भक्तपुर क्यान्सर अस्पताललाई साढे सात लाख सहयोग



काठमाडौं । हेल्थ इक्सचेन्ज नेपाल बेलायतको तर्फबाट इन्जिनियर संञ्जिवमान राजभण्डारीले मंगलबार भक्तपुर क्यान्सर अस्पताललाई पाँच हजार पाउण्ड अर्थात् ७ लाख ६५ हजार रुपियाँको चेक हस्तान्तरण गर्नुभयो ।

अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. विष्णुदत्त पौडेलूाई एक कार्यक्रमका बीच सो चेक हस्तान्तरण गरिएको हो ।

अस्पतालका प्रशासन प्रमुख राजाराम तजलेले स्व. विवेकबहादुर प्रधानको संयोजकत्वमा रोटरी क्लब अफ म्यान्सफिल्ड, बेलायत रोटरियन तथा अन्य सामाजिक संघ–संस्थाको सक्रियतामा २०५५ सालमा रेडियो थेरापिकोवाल्ट मेशिन उपहार स्वरुप प्रदान भई सञ्चालनमा आएको र हेल्थ इक्सचेन्ज नेपाल, बेलायतमार्फत विभिन्न समयमा अस्पतालमा आवश्यक उपकरणहरु सहयोग स्वरुप उपलब्ध भएको जानकारी दिनुभयो ।

बेलायतमा रहनने नेपालीमूलका शुभचिन्तकहरुबाट केही रकम संकलन गरी अस्पतालमा आउने गरीव बालबालिका र महिलाको लागि रेडियोथेरापि सेवा शुल्कमा केही मिनाहा गरिंदै आइरहेकोमा अबपनि निरन्तरताको लागि तजले अनुरोध गर्नुभयो ।

अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. विष्णुदत्त पौडेलले उक्त रकमबाट अस्पतालको डे–कयर र एनेक्स वार्डका बिरामी कुरुवा बस्ने प्रतीक्षालय निर्माण गरिने जानकारी दिनुभयो । प्रतीक्षालयको नाम स्व.विवेकबहादुर प्रधान राख्ने पनि जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्