तीन महिनासम्म फुटेज राख्न गृह मन्त्रालयको निर्देशन

0
Shares

काठमाडौं । 

गृह मन्त्रालयले तीन महिनासम्म सीसीटीभीको फुजेट अनिवार्य रूपमा राख्न निर्देशन दिएको छ । मन्त्रालयले मन्त्रालय, आयोग, सचिवालय, प्रतिष्ठान, बोर्ड र कार्यालयलाई आफ्नो कार्यालयमा भएको सीसीटीभी फुटेज तीन महिनासम्म अनिवार्य सुरक्षित राख्न निर्देशन दिएको हो । गृहसचिवस्तरको निर्णय गरी सबै कार्यालयलाई मंगलबार तीन महिनासम्म अनिवार्य सीसीटीभी फुटेज सुरक्षित राख्न परिपत्र भएको छ ।

पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि संसदीय छानबिन समितिले सीसीटीभीको फुटेज खोजी गरे पनि सहजै रूपमा फेला पार्न नसकेपछि रिकभर गरेर अध्ययन थालेको छ ।अर्थ मन्त्रालयमा रहेको सीसीटीभी फुटेज १३ दिनमै मेटिएको भनिएपछि गृह मन्त्रालयले कार्यविधिअनुसार ३ महिनासम्म सुरक्षित राख्न निर्देशन दिएको हो । सीसीटीभी जडान तथा सञ्चालनसम्बन्धी कार्यविधि, २०७२ अनुसार ‘सीसीटीभीबाट खिचेका दृश्यहरू कम्तीमा ३ महिनासम्म सुरक्षित रहने गरी राख्नुपर्ने प्रावधान छ ।

शर्माले बजेट घोषणाको अघिल्लो दिन जेठ १४ गते करको दर हेरफेर गर्न अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालय प्रवेश गराएको आरोप लागेपछि अहिले छानबिन समितिले अध्ययन गरिरहेको छ ।समितिले अर्थ मन्त्रालयबाट सीसीटीभी फुटेज मागे पनि जेठ १४ को फुटेज नपाएपछि ‘रिकभर’का लागि प्रहरीको फरेन्सिक ल्याब पठाएको थियो । प्रयोगशालाले सोमबार समितिलाई फरेन्सिक रिपोर्ट बुझाएको थियो । प्रयोगशालाले जेठ १४ गतेको फुटेज पनि रिकभर गरेको छ । तर फुटेज भने प्रस्ट नहुँदा समितिलाई प्रमाण भेटाउन झन कठिन भएको छ ।

हाल सिंहदरबार परिसरभित्र जडान गरिएको करिब पचासभन्दा बढीे सीसीटीभी व्यवस्थापन सहरी विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय सचिवालयले व्यवस्थापन कार्यालयले गर्दै आएको छ । उक्त सीसीटीभीको अनुगमन सिंहदरबार सुरक्षा गणमार्फत् हुँदै आएको छ । गणले निगरानी गर्ने सिसीटीभीको फुटेज ब्याकप प्रणाली नहुँदा १२ दिनपछि आफैं डिलेट हुने गरेको छ ।