३५ प्रतिशत नकटाए स्नातक तहमा भर्ना हुन नपाइने

कक्षा १२ मा नयाँ कार्यविधि

0
Shares

काठमाडौं । 

कक्षा १२ का विद्यार्थीले लब्धांकपत्रमा ३५ प्रतिशत नकटाए स्नातक तहमा भर्ना नपाउने भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले यो वर्षबाट लेटर ग्रेडिङ पद्धति कार्यविधि–२०७८ लागु गर्ने निर्णय गरेसँगै विद्यालय तहको अन्तिम परीक्षामा ‘नट ग्रेडेड’ (अवर्गीकृत) प्राप्त गरेका विद्यार्थीले स्नातक तहमा भर्ना हुन नपाउने भएका हुन् ।

विद्यार्थीले ‘नट ग्रेडेड’ अंक नकटाएसम्म ट्रान्सक्रिप्ट पाउँदैनन् । बोर्डले अनिवार्य रूपमा ३५ प्रतिशत अर्थात् डी ग्रेड पाएकालाई मात्र उत्तीर्ण भएको मान्यता दिने भएपछि माथिल्लो तहमा अध्ययन गर्ने विद्यार्थीको संख्या ह्वात्तै घट्ने अनुमान गरिएको छ ।बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले कार्यविधिअनुसार सैद्धान्तिक परीक्षामा ३५ र प्रयोगात्मकमा ४० प्रतिशत अंक ल्याउनुपर्ने अनिवार्य व्यवस्था गरिएको जानकारी दिँदै नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘३५ प्रतिशतभन्दा कम अंक ल्याउने अनुत्तीर्ण वा सोसरह हुनेछन् । डी वा सोभन्दा कम ग्रेड ल्याउने विद्यार्थीलाई २ विषयमा पूरक परीक्षा दिन पाउने व्यवस्था गरिएको छ ।’

गत वर्षसम्म विद्यार्थीले पाएको अंकलाई ९ समूहमा विभाजन गरिएको थियो । यो वर्ष ८ समुह रहने कार्यविधिमा उल्लेख छ । कार्यविधिमा डी प्लस र ई समूह हटाइएको छ । नयाँ कार्यविधिमा डी प्लस हटाइएको छ । ए प्लसदेखि सि सम्म १० अंकको फरक गरिएको छ भने डि मा ५ अंकको फरक उल्लेख छ । गएको वर्ष ए प्लसदेखि ई सम्म १० अंक फरक थियो । यो वर्ष ४ लाख १० हजार विद्यार्थीले कक्षा १२ को परीक्षा दिएका छन् । उनीहरू परीक्षाफलको प्रतिक्षामा छन् । बोर्डले भदौको अन्तिम वा असोज पहिलो साता परीक्षाफल प्रकाशित गर्ने गरी तयारी थालेको छ । कक्षा १२ मा अनिवार्य ३ सहित ६ विषय छन् । तर, विद्यार्थीले चाहेमा थप एक विषयसमेत गरी ७ विषयमा परीक्षा दिन पाउँछन् ।

नियन्त्रक शर्माका अनुसार सबै विषयमा प्रयोगात्मक परीक्षा हुनेछ । बोर्डले फिजिक्स, केमेस्ट्री, बायोलोजी, होटल मेनेजमेन्ट र कम्प्युटर साइन्समा बाह्य निरीक्षक पठाएर प्रयोगात्मक परीक्षा लिने गरेको छ । बाँकी विषयमा विद्यालय स्वयंले आन्तरिक मूल्याङ्कन गरी नम्बर पठाउनुपर्ने व्यवस्था छ ।अब प्रयोगात्मकमा ४० र सैद्धान्तिकमा ३५ प्रतिशत वा डि ग्रेड ल्याएपछि मात्र उत्तीर्ण हुने व्यवस्था छ । पनिकाले लब्धाङ्कपत्रमा प्रयोगात्मक र सैद्धान्तिक परीक्षाको अंक जोडेर ग्रेड प्वाइन्ट एभरेज (जीपीए) उल्लेख गर्नेछ ।

नट ग्रेडेड अंकभार ल्याएका विद्यार्थीले स्वदेशमा रहेका विदेशी बोर्डसम्बद्ध शिक्षण संस्था र अन्य मुलुकमा गई कुनै पनि बोर्डमा भर्ना भएर माथिल्लो अध्ययन गर्न पाउने छैनन् । बोर्डले पहिलोपटक यो व्यवस्था कार्यान्वयन गरेको परीक्षा नियन्त्रक शर्माको भनाइ छ । यसअघि कक्षा १० को परीक्षामा नयाँ कार्यविधि लागु गर्ने अन्तिम तयारी गर्दा धेरै विद्यार्थी अनुत्तीर्ण हुने भएपछि पुरानै कार्यविधिअनुसार परीक्षाफल प्रकाशित गरेको थियो ।कार्यविधिमा ९० र सोभन्दा माथि ४ जीपीए अर्थात् सर्वोत्तम, ८० भन्दा माथि र ९० भन्दा कम ३ दशमलव ६ जीपीएलाई अत्युत्तम, ७० भन्दामाथि ८० भन्दा कम ३ दशमलव २ जीपीए अर्थात् उत्कृष्ट, ६० र सो भन्दामाथि ७० भन्दा कम प्रतिशत अंक ल्याउनेलाई उत्तम उपलब्धिस्तरको व्याख्या गरिएको छ ।

त्यस्तै, ५० र सोभन्दा माथि ६० प्रतिशतभन्दा कम २ दशमलव ४ जीपीए ल्याउनेलाई सन्तोषजनक, ४० र सोभन्दा माथि ५० भन्दा कम अर्थात् २ दशमलक शून्य जीपीए अर्थात् सि ग्रेड ल्याउनेलाई ग्राह्य, ३५ र सोभन्दा माथि ४० भन्दा कम अर्थात् १ दशमलक ६ जीपीए ल्याउनेलाई आधारभूत समूहमा वर्गीकरण गरिएको छ । कार्यविधिअनुसार ३५ भन्दा कम प्रतिशत ल्याउनेलाई नट ग्रेडेड अर्थात् अवर्गीकृत उल्लेख गरी लब्धाङ्कपत्र उपलब्ध गराइने बोर्डले जनाएको छ ।

भदौ ११ र १२ मा एसईई ग्रेडवृद्धि परीक्षा

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले (कक्षा १०) एसईईको ग्रेडवृद्धि (पूरक) परीक्षाको मिति तय गरेको छ । अन्तिम ग्रेड सी वा सीभन्दा कम प्राप्त गरेका विषयमध्ये परीक्षार्थीले आफूले चाहेको बढीमा दुई विषयसम्म र दुई विषयमै अनुपस्थित रहेका परीक्षार्र्थीहरूले ग्रेडवृद्धि पूरक परीक्षामा सहभागी हुन पाउने छन् । परीक्षा भदौ ११ र १२ हुने गरी परीक्षाको तालिका सार्वजनिक गरिएको छ ।

पूरक परीक्षामा सहभागी हुने परीक्षार्थीलाई सम्बन्धित विद्यालयमार्फत् भदौ ५ गतेसम्ममा शिक्षा, विकास तथा समन्वय इकाइमा परीक्षा आवेदन फारम पेस गर्न सूचित गरिएको छ । परीक्षार्थीले आफूले परीक्षा दिने विषयहरूमध्ये सबैभन्दा सानो अंक भएको कोड नं. पहिलो दिन र ठूलो अंक भएको कोड नं. को विषयमा दोस्रो दिनको परीक्षामा सहभागी हुन पर्नेछ । कुनै आकस्मिक बिदा पर्न गएमा पनि बोर्डको पूर्व सूचना बिना परीक्षा स्थगित नहुने सूचनामा जनाइएको छ । पनिकाले सम्बन्धित जिल्लाको सदरमुकामको विद्यालयमा परीक्षा केन्द्र हुने र एसईई परीक्षाको प्रवेशपत्र नै पूरक परीक्षाको लागि प्रवेशपत्र कायम गरिएको जनाएको छ ।