आँखा शिविरबाट पाँचसय लाभान्वित



काभ्रे ।

पनौती नगरपालिका वडा नम्बर ५ ले वडावासीको स्वास्थ्यलाई विशेष ध्यान दिन थालेको छ । नियमित रुपमा मासिक मधुमेह, ब्लड प्रेसर, थाइराइड जस्ता रोगको परीक्षण गरिरहेको वडा नं ५ ले महिलाको पाठेघरको रोगका बारेमा पनि परीक्षण गर्न शिविर सञ्चालन गरिरहेको छ । यस वडामा आज (शुक्रवार) आयोजना गरिएको आखाँ शिविरबाट चार सय  लाभान्वित भएका छन् ।

रेयुकाई आँखा अस्पताल बनेपाको सहयोगमा आयोजना गरिएको आँखा शिविरबाट चार सय वडा वासी लाभान्वित भएको वडा अध्यक्ष विनोद खत्रीले जानकारी दिनुभयो । शिविरमा आँखाका रोगीहरूलाई दुई सय रुपैयाँमा चश्माा उपलब्ध गराइएको थियो । शल्यक्रिया गर्नुपर्ने बिमारीको निःशुल्क उपचार हुने भन्दै वडाध्यक्ष खत्रीले भन्नुभयो– शल्यक्रिया गर्ने बिरामीलाई अस्पताल सम्म लैजाने र ल्याउनको लागि वडा कार्यालयले नै यातायातको व्यवस्था गर्ने छ ।

‘वडा नम्बर ५ का जनतालाई स्वस्थ राख्ने कार्य मेरो पहिलो प्राथमिकता हुनेछ’ वडा अध्यक्ष खत्री भन्नुहुन्छ– नगरपालिकाको पनि सकेसम्म घरदैलो मै स्वास्थ्य सेवा पु¥याउने नीति छ । ‘दाहिने आँखा धमिलो धमिलो देखिन्छ त्यहि भएर जँचाउन आएकी हुँ’ स्थानीय ७७ वर्षिया वृद्धा कान्छि देउजा भन्नुहुन्छ– देब्रै आँखाको अपरेशन भैसकेकोले छ्याङ देख्छु । वडामा हुने स्वास्थ्य शिविरबाट लाभ पुगेको बताउँदै उहाँले वेला वेला सुगर प्रेसर पनि जाँच्न आउने गरेको भन्नुभएको थियो ।

धुलिखेल अस्पतालसंगको सहकार्यमा वडा नम्बर ५ ले प्रत्येक महिनाको २३ गते स्वास्थ्य बिमा गर्ने वडावासीहरूको लागि शिविर सञ्चालन गरिरहेको छ । यो शिविरमा सुगर, प्रेसर, थाइराइड जस्ता परिरक्षण समेत हुनुका साथै बिरामीको लागि आवश्यक औषधि वडा कार्यालयमै ल्याइदिने व्यवस्था गरिएको वडाध्यक्ष खत्रीको भनाई छ । यस अघि जीवित फाउण्डेशनको सहयोगमा महिलाको पाठेघर सम्बन्धी रोगको निदान र उपचारको लागि शिविर आयोजना गरिएको वडा अध्यक्षको भनाई थियो ।

शुक्रवार सम्पन्न आँखा शिवरमा उपचार गर्न आउनु भएकी ७९ वर्षीय वृद्धा चिनीमाया कार्कीले आफ्नो आखामा मोतीबिन्दु भएको भन्दै यही श्रावण १७ गते रेयुकाईमा शल्यक्रियाको लागि बोलाएको बताउनु भयो । धमिलो धमिलो देख्न थालेको दुई वर्ष हुन लागिसक्यो, आज जँचाउन आएको दुवै आखामा मोतीबिन्दु भएको रछ भनेका छन्  भन्दै ती वृद्ध महिला भन्नुहुन्छ– अस्पतालमा निःशुल्क उपचार हुने र वडाले जान र आउनको लागि यातायातको व्यवस्था गरिदिने भएकोले २३ गते समयमै अस्पताल पुग्ने मेरो योजना रहेको छ। टाढाको नदेख्ने  समस्या आएपनि आँखा जँचाउन आएका ७५ वर्षीय कटक बहादुर थापा पनि आफ्नै वडा कार्यालयमा स्वास्थ्य जाँच गराउन पाउँदा खुसी लागेको बताउनुहुन्छ ।

आफ्नो वडा भित्रै सबैलाई पायक पर्ने ठाउँमा सुविधा सम्पन्न ल्याब सहितको स्वास्थ्य चौकी सञ्चालन गर्ने तयारी रहेको बताउँदै वडा अध्यक्ष खत्रीले सुत्केरी पोषण कार्यक्रम शुरु भैसकेको बताउनु भएको छ । ज्येष्ठ नागरिक, महिला, सुत्केरी, असक्तहरूको सेवामा चौबिसै घण्टा क्रियाशील रहेको वडा अध्यक्ष खत्रीको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्