काभ्रेमा लागूऔषध कारोबार गर्ने गिरोहको समूह नै पक्राउ



भारतबाट नेपाल हुँदै काभ्रेको बनेपासम्म लागु औषध कारोवार गरिरहेको गिरोहको समुह नै प्रहरीले पक्राउ गरेको छ ।

काभ्रे । लागूऔषध प्रयोगकर्ता तथा ओसारपसारमा संलग्न समूहलाई ईलाका प्रहरी कार्यालय बनेपाले पक्राउ गरेको छ । उनीहरुलाई बनेपा र वीरगञ्जकाबाट प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी कार्यालयबाट खटेको टोलीले बनेपाबाट ३ र वीरगञ्जबाट २ जना पक्राउ गरेको छ । उनीहरुको साथबाट ९ सय ६ एम्पुल लागूऔषध बरामद गरेको प्रहरी प्रमुख एसपी चक्रराज जोशीले जानकारी दिए ।

जिल्लाको अरनीको राजमार्ग नजिकै बनेपा नगरपालिका १० जनागालमा साउन १४ गते प्रहरीले लागु औषध कारोवार भईरहेको गोप्य सूचना प्राप्त गरेको थियो ।

उक्त सूचनाका आधारमा प्रहरीले कारोबार गरिरहेकै अवस्थामा फेला पारी ९ सय ६ थान विभिन्न प्रकारको लागूऔषधसहित ३ जनालाई नियन्त्रणमा लिएको थियो । ईलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक नारायण थापाको टोलीले उनीलाई आफ्नो नियन्त्रणमा लिएको हो ।

उनीहरुसँग गरिएको प्रारम्भिक अनुसन्धानबाट वीरगञ्ज घर भएकी संगीता चौधरीले लागूऔषध ओसारपसार गरिरहेको सूचना प्राप्त ग¥यो । विरगञ्ज महानगरपालिका वडा नम्वर २४ पर्सा बस्ने २७ वर्षीय शेषनाथ शाहले लागूऔषधको व्यवस्था गरी भारतबाट विरगञ्ज ल्याई बारा कलैया उपमहानगरपालिका १२ घर भई पर्सा वीरगञ्ज बस्ने २७ वर्षीय पवनकुमार शाहलाई दिएको बयानमा खुलेको प्रहरी निरीक्षक नारायण थापाले जानकारी दिए ।

शेषनाथ शाह र पवनकुमार शाहले खरिद गर्ने मान्छे सम्पर्क गरी वीरगञ्जबाट बनेपासम्म लागूऔषध लिएर जान पवनकुमार शाहले बनेपामा पाउने गरी पठाएका थिए । लागूऔषध दिएर पठाउने शेषनाथ शाह र पवनकुमार शाहलाई प्रहरीले बनेपाबाट गएर विरगञ्जबाट साउन १४ गते बेलुका नियन्त्रणमा लिएको थियो ।

पक्राउ परेका ५ जनालाई प्रहरीले अनुसन्धानका लागि जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेको छ । बनेपाबाट पक्राउ पर्नेहरुमा बारा जिल्ला पिपरपाती गाउँपालिका ४ बस्ने ३५ वर्षीय समसोदिन मिया, बनेपा १० का २८ वर्षीय सविन हुमागाई र बारा डुमरवाना ४ बस्नै ३८ वर्षीय संगिता चौधरी रहेका छन् ।
प्रहरीले लागूऔषध ओसारपसार गर्ने गिरोहलाई एकैपटक यति ठूलो संख्यामा पक्राउ गरेको पहिलो पटक हो । प्रहरीको सुक्ष्म अनुसन्धानका आधारमा वीरगञ्जबाट समेत कारोवारी पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी प्रमुख एसपी चक्रराज जोशीले बताए ।

प्रतिक्रिया दिनुहोस्