मुकुन्दराज शर्मा
प्राचार्य, लिट्टल एन्जल्स स्कुल
विनम्रतापूर्वक मलाई भन्न मन लागेको छ– भर्खरै प्रकाशित–२०७८ सालको एसईई परीक्षाको नतिजा नियाल्नुपूर्व राष्ट्रिय परीक्षा बोर्डले आफ्नो निर्णय परिवर्तन गरेर विगत वर्षकै विधि जुन अवलम्ब ग-यो, त्यो समस्त विद्यार्थीको हितका दृष्टिले हेर्ने हो भने सह्राहनीय कार्य हो। यो तर्क-वितर्क, सहमति-असहमति भन्दा पनि गत दुई वर्ष विद्यार्थीको सिकाइ प्रक्रिया जुन दुर्दशाबाट गुज्रियो त्यसलाई राम्ररी नियालेर आत्मसात् गर्ने हो भने यस वर्षको एसईई समूहका सबैभन्दा अभागी ठहरिन्छ।
दुई वर्षको अवधिमा चार-पाँच महिनामात्रै विद्यालयमा भौतिक उपस्थिति भई पढेका यी विद्यार्थी जसले आठ कक्षाको भन्दा बढी ज्ञान राम्ररी पाएकै छैनन्। जसलाई विद्यालय जाउन्जेल पनि कोरोनाकै त्रास भइरहन्थ्यो। यस्तो परिस्थितिमा थोरबहुत पठन वस्तु पढेका यिनले कति ज्ञान हासिल गरे होलान् ? पढाइ त आफैंमा एउटा निरन्तर प्रक्रिया हो, अनि त्यहाँ सिकाइ हुन्छ। तर, यिनीहरुको सिकाइ खण्डित भइर-यो। खण्ड-खण्डमा पढ्दा कुनै-कुनै विषय त जसोतसो भए होलान्, गणितको पठाइ त त्यसरी हुँदैन। विज्ञान पनि लगभग उस्तै हो।
दोस्रो वैकल्पिक विधिबाट त पढेकै हुन् नि ? भन्ने कुरा आउँछ। वैकल्पिक विधिको पहच र प्रभावकारिताका बारेमा ब्यापक चर्चा भएका छन्। हाम्रो आर्थिक, भौगोलिक, सामाजिक अवस्था सबैलाई जगजायर नै छ। अधिकांशमा पहुँच नै भएन र पहुँच हुनेमा धेरैले त्यसको दुरुपयोग गरे र त्यो प्रभावकारी भएन। प्रविधि पढाइको भन्दा बढी मनोरञ्जनको साथी बन्यो।
इमानदारीपूर्वक त्यसको सदुपयोग गर्नेहरुको नतिजा राम्रै आएको छ। तेस्रो महत्वपूर्ण कुरा विद्यार्थीको फोस्सा मनोवृत्ति। केही वर्षसम्म रहिरहने कोरोनाको प्रभावले अघिल्ला वर्षहरुमा झैं हामीले पनि परीक्षा नदिई फोस्सामा अङ पाइहाल्छौं नि भनेर कोरोना आश्रित भई अनलाइन कक्षामा पढ्न ध्यान नदिने विद्यार्थीको मनोविज्ञान पनि उत्तिकै जिम्मेवार छ।
बेला घर्किएपछि अन्तिमा आएर एक-डेढ महिना उफ्री-पाफ्री गरेर मात्रै के गर्नु ? यी यावत् कारणहरुले यसपल्ट विद्यार्थीको हविगत झरेर तलै पुग्यो। पहिलेदेखि नै आइरहेका अन्य शैक्षिक, आर्थिक, प्रशासनिक प्रसङहरुलाई मैले यहाँ जोडेर बोझिलो बनाउन चाहिँन। प्रश्नपत्रको कठिनाइ स्तर र त्यसको समयसापेक्षता वा भनौं सान्दर्भिकता, उत्तरपुस्तिका परीक्षणको विश्वसनीयता जस्ता विषयहरुले पनि ठूलो भूमिका खेलेको हुन्छन्। यहाँनेर त्यो पक्षलाई पनि बिर्सनु हुँदैन।
अतः यदि राष्टिय परीक्षा बोर्डले आफ्नो निर्णय पुनर्विचार नगरेको भए सायद नतिजा योभन्दा पनि टिठलाग्दो हुन सक्थ्यो, किन कि प्रयोगात्मकको अंक जोड्ने बित्तिकै नतिजामा धेरै फेरबदल आएको हुनुपर्छ। त्यति अनुमान गर्ने सुविधा छ । मैले पनि लगभग पूरै जीवन शिक्षण कर्ममै बिताएर सेवाको उत्तरार्धमा पुगेको हुँदा हरेक कुरालाई प्रायोगिक भएर, समय र परिस्थितिको विवशता र सापेक्षतालाई केलाएर हेर्न जरुरी ठान्छु। मैले मेरो कर्मभरि पाठ्यक्रम र मूल्याङनमा धेरै परिवर्तन र प्रयोग भएको देखें।
आफ्ना पेसा नै त्यही भएकाले ती परिवर्तन र प्रयोगको वेगहरुसँग नबग्ने कुरै भएन। तर, उपभोक्ताको बजारले कहिल्यै सन्तुष्टिको सास फेरेको पाइनँ। यी परिवर्तन भनेका मात्र रुपमा फेरबदल हुन। सारमा परिवर्तन गर्न कक्षा कोठामा पस्नुपर्छ। त्यहाँ सिकाइ क्रियाकलापको निरस नमुना देख्न पाइन्छ। थाकेको अनुहार लिएर बसेका विद्यार्थीका निरुत्साहित आँखाहरु देख्न पाइन्छ। हाम्रो समस्या कक्षाकोठाभित्र छ, विद्यार्थीको घट्दो रहर र बिग्रँदो मनोवृत्तिमा छ, पढाइप्रतिको वितृष्णामा छ, उही पुरानो शिल्प र शैलीको शिक्षणमा छ। विद्वान्हरु अंग्रेजले ३२ उत्तीर्णाङको क्लर्क बनाउन शिक्षा भिडाइदिने भन्नुहुन्छ। यहाँ विद्यार्थीलाई त्यही ३२ अंक पनि सगरमाथाझैँ अग्लो भइसक्यो। पहिले-पहिले प्रथम श्रेणी अनि फेरि विशिष्ट श्रेणी त्यसपछि अहिले त ए प्लस र जीपीए चार। प्रतिस्पर्धाको मनोविज्ञानले विद्यार्थी थिचिएकै छन्। तरिका फेर्दैमा यो मनोविज्ञान फेर्न कठिन रहेछ। एक दिन उही विषयमा लामो गन्थन गर्नु छ।
प्रतिक्रिया