कालिज फार्ममा पसेको चितुवा दुई दिनपछि नियन्त्रणमा

0
Shares

दोलखा । 

दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर–७ मकैवारीमा रहेको कालिज फार्ममा शनिवार राति पसेको चितुवालाई सदर चिडियाखानाबाट आएको टोलीले दुई दिनपछि सोमवार नियन्त्रणमा लिएको छ ।

सदर चिडियाखानाबाट आएको विज्ञ टोली र डिभिजन वन कार्यालयको टोलिले संयुक्त रुपमा डाटिङ विधि (गोली हानेर वेहोस बनाउने) बाट चितुवालाई नियन्त्रणमा लिएको डिभिजन वन कार्यालय चरिकोटका प्रमुख थीर बहादुर कार्कीले बताउनु भयो । स्थानीयले ढुङ्गा मुढा गरेकोले घाईते बनेको उक्त चितुवालाई अहिले डिभिजन वन कार्यालय चरिकोटमा राखिएको र आवश्यक उपचार पछि उसको प्राकृतिक वासस्थानमा लगेर छोडिने कार्कीले बताउनु भयो ।

उक्त चितुवाले फार्ममा पसेर एक हजार भन्दा बढी कालिज मारेको सञ्चालक मिङ्गुर शेर्पाले बताउनु भयो । झण्डै दुई बर्ष पुगेका ती कालिज मर्दा फार्मलाई ३० लाख भन्दा बढी क्षति पुगेको सञ्चालक शेर्पाले बताउनु भयो । अहिले ती कालिजहरु २५ सय रुपैयामा बिक्रि हुदै आएको थियो । फार्ममा शनिवार राति दुई बजेतिर चितुवा पसेको अनुमान गरिएको छ । विहान फार्मका मजदुर कालिजलाई दाना हाल्न जाँदा केही कालिज मरेको भेटेका थिए । त्यसपछि के भएको भनि हेर्न जाँदा चितुवाले आक्रमण प्रयास गरेको थियो ।

वाईल्ड लाइफ एग्रो विथ रिर्सोटको नामबाट झण्डै तीन बर्ष अघि २५ रोपनी जमिनमा फार्म सञ्चालन गरिएको थियो । फार्मको दुई भागमध्य एक भागमा चितुवा पसेको हो । उक्त भागमा १६ सय ५० वटा कालिज रहेकोमा अब एक ढेड सयवटा कालिजमात्र देखिएको सञ्चालक शेर्पाको भनाइ छ । अर्को भागमा दुई हजारवटा कालिज रहेको सञ्चालक शेर्पाले बताउनुभयो ।