्कर्ष निकालेको छ । ‘घरमूली दिनेश पाण्डेले श्रीमती, छोरा, छोरीको हत्यापछि आफूले पनि आत्महत्या गरेको आशंका गरेका छौं’ – महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भरत बोहोराले जानकारी दिनुभयो ।गोरखा घर भई काभे्रस्थली बस्दै आएका पाण्डे दम्पतीबीच बेमेलका कारण उक्त घटना भएको प्रहरीले जानकारी दिएको छ । पाण्डेले श्रीमती सुनीता पाण्डे, छोरी आशिका पाण्डे र छोरा आशिष पाण्डेको हत्या गरेर आफू भने अर्को कोठामा गएर आत्महत्या गरेका थिए ।

घटनास्थल पुगेको प्रहरीले एउटा कोठामा ३ वटा शव फेला पारेको थियो भने अर्को कोठामा १ एउटा शव फेला पारेको थियो । प्रहरीले हत्या गर्न प्रयोग भएको एउटा चक्कुसमेत घटनास्थलबाट बरामद गरेको छ । प्रहरीले पाण्डे परिवारले भान्सामा प्रयोग गरेको चक्कु नै घटनास्थलमा फेला परेको एसएसपी बोहोराले जानकारी दिनुभयो । ‘घटनास्थलको अवस्था हेर्दा बाहिरी मानिसको प्रयोग भएको देखिँदैन’ –उहाँले भन्नुभयो । प्रहरीका अनुसार गोरखाको भीमसेनथापा गाउँपालिका–६ अश्राङ घर भएका दिनेश लामो समय वैदेशिक रोजगारीमा बसेर ४ वर्षअघि नेपाल फर्किएका थिए । नेपाल फर्किएपछि श्रीमतीसँग उनको सम्बन्ध राम्रो हुन सकेको थिएन ।

वैदेशिक रोजगारीबाट फर्किएपछि पदमचालमा नै पसल सञ्चालन गरेर बसेका उनीहरूबीच सम्बन्ध बिग्रँदै गएपछि श्रीमती सुनीताले पसल बिक्री गरेर बेलायत जाने निर्णय गरेकी थिइन् । श्रीमान्–श्रीमतीबीचको बेमेल पटकपटक प्रहरी चौकीसम्म पुगेको थियो । श्रीमतीको हरेक क्रियाकलापमा शंका जनाउँदै आएका पाण्डेले श्रीमतीसँग सम्बन्ध बिच्छेद गर्न खोजेका थिए । छोराछोरीको भविष्यका लागि भन्दै सुनिताले सम्बन्ध विच्छेदलाई अस्वीकार गर्दै आएकी थिइन् ।

घटनाको अनुसन्धानका लागि उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सूक्ष्म रूपमा अनुसन्धान शुरू गरेको छ । प्रहरीले घटनास्थलबाट ४ पेज लामो सुसाइट नोटसमेत बरामद गरेको छ । पाण्डेले सुसाइट नोट लेखेर आफूले पनि आत्महत्या गरेको प्रहरीले दाबी गरेको छ । स्थानीयका अनुसार आशिक काभ्रेस्थलीको युनाइटेड स्कुलमा पढ्थे भने छोरी आशिका नेपाली सेनाले सञ्चालन गरेको स्कुलमा अध्ययन गर्दै आएकी थिइन् । सोमबार बिहान आशिकालाई लिन गएको नेपाली सेनाको बसले आशिकालाई नदेखेपछि उनको खोजी शुरू गरेको थियो । शुरूमा स्कुल बसमा रहेका शिक्षिकाले बोलाउँदा आशिका नबोलेपछि नजिकै घर भएका साथीले बोलाउँदा पनि परिवारका सदस्यहरूसमेत नबोलेपछि विभिन्न आशंका गरिएको थियो ।

स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरीले ढोका खोलेर हेर्दा परिवारका सदस्यको शव वीभत्स अवस्थामा फेला पारेको थियो । स्थानीय सुमन अधिकारीका अनुसार पाण्डे दम्पतीबीच बेमेल भएका कारण सुनिताले छोराछोरीको भविष्यका लागि बेलायत जाने भन्दै बेलायतको भिसासमेत लगाएकी थिइन् । बेलायत जाने तयारीमा रहेकी पाण्डेले आफ्ना दुई छोराछोरी मात्र गुमाइनन् आफूसमेत सदाका लागि अस्ताइन् ।

स्थानीयवासीका अनुसार श्रीमान्–श्रीमतीबीच पहिलेदेखि नै झगडा हुँदै आएको थियो । विवादकै क्रममा श्रीमान्ले घर बेच्न खोजेपछि विवादले उग्ररूप लिएको थियो । घर बेच्ने कुरा नमिलेपछि श्रीमतीलाई थाहै नदिई दिनेशले घर बेच्न १० लाख बैना गरेको खुलेको छ । यस्तै, सोही घर धितो राखेर बैंकबाट १८ लाख ऋण लिएको पनि खुलेको छ ।

प्रहरीको बाक्लो उपस्थिति तथा माइती पक्षको अवरोधबीच शव पोस्मार्टमका लागि लगिएको छ । उनीहरूको शव प्रहरी तथा शिक्षण अस्पताल महाराजगन्जको फरेन्सिक टोलीले उठाएको हो । शवको शिक्षण अस्पताल महाराजगन्जमा पोस्टमार्टम गरिने प्रहरीले जनाएको छ ।