ललितपुरका ऐतिहासिक जात्राहरुमा कोवहाल टोल



ललितपुर नेपालका विभिन्न नगरहरूमध्ये धार्मिक तथा सांस्कृतिक नगरले मात्र परिचित नभएर कला–कृतिबाट सुसज्जित सुन्दर र व्यवस्थित नगर पनि हो । यस नगरमा अवस्थित मठ, मन्दिर, देवालय, घर, चोक इत्यादिलाई जिउँदो संग्रहालयका रुपमा लिन सकिन्छ । यहाँ वर्षभरि नै कुनै न कुनै जात्रा वा पर्व मनाउने चलन अझै पनि छ । यस नगरमा संसारको सबैभन्दा लामो समयावधि सञ्चालन हुने मच्छिन्द्रनाथको रथ जात्रा छ भने तीन–चार घण्टामात्र परिक्रमा गरेर सम्पन्न हुने गणेश पूजा, भीमसेन जात्राजस्ता पनि छन् ।

यसको साथै यहाँ हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूबीच कुनै भेदभाव नराखीकन एक–आपसमा आदर–सत्कार गर्दछन् । विभिन्न जात्राहरु मनाउने सिलसिलामा यस समयावधि (श्रावण–भाद्र महिना) मा मानिने जात्राहरूमा कुम्भेश्वरमा जनै पूर्णिमाको मेला, गाईजात्रा, न्येकु जात्रा (मत याः), नृसिंह जात्रा, गणेश पूजा, कृष्ण पूजा, दश महाविद्या पूजा तथा भीमसेन पूजा छन् । यसका साथै अधिक बौद्ध धर्मावलम्बीहरु सम्मिलित हुने वसुन्धरा पूजा, वा पूजा तथा बुद्ध जयन्ती पनि छन् ।

यी त्यसताका ललितपुर नगरक्षेत्रमा जात्राहरूले नगरलाई नै जीवन्त दिएको वा रंगमय भएको भान हुन्छ । यसको साथै दशैंताका नकवहिलबाट शुरु गरी मंगलबजारसम्म नाच्दै जाने अष्टमात्रिका नाच (गं प्याखं), पाँच योगहरुको संयोगको दिन मनाइने दीपंखा यात्रा, दशैंमा निस्कने पाया, कार्तिकमा मंगलबजारमा चलाउने कार्तिक नाच र केही वर्ष बिराएर मनाइने सम्यक महादानजस्ता प्रथा आफैँमा ललितपुर नगरको एक महान् चिनारीको रुपमा लिन सकिन्छ ।

यी जात्राहरूमध्ये नेकु जात्रा तथा मत याः (जात्रा) हरेक वर्ष मनाइने जात्रा हो । न्येकु जात्रा राजा वालार्चन देवको पालामा अन्दाजी १४०० अगाडिदेखि ललितपुर नगरका सबै जातजातिले मनाउँदै आइरहेका छन् । खास अर्थमा मतयाः भन्नाले आफ्ना दिवंगत सदस्यको आत्माको शान्ति एवम् स्वर्ग प्राप्तिको कामना गर्दै ललितपुर नगर क्षेत्रको चैत्य, विहार, स्तूप र वाहाको साथै ललितपुरस्थित चारवटा स्तूपसमेत परिक्रमा गरेर मनाई आइरहेको छ ।

मतयाः जात्रालाई दीप जात्रा पनि भनिन्छ । नृसिंह जात्रा, भीमसेन जात्रा, गाई जात्राको साथै गणेश पूजा ललितपुर नगरको मूल बाटोलाई परिक्रमा मार्ग यात्रा गरिन्छ । यी दुवै जात्राहरु सँगसँगै जस्तो चलाउने हुँदा नेकु जात्रा तथा मत याःलाई एकै जात्राजस्तो व्यवहार मात्र गरिने होइन कि सोही टोल वा इकाइले जिम्मा लिएको हुन्छ । यस जात्रालाई दशौं शताब्दीतिर पुनरुत्थान गरेको भन्ने कथन छ । यस जात्रामा धिमे, नाय् खिंचा, काशी बाजा, खैजनी, कोचाखिं, मगः खिं, नगरा, दमोखिं, मृदंग, ढोलक, दः, घाँ–घोंचा, दरमा, जो नगरा र कान्तादव गरी १५ थरीका बाजा बजाई परिक्रमा गरिन्छ ।

पुनश्चः यस जात्रा ललितपुर नगरक्षेत्रका दशवटा टोल अर्थात् दश क्षेत्रका बहुजातीय प्रजाहरुले कुनै प्रकारको भेदभाव नराखी स्वदेशको राम्रो कामना गरेर हरेक वर्ष पालैपालो मनाउने जात्रा हो । ती १० क्षेत्रहरुमा नकवहिल, मंगलबजार, चक्रवहिल, इखाछें, वुवहाल, हौगल, ओकुवहाल, इखालखु, कोवहाल र सौगल पर्दछन् ।यस जात्राको अविस्मरणीय कुरा के छ भने, ललितपुर नगरक्षेत्रमा मनाइने मच्छिन्द्रनाथको जात्रापछि समयावधि लाग्ने जात्रा हो यो । विषेश गरी मत याः तथा नेकु जात्रा (श्रृंगभेरी जात्रा) को तयारीको लागि पनि कम्तीमा आठ महिनाको अथक परिश्रम लाग्छ ।

साथै श्रावण कृष्ण पक्ष औंसीका दिन (यस वर्ष अर्थात् २०७९ श्रावण १२ गते) दिउँसो नौबाजा प्रदर्शन गरी यही दिनदेखि ४–५ दिन लगाएर रात्रि समयमा बाजागाजासहित बोग्गी जाने अर्थात् मतयाः परिक्रमाको बाटो हेर्न जाने व्यवस्था छ भने भाद्र कृष्ण पक्षका दिन (२०७९ श्रावण २८ गते) दिनभर लगाएर मत याः र न्येकु जात्रा (श्रृंगभेरी जात्रा) जाने चलन छ । त्यसको भोलिपल्ट बुंगमतीमा मत याः, पर्सिपल्ट स्वयम्भुमा मत याः र चौथो दिन गणेशस्थानहरुमा परिक्रमा गरेर मतयाः सोही साँझ एक कार्यक्रमका बीच पालो अर्को क्षेत्र अर्थात् कोवहाल क्षेत्रबाट सौगल क्षेत्रलाई हस्तान्तरण गर्ने परिपाटी छ । यी जात्राहरूमध्ये भगवान् श्रीकृष्ण पूजाको परिक्रमा गरी व्यवस्थापन गर्ने वि.सं. १९८८ देखि मात्रै स्व. श्री तुल्सीमेहर श्रेष्ठको पहलमा प्रारम्भ भएको हो ।

निज स्व. श्रेष्ठ कोवहाल टोलकै बासिन्दा हुनुहुन्थ्यो । उहाँको मनमा यस जात्रा मनाउने कहाँबाट प्रकट भयो भन्ने कुनै प्रामाणिक तथ्य नभए तापनि नगरवासीहरुको भगवान् श्रीकृष्णप्रतिको आस्था तथा उहाँ भारतका स्व. श्री मोहनदास करम चन्द गान्धीका निकटतम सहयोगी हुनका कारण पनि हुनसक्छ ।

यस जात्रा प्रारम्भमा जन्माष्टमीको राति १२ बजे अथवा भगवान् श्रीकृष्णको जन्म समयमा प्रारम्भ गरी ललितपुर नगरक्षेत्रको श्रीकृष्णको देवालयमा पूजा–आराधनासहित नगर परिक्रमा गर्ने भएकोमा रात्रि समयमा परिक्रमा गर्न सरल नभएको कारण नगरवासीहरूको सल्लाहमा जन्माष्टमीको भोलिपल्ट परिक्रमा गर्ने व्यवस्था गरिएको थियो । यस परिक्रमामा पनि विभिन्न बाजागाजासहित ललितपुर नगरक्षेत्रको कृष्ण मन्दिरहरुको परिक्रमा गरिन्छ ।

मल्ल राजा श्री सिद्धिनरसिंह मल्ल तत्कालीन अवस्थामा मात्र नभई हालसम्म पनि उहाँको शासन कालमा यस नगरको व्यवस्थापन र प्रगतिको कारण ललितपुरवासीहरूको हृदयमा छाएको प्रभाव अटल छ । तत्कालीन र पछि पनि ललितपुरको विभिन्न स्थानमा श्रीकृष्ण मन्दिरहरू निर्माण भएका थिए । यस्तै एक मन्दिर ललितपुरको कोवहाल टोलमा रुक्मिणी सत्यभामासहितको मूर्ति भएको भगवान् श्रीकृष्ण मन्दिर छ, जुन ने.सं. ८०० (वि.सं. १७३७) मा स्वयम् सिद्धिनृसिंह मल्लकी नातिनी अर्थात् श्रीनिवास मल्लकी छोरी श्री कीर्ति मंगलादेवी ठकुरानीबाट निर्माण भएको थियो ।

स्व. तुल्सीमेहर श्रेष्ठ आफ्नो निवास कोवहाल टोलमा श्रीकृष्ण मन्दिर पनि भएको र ललितपुरका जनमानसको मनमा छाएको भगवान् श्रीकृष्णप्रतिको भक्तिभावको कारण पनि यस जात्रा शुभारम्भ गर्न थप प्रेरणाको स्रोत बनेको हुनसक्छ ।पछि आएर यस श्रीकृष्ण पूजा परिक्रमा अझै व्यवस्थित गरिएको छ । कोवहाल, मंगलबजार, सुन्धारा, चक्रवहिल, पूर्णचण्डी, पुल्चोक, पिम्वहाल र धलायचा गरी आठवटा प्रमुख टोलहरुमा विभाजित गरेर पालैपालो सञ्चालन हुँदै आएको छ । परिक्रमाका अवसरमा जम्मा २१७ स्थानको लागि भाग व्यवस्था गर्नुपर्ने हुन्छ ।

यस वर्ष अर्थात् २०७९ सालमा मतयाः र श्रीकृष्ण पूजाको जिम्मा कोवहाल टोल अर्थात् क्षेत्र नं. १ मा परेको छ । कोवहाल टोल आफैँमा पनि पवित्र तीर्थस्थल शंखमूलको मार्ग पर्छ भने बगलामुखी, धुमावती तथा मातंगीजस्ता दश महाविद्याका पवित्र स्थान समीपमा नै छ । यस अतिरिक्त सारा उपत्यकावासीले जनै पूर्णिमाका दिन पुग्ने तीर्थस्थल कुम्भेश्वर आसपासमा हुनुका अतिरिक्त मतयाः, श्री कष्णपूजाका साथै नृसिंह जात्रा, भीमसेन जात्रा, दश महाविद्या पूजा, बुद्ध जयन्तीको परिक्रमा मार्ग कोवहाल टोलमा पर्दछ । साथै बौद्ध अनुयायीहरुले अधिक रुपमा मानिने हिरण्य महाविहार, यम्पि महाविहार, अशोक स्तूप, धुम्वहाल तथा इतुम्वहाल पनि समीपमै छन् ।

सञ्चालन अवधि:

यी जात्राहरुअन्तर्गत मूल कार्यक्रमहरु यस वर्ष २०७९ श्रावण १२ गते प्रारम्भदेखि भाद्र ५ गतेसम्म हुनेछ । जसअनुसार मत याः (नेकु जात्रा) निम्नानुसार सञ्चालन हुनेछ ।

(क) २०७९ श्रावण १० (गठांमुगः चह्रे): बाजाहरू प्रदर्शन ।
(ख) २०७९ श्रावण १२ गते (औंसी) देखि १६ गतेसम्म: राति बग्गी जाने ।
(ग) २०७९ श्रावण २८ गते (भदौ कृष्ण द्वितिया): मत याः र नेकु जात्रा (श्रृंगभेरी) ।
(घ) २०७९ श्रावण २९ गते: बुंगमतीमा मत याः र नेकु जात्रा (श्रृंगभेरी) ।
(ङ) २०७९ श्रावण ३० गते: स्वयम्भुमा मत याः र नेकु जात्रा (श्रृंगभेरी) ।
(च) २०७९ श्रावण ३१ गते (भदौ कृष्ण पञ्चमी): गणेश पूजा र साँझ समापन समारोह एवम् पालो हस्तान्तरण ।
यसै गरी श्रीकृष्ण पूजा निम्नानुसार सञ्चालन गरिनेछ ।
(क) २०७९ भाद्र ३ गते (कृष्णाष्टमी): कोवहाल कृष्ण मन्दिरमा पूजा तथा भजन ।
(ख) २०७९ भाद्र ४ गते: बाजागाजासहित ललितपुर नगरक्षेत्रका श्रीकृष्ण मन्दिरहरू परिक्रमा ।
(ग) २०७९ भाद्र ४ गते: साँझ समापन समारोह एवम् पालो हस्तान्तरण ।
माथि उल्लिखित कार्यक्रमको अतिरिक्त २०७८ मार्ग महिनादेखि नै बाजाहरुको प्रशिक्षणका साथै हरेक बृहस्पतिबारका दिन श्री नृत्यनाथको पूजा थालिएको थियो ।

उद्देश्य:

यस प्रकारका परम्परादेखिका जात्राहरुलाई निरन्तरता दिनाले ललितपुर नगरक्षेत्रमा भएको मूर्त एवम् अमूर्त सम्पदालाई समेत जगेर्ना गरी यस धार्मिक र सांस्कृतिक नगरको छविलाई कायमै राख्नुका अतिरिक्त जनमानसमा पनि बढी सुदृढ एवम् सबल भाइचाराको सम्बन्धसहितको नगर कायम राख्न टेवा पुग्ने विश्वास गर्न सकिन्छ ।

जात्रा सञ्चालनमा व्यवधान:

यस ललितपुर नगरलाई युनेस्कोबाट समेत सांस्कृतिक नगरको रुपमा मान्यता प्राप्त भए तापनि हालको अवस्थामा यस प्रकारको अमूर्त सम्पदालाई जगेर्ना गर्न सरल नभएको भान हुन्छ । युवा पिँढीमा इच्छाशक्तिमा कमी, नगरक्षेत्रबाट आदिवासीको पलायनको कारण जात्रासम्बन्धी अनभिज्ञता, जात्रा सञ्चालनमा अधिक व्ययभार र यथेष्ठ स्रोतको अभाव, प्राचीन बाजाहरुको प्रशिक्षक र प्रशिक्षार्थीहरुको कमी, स्थानीय सरकारमा यस अमूर्त सम्पदा जगेर्नाको आवश्यकताबारे राम्रो बोधको अभावले जात्रा सञ्चालनमा कठिनाइ हुँदै आएको छ ।

उपलब्धि र हालको आवश्यकता:

विगत २ वर्षदेखि कोभिड–१९ का कारण सञ्चालन हुन नसकेको मत याः, नेकु जात्रा र श्रीकृष्ण पूजा जात्रा यस वर्ष सञ्चालन गरिँदै छ । यसबाट परम्परादेखि व्यवस्थित रुपमा सञ्चालनमा रहेको अमूर्त सम्पदालाई पुनः जगेर्ना गर्न सहयोग पुग्नेछ । यसै गरी यस जात्राको मुख्य पक्ष नौबाजाका नयाँ पुस्ताका प्रशिक्षार्थीहरु प्रशिक्षित भई परम्पराको वाद्यवादनको कला जगेर्नामा निरन्तरता प्रदान हुनेछ । यी जात्राहरु सञ्चालनले कोवहाल टोलमा मात्र नभई ललितपुर नगरक्षेत्रमै समन्वय र भाइचारा विकास गर्न सुअवसर प्रदान गर्नेछ । यस जात्राले यस ऐतिहासिक तथा सांस्कृतिक ललितपुर नगरको मूर्त एवम् अमूर्त सम्पदा जगेर्ना गर्न कोसेढुंगा साबित गर्नेछ ।

आधुनिक नेपालमा अझै पनि जीवितरुपमा रहेका भौतिक सम्पदा संरक्षण र प्रवद्र्धनको संघारमा रहेका यहाँका परम्परागत संस्कृति, सामाजिक जीवन्तता नै हाम्रा पुर्खाका इतिहास हुन् भन्नेमा द्विविधा पाइन्न । यसरी लिच्छवि, मध्यकालीन र आधुनिक नेपाललाई निरन्तरता दिने कडीको रुपमा रही हरेक मानव जातिमा प्रभाव पार्ने हाम्रा परम्परागत जात्राहरु नै हुन् ।

यस प्रकारका बृहत् जात्राहरुलाई लोप हुन नदिन स्थानीय सरकार अर्थात् महानगरपालिका एवम् नेपाल सरकारका सम्बन्धित मन्त्रालयहरूका साथै सञ्चालन र संवद्र्धनमा टेवा प्रदान गर्न जिल्ला प्रशासनसहित सुरक्षा निकायबाट पनि राम्रो पहलको जरुरी देखिन्छ भने नेपाल सरकारबाट पनि संरक्षित सम्पदाको मान्यता हुन पनि त्यत्तिकै जरुरी देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्