![](https://newsofnepal.com/wp-content/uploads/2022/07/hypertension-pregnancy.jpg)
![](https://sadhana.newsofnepal.com/wp-content/uploads/2022/04/Dr-Suman-Raj.jpg)
सिन्धुलीकी रमाले दोस्रोपटक बच्चा पाएको भोलिपल्ट सास फेर्न गाह्रो भएको गुनासो गरेपछि छातीको एक्सरे र मुटुको ईसीजी गराउने क्रममा मुटुको समस्या रहेको देखियो । उनको मुटुको समस्या जन्मजात तवरमा हुने खालको नभई बाथरोगको जटिलताले हुुने खालको थियो ।
बढ्दो उमेरसँगै बाथरोगको जटिलता हुने खालको मुटुको समस्या क्रमशः बल्झिँदै जान सक्ने खतरा हुन्छ । गर्भावस्थामा नै नियमित गर्भ जाँचमा पनि मुटुको समस्या पत्ता लाग्छ तर त्यस्तो स्वास्थ्य संस्था सुविधा सम्पन्न र दक्ष स्वास्थ्यकर्मी भएको हुनुपर्छ ।
त्यसमाथि रमाले एकाधपटक मात्रै गाउँमै गर्भवती जाँच गराएकी थिइन् । डेलिभरीको बेला ठूलो अस्पतालमा आएका कारण धन्न ज्यान जोगियो । कतिपय मुटुका समस्याका लक्षण र गर्भावस्थामा देखा पर्ने लक्षण चिन्हहरु झुक्किने खालका हुन्छन् ।
अलि चनाखो भई विश्लेषण गरिएन भने गर्भावस्थामा मुटुको समस्या सजिलै मिस हुन्छ । सास फेर्न गाह्रो हुने, आलस्य लाग्ने, बेहोस हुन सक्ने, नाडीको गति छिटो हुने, गोडा सुन्निने तथा रगतको बढ्ता मात्राका कारण मुटुमा थप आवाज सुनिने आदि गर्भावस्थामा मुटुको समस्यासँग झुक्किने खालका लक्षण चिन्हहरु हुन् ।
तर नाडीको गति अनियमित हुने, छातीमा पानी जमेको लक्षण देखिने, घाँटीको नसा फुल्ने, सास फेर्न गाह्रो हुने कार्य एक्कासी उत्पन्न हुने, छाती दुख्ने, खकारमा रगत देखा पर्ने तथा मुटुमा फरक खाले र निरन्तर घ्यारघ्यार सुनिनेचाहिँ गर्भावस्थामा मुटुको समस्याका पक्का लक्षण चिन्हहरु हुन् ।
गर्भावस्थामा जटिलता आइलाग्ने मेडिकल समस्याहरुमध्ये मुटुको समस्या पनि एक हो । नेपालमै पनि अस्पतालमा सुत्केरी हुने महिलाहरुमध्ये करिब एक प्रतिशतमा मुटुरोगको समस्या पाइएको छ । घरमै सुत्केरी हुने एवं प्राइभेटमा डेलिभरी हुनेहरुमा यस्तो समस्याको प्रस्ट तथ्यांक छैन । बाथज्वरोका कारक कीटाणुविरुद्ध गुणस्तरीय प्रतिजैविक (एन्टिबायोटिक) औषधिहरुको व्यापक प्रयोगले यस्तो खाले बिरामीको संख्याको कमी आए पनि नेपालमा अभै पनि जन्मजातरुपमा मुटुमा खराबी भएका भन्दा बाल्यावस्थामा बाथज्वरो बिग्रिएर मुटुको भल्भमा असर पुगेका मुटुरोगी गर्भवती महिलाहरुको संख्या बढी छ ।
न्युयोर्क हेल्थ एसोसिएसनले निर्दिष्ट गरेअनुसार सामान्य काम गर्दा पनि कुनै समस्या नदेखिनेदेखि आराम गरिरहँदा पनि सास बढ्ने, अप्ठ्यारो महसुस हुने, थकाइ लाग्ने लक्षणका आधारमा मुटुको समस्यालाई चार प्रकारमा वर्गीकरण गरिएको छ । उक्त वर्गीकरणअनुसार गाम्भीर्यताको आधारमा पहिलो प्रकारका मुटुको समस्या भएका गर्भवतीलाई ३६ हप्तामा, दोस्रोे प्रकारका मुटुको समस्या भएकालाई २८ हप्तामा र तेस्रो तथा चौथो प्रकार अर्थात् गम्भीर प्रकारको मुटुको समस्या भएकालाई पहिलोपटक जँचाउन आएदेखि नै अस्पतालमा भर्ना गरी आवश्यक व्यवस्थापन गर्नुपर्दछ ।
किनकि गर्भावस्थामा रक्तसञ्चार प्रणालीमा व्यापक परिवर्तन आउँछ । त्यसमा पनि मुटुको बायाँ भेन्ट्रिकलबाट शरीरतर्पm फ्याँक्नुपर्ने रगतको मात्रा बढ्छ । सामान्य मुटुसँग मात्र यस्तो बढ्ता भार बहन गर्ने क्षमता हुन्छ भने रोगी मुटु फेल खाने बढ्ता सम्भावना हुन्छ ।
अतः जति बढी गाम्भीर्यता, त्यति नै बढी जटिलता निम्तिने खतरा हुन्छ ।मुटुको समस्या भएका गर्भवती महिलामा रक्तअल्पता, उच्च रक्तचाप, मोटोपन विकसित भयो भने तथा मुटु, श्वासप्रश्वास, मूत्र प्रणालीको लगायत अन्य कुनै संक्रमण भयो भने मुटुले फेल खान सक्छ । यसको अलावा गर्भवती महिलाको अधिक उमेर छ भने, मुटुको भित्ता बाक्लो भयो भने, पहिले–पहिले पनि मुटुले फेल खाएको छ भने, जुम्ल्याहा बच्चा छ भने तथा नियमितरुपमा गर्भवती जाँच गराएन भने पनि मुटुरोगी गर्भवती महिलामा मुटु फेल खाने अवस्था आउँछ ।
त्यसो भएर बिरामीको रक्तचाप, नाडीको चाल, श्वासप्रश्वास दर, शारीरिक तौल, पिसाबको मात्रा तथा शारीरिक तापक्रमका साथै पटक–पटक पिसाब, रगत जाँच, आवश्यकता अनुसार ईसीजी, इको र गर्भे शिशुको स्वास्थ्यस्थितिका लागि अल्ट्रासाउन्ड परिस्थितिवश दोहो-याउनुपर्ने हुन्छ । अलिकति हिँड्नेबित्तिकै सास बढ्ने, चाँडै थकाइ लाग्नेजस्ता लक्षण चिन्ह भएका (न्युयोर्क हेल्थ एसोसिएसनको वर्गीकरणअनुसार तेस्रो प्रकारको मुटुको समस्या भएका) तथा मुटुका विभिन्न भल्भहरुमा असर पुगिसकेका महिलालाई दोस्रो त्रैमासिकदेखि सुत्केरीसम्म नै अस्पतालमै राखेर विभिन्न विशेषज्ञहरुबीचको सामञ्जस्यता चाहिन्छ ।
यसका साथै खकारमा रगत देखा परेमा, लामो समयसम्म मुटु भट्याक–भट्याक हानेमा, छाती दुख्नुका साथै एक्कासी सास बढेमा, बेहोस भएमा तथा मुटुरोगको जटिलता बढेमा पनि मुटुरोगी गर्भवती महिलालाई अस्पतालमा भर्ना गर्नुपर्ने हुन्छ । मुटुरोगी गर्भवती महिलामा महिना नपुगी व्यथा लाग्ने समस्या हुन सक्छ । व्यथा लाग्न थालेको छनक मिल्नासाथ विशेषज्ञहरुको निगरानीमा सुत्केरी तथा सुत्केरीपश्चात्को व्यवस्थापन गर्नुपर्दछ । गर्भावस्थामा मुटुको समस्याका कारण गर्भवती महिलालाई प्रत्यक्षतः असर पुगे पनि गर्भेशिशुलाई विभिन्न खालका असर देखा पर्न सक्छ ।
मुटुरोगका कारण महिना नपुगी सुत्केरी व्यथा लाग्ने, अपरिपक्व तथा कम तौलका बच्चा जन्मिने, गर्भवती महिलाको तथा गर्भको बच्चाको मृत्यु हुने (प्रायः मुटु फेल खानाले आमाको मृत्यु हुने भए पनि मुटुरोगका कारण फोक्सोमा पानी जम्ने, रक्तनली थुनिने, मुटुको भित्री तह पाक्ने कारणले पनि गर्भवती एवं सुत्केरी महिलाको मृत्यु हुन सक्छ ।), गर्भ तुहिने तथा नवजात शिशुमा पनि त्यस्तै मुटुको समस्या हुने (करिब १० प्रतिशतमा) आदि मुटुरोगका कारण गर्भवती महिला तथा गर्भेशिशुलाई पर्न सक्ने असरहरु हुन् ।