दुर्घटना न्यूनीकरणमा सक्रियता : दुर्घटना नगराउने चालकलाई टिभी पुरस्कार

0
Shares

काभ्रे ।
बागमती टिपर ब्यवसायी संघले वर्षभरी दुर्घटना नगराउने चालकहरु मध्येबाट लक्कि ड्र मार्फत एक जना चालकलाई पुरस्कृत गरेको छ ।

दुर्घटना न्युनिकरण गर्ने मुख्य उदेश्यले आयोजित समुदायमा प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत चालक तथा सह चालकहरुलाई अनुशिक्षण तथा दुर्घटना न्यूनिकरण ट्राफिक सचेतना कार्यक्रममा चालकलाई पुरस्कृत गरिएको हो ।

बागमती टिपर ब्यवसायी संघले जिल्ला प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय बनेपाको सहयोगमा उक्त कार्यक्रम आयोजना गरेको हो । टिपर संघमा ८ सय वटा टिपर दर्ता छन् ।

जस मध्ये नियमित नविकरण गर्ने चालकहरुबाट १ सय २१ जना छनौट भएका थिए । छनौट भएका मध्ये पाँचखालमा आयोजित कार्यक्रममा सहभागि १९ चालकहरुमा गरिएको लक्कि ड्रमा बा ४ च २०३८ नम्वरका सुबास दाहालले जनरल आईएमई इन्स्योरेन्सको तर्फबाट कलर टिभी प्राप्त गर्नु भएको थियो ।

प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी चक्रराज जोशी, बागमती टिपर ब्यवसायी संघका अध्यक्ष सुरेश खत्री र जनरल आईएमई इन्स्योरेन्सका योगेश बादेले लक्कि ड्र मार्फत छनौट भएका चालक सुबास दाहाललाई टिभी प्रदान गर्नु भएको थियो । प्रत्येक तीन तीन महिनामा दुर्घटना नगराउने चालकहरुलाई विभिन्न पुरस्कारबाट सम्मान गरिने अध्यक्ष सुरेश खत्रीले बताउनु भयो ।

प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले सडक सुरक्षा योजना कार्यान्वयनको क्रममा चालक तथा सह–चालकहरुलाई अनुशिक्षण कार्यक्रम आयोजना गरिएको बताउनु भयो । ‘दुर्घटनाका थुप्रै कारणहरु हुन सक्छन, त्यस मध्ये चालकको भूमिका मुख्य हुन्छ’–प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भन्नुभयो–‘सडक सुरक्षा, कानूनको पूर्ण कार्यान्वयन, कानून बमोजिम कारवाही, राम्रो कार्य गर्नेलाई पुरस्कार र ट्राफिक सचेतना महत्वपूर्ण विषय हुन् ।’

काभ्रेपलाञ्चोक जिल्लामा दैनिक २ हजार ५ सय देखि ३ हजारसम्म टिपर संचालन हुँदै आएका छन् । टिपरका कारण हुने दुर्घटना न्यूनिकरणका लागि भइरहेका प्रयासलाई अझै तिब्रता दिन सहकार्य र समन्वय गर्ने बताउँदै प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले टिपरमा सलग्न चालक र सह चालक लागु औषध तथा चोरीका घटना, जुवा तास, यौनजन्य तथा हिंसाजन्य घटना, मादक पदार्थको प्रयोग, पारिवारीक विखण्डन र सम्वन्ध विच्छेद जस्ता घटनामा जोडिन थालेकाले सचेत रहन अनुरोध गर्नु भयो । ‘यातायात क्षेत्रसँग जोडिएका चालक कर्मचारी आर्थिक समृद्धि र सम्पन्नताको आधार हुन’–प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भन्नुभयो–‘मानवीय जीवनको सुरक्षा सडक दुर्घटना न्यूनीकरण र सडकको सुरक्षासँग जोडिन्छ । कानूनको परिपालना, ब्यक्तिगत सदाचार, आचार संहिताको पूर्ण पालना, ब्यवसायीक मुल्य मान्यता महत्वपूर्ण विषय हुन् ।’

प्रहरी प्रमुख एसपी चक्रराज जोशीले टिपर चालकहरुलाई अनुशासन कायम गरी संयमता पुर्वक सवारी साधन चलाउन अनुरोध गर्नु भयो । ‘टिपर चालकहरुले स्पिड कम गर्ने, ओभरलोड नबोक्ने, ट्राफिक नियम पालना गर्ने, मादक पदार्थ तथा लागु औषध सेवन नगरी सवारी चलाउनु पर्छ’–प्रहरी प्रमुख एसपी चक्रराज जोशीले भन्नुभयो–‘पछिल्लो समय रात्रिकालीन अवस्थामा टिपर चालकहरुले नियम विपरित सवारी चलाउन थालेकाले दुर्घटना न्यूनीकरणमा अपनाउनु पर्ने सबै उपाय अपनाउने गरी कानुनको पूर्ण पालना गराईएको छ ।’

नियम उल्लंघन गर्ने चालकहरुलाई कारवाहीको दायरामा ल्याईएको बताउँदै प्रहरी प्रमुख एसपी जोशीले राष्ट्र निर्माणमा महत्वपूर्ण भूमिका खेलेका टिपर र त्यसका चालकहरुले आफू मात्रै नभई अरुलाई पनि कसरी सुरक्षित बनाउन सकिन्छ भन्ने सोच राखेर सवारी साधन चलाउनु पर्ने बताउनु भयो ।

कार्यक्रममा बागमती टिपर ब्यवसायी संघका अध्यक्ष सुरेश खत्रीले अनुशासित चालकहरुलाई सम्मान गर्न शुरु गरिएको बताउँदै चालकहरुले नियमित ३/३ महिनामा परिचयपत्र नविकरण गर्ने, विरामी हुँदा ५० हजार उपचार खर्च उपलब्ध गराउने, दुर्घटनामा निधन भएमा विमा बाहेक संघको तर्फबाट ३ लाख क्षतिपुर्ति उपलब्ध गराउने तथा कार्यक्षेत्र बाहेकको अवस्थामा दुर्घटना भएमा एक लाख रुपैया उपलब्ध गराउने जस्ता सुविधाहरु रहेको बताउँदै सुरक्षित यात्राका लागि चालकहरु अनुशासित हुनु पर्ने बताउनु भयो ।

कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रहरी निरिक्षक राजेश सिलवालले दुर्घटना न्यूनीकरणका बारेमा प्रशिक्षण दिनु भएको थियो । नेपाल पत्रकार महासंघ काभ्रेका निवर्ततमान अध्यक्ष मोतीराम तिमल्सिना, संघका बरिष्ठ उपाध्यक्ष नविन बैद्य, सचिव राजेश खत्री लगायतले दुर्घटना न्यूनीकरणका उपायहरुका बारेमा जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा संघका पूर्व अध्यक्ष शेरबहादुर कुँवर, विमा कम्पनीका प्रतिनिधिहरु, ब्यवसायीहरु, पाँचखाल प्रहरी चौकीका इन्चार्ज प्रहरी निरिक्षक सुरेश थापा लगायतको सहभागिता थियो ।