सुप्रभात भण्डारी
कानुनतः हाम्रो विद्यालय शिक्षाको संगठनात्मक स्वरुप १३ वर्षको छ। एक वर्षको पूर्व प्राथमिक शिक्षासहित ९ वर्षको आधारभूत शिक्षा तथा ४ वर्षको माध्यमिक शिक्षा गरेर १३ वर्षमा विद्यालय शिक्षाको अध्ययनको अवधि सकिनेछ।
अभिभावकहरुलाई आफ्ना छोराछोरीहरुको विद्यालय जाने शुरुका समयमा विद्यालय छनोटदेखि विद्यालय शिक्षाको कक्षा १० अर्थात् एसईईको राष्ट्रिय परीक्षाको नतिजापछि कक्षा ११ मा अध्ययन गर्न अर्थात् भविष्यमा शिक्षाका माध्यमबाट रोजगारीका लागि बाटो तय गर्न सहयोग पुग्न जाने विषय रोजाइ गर्ने समयमा विद्यार्थीलाई जस्तै आमाबाबुलाई बढी हतारो हुन्छ।
आफ्ना छोराछोरी पढेलेखेर ठूलो मान्छे असल मान्छे बनून् भन्ने हरेक आमाबाबुको चाहना हुन्छ। उनीहरुले जीवनमा महङ्कवपूर्ण सपना बोकेका हुन्छन् भने छोराछोरीले आफू हुर्कने क्रमसँगसँगै एउटा सपना बुनेका हुन्छन्। यस क्रममा हरेक आमाबाबुले सन्तानको शिक्षामा केही न केही ध्यान पु-याएकै हुन्छन्। हुन त यस्ता कुरा प्रत्येक आमाबाबुको कर्तव्य नै हुन्छ।
अहिलेको समय अर्थात् यो महिना कक्षा ११ अध्ययन गर्नका लागि हाम्रो शिक्षा पद्धतिअनुरुपको विगत लामो इतिहास बोकेको कक्षा १० को अन्तमा लिइने विगतमा यसलाई एसएलसीका नामले चिनिने माध्यमिक शिक्षा परीक्षा २०७८ सालको एसईई परीक्षामा संलग्न पाँच लाखभन्दा बढी विद्यार्थीहरु र तिनका आमाबाबुहरुको सरोकारको बारेमा छ। परीक्षाको नतिजा आएसँगै विद्यार्थीहरुले आफ्नो विषय छनोट गर्दै कक्षा ११ मा भर्ना हुने क्रममा छन्, हुनेछन्।
यतिबेलाको विद्यार्थीहरुको विषय छनोटले भविष्यको बाटो निर्धारण गर्दछ। यस समयमा आमाबाबुको एउटा चाहना र विद्यार्थीको अर्को रोजाइका कारण अभिभावक र सन्तानका बिचमा विषय रोजाइको फरक हुन पनि सक्ने हुँदा यसले घर-घरमा थोरै असमझदारी तथा अभिभावक र विद्यार्थीबीच अन्तद्र्वन्द्व उत्पन्न हुन सक्ने हुँदा यसतर्फ यस समयमा सजगता अपनाउनु उपयुक्त हुनेछ।
मूलतः शिक्षा भनेको राज्यको दायित्व हो र यो नागरिकको हक अधिकार पनि हो। तर, शिक्षाको खर्च राज्यले सीधै वा अभिभावकले आफैंले तिर्ने भन्ने विषय धेरै बहस गर्न सकिएला ? शिक्षा भन्ने बित्तिकै यो खर्च अर्थात् लगानी पनि हो तैपनि संसारको मान्य सिद्धान्तअनुरुप विद्यालयस्तरको शिक्षा प्रायः राज्यको दायित्वको रुपमा लिइने भएकोले नेपालको संविधान २०७२ ले पनि शिक्षालाई मौलिक हकको रुपमा स्थापित गर्दै आधारभूत तह अर्थात् कक्षा ८ सम्म अनिवार्य र निःशुल्क तथा माध्यमिक तह कक्षा १२ सम्म निःशुल्क व्यवस्था गरे तापनि व्यवहारतः पूर्णरुपमा कार्यान्वयन भएको अवस्था हामी कहाँ विद्यमान छैन।
जसले गर्दा निजी क्षेत्रमा सञ्चालित विद्यालयहरुले शुल्क आफूखुसी लिने त एकातिर छँदै छ अर्कोतर्फ सरकारी यानेकि सामुदायिक विद्यालयहरुले समेत विद्यार्थीहरुवाट शुल्क उठाउने कारण अभिभावकहरु मर्कामा परेका छन्। सरकारी निकायहरुबाट विद्यालयहरुले लिने शुल्कका बारेमा स्पष्ट अवधारण वा अनुगमन नियन्त्रण नगर्नाले पनि यसतर्फ शुल्क उठाउने परिपाटी मनोमानी तवरले चलेको देखिन्छ, यस्तो अवस्थाबाट अभिभावकहरुलाई यो समस्याको वर्णन गरेर सकिँदैन।
पृष्ठभूमिमा जे जस्तो अवस्था भए पनि विद्यार्थीले कक्षा ११ मा अध्ययन गर्न आवश्यक प्रक्रिया अवलम्बन गर्नु नै पर्ने हुन्छ। हुन त, कक्षा ११ र १२ अध्ययन गर्दा भविष्यमा जाने मार्गका सहायक मार्ग हुन्छ नै तर पनि कक्षा १२ को समाप्तिपछि भने कुन विषयतर्फ जाने अर्थात् निश्चितरुपमा डाक्टर, इन्जिनियर, वकिल, शिक्षक, प्राध्यापक, वन, कृषि विषयमा स्नातक तहतर्फ जाने मार्ग तय हुनेछ। तथापि, कक्षा ११ नै भविष्यको निमित्त रोजिने मार्गको सहायक मार्ग भएकाले अभिभावक तथा सन्तान अर्थात् विद्यार्थीहरुले विषय रोज्दा विशेषरुपमा बुद्धिमतापूर्ण तवरले निर्णय लिनुपर्दछ।
हुन त, अधिकांश आमाबाबुले आफ्नैै इच्छाअनुसार विषय रोजेर पढिदिऊन् भन्ने र डाक्टर इन्जिनियर बनून् भन्ने हुन्छ। आमाबाबुले रोजेकै विषयमा छोराछोरीहरुले पढिदिऊन् भनेर सोच्नुसम्म त ठीकै हुनेछ, तर उनीहरुलाई बल गरेर उनीहरुको रुचिविपरीतका विषय पढन् भन्नु राम्रो मान्न सकिँदैन।
यस विषयमा उनीहरुले विषयगतरुपमा हासिल गरेको दक्षता र रुचिलाई ध्यान दिएर आफ्ना सन्तानलाई परामर्श दिनु उचित हुन्छ। विषय छनोटको जिम्मा विद्यार्थी आफैंलाई छोडिदिनु उचित हुन्छ। किनभने, कक्षा १० पढने उमेर समूहका आजका विद्यार्थीहरु आफ्नो भविष्यका बारेमा सोच्न अब्बल भइसकेका हुन्छन्।
आफ्नो बारेमा निर्णय गर्न सक्छन् बरु उनीहरुलाई परामर्शको आवश्यकता भने पर्दछ । उनीहरुलाई आवश्यक परामर्श दिएर उनीहरुमाथि अभिभावकहरुले सामान्य निगरानी भने राख्नुपर्छ ताकि उक्त उमेर समूहका विद्यार्थी बिग्रन र बरालिन नपाऊन् भनेर।साथसाथै, विद्यार्थी तथा अभिभावकहरुले विषय र विद्यालय छनोट गर्दा मूलतः आफ्नो घरको आर्थिक पृष्ठभूमिलाई समेत भुल्न भने हुँदैन।
यदि, विद्यार्थीहरु कक्षा ११ अर्कै विद्यालय अध्ययन गर्न चाहन्छन् भने उक्त विद्यालयको शुल्क र आफ्नो घरको आर्थिक अवस्थाको बारेमा समेत राम्रो हेक्का राख्नुपर्दछ। साथै, विद्यार्थीले आफ्नो रुचि तथा उपलब्ध ग्रेडका आधारमा विषय छान्नुपर्छ न कि साथीहरुको लहलहैमा लागेर विषय छान्नु हुँदैन, पछि आफ्नो रुचि र क्षमताभन्दा बाहिरको विषय छनोट गर्दा भविष्यमा पछुतो मान्न नपरोस्।
विषय छनोटको रोजाइ विद्यार्थी स्वयम्लाई दिएर आमाबाबुले सल्लाह मात्रै दिन उपयुक्त हुन्छ साथै, यस्ता यावत विषयमा आमाबाबु र छोराछोरीको बीचमा हार्दिकतापूर्वक छलफल गरेर उत्पन्न हुन सक्ने अन्तद्र्वन्द्वलाई निरुपण गर्नु बुद्धिमानी हुनेछ र यस्ता कुराले विद्यार्थीको शैक्षिक भविष्यलाई समेत सफल बनाउन सहयोग मिल्नेछ।
(लेखक भण्डारी नेपाल अभिभावक महासंघका अध्यक्ष हुनुहुन्छ)
प्रतिक्रिया