प्रेस युनियन अध्यक्षमा लम्साल विजयी

0
Shares

हेटौंडा ।

प्रेस युनियनको अध्यक्षमा शिव लम्साल विजयी हुनुभएको छ । नवांै महाधिवेशनअन्तर्गत आइतबार साँझ सार्वजनिक मतपरिणामअनुसार अध्यक्षमा लम्सालले ७ सय ४५ मतसहित विजयी हुँदा आकांक्षी अनिता विन्दुले ६ सय १२ मत पाउनुभयो । लम्साल संस्थापनइतरको उम्मेदवार हुनुहुन्छ भने विन्दु संस्थापन पक्षकी उम्मेदवार हुनुहुन्छ । अर्का आकांक्षी भुवन भट्टले १९ मत पाउनुभयो । १ हजार ६ सय मतदातामध्ये १ हजार २ सय ९७ मत खसेको थियो ।

पदाधिकारीसहित केन्द्रीय कार्यसमितिका अधिकांश पदमा पनि लम्साल प्यानलकै बाहुल्य भएको छ । हेटौंडामा भएको ९औं महाधिवेशनबाट कांग्रेसको शेखर कोइराला समूहबाट लम्साल अध्यक्षमा प्यानल बनाएर चुनावी मैदानमा उत्रिनुभएको थियो । करिब ८ वर्षअघि संस्थापन पक्षका बद्री सिग्देलसँग पराजित हुनुभएका लम्सालले यसपटक संस्थापनकै विन्दुलाई पराजित गर्नुभएको हो ।

वरिष्ठ उपाध्यक्षमा प्रेम केसी ६ सय ८५ मतसहित विजयी हुँदा अर्का आकांक्षी सरोज अधिकारीले ६ सय ६५ मत पाउनुभयो । खुला उपाध्यक्षमा नकुल अर्याल ७ सय ७५ मत र भीष्मराज ओझा ६ सय ४० मत पाई विजयी हुनुभयो । महिला उपाध्यक्षमा सलोजा दाहाल ७ सय २० मत ल्याई विजयी हुनुभएको छ ।प्रदेशबाट उपाध्यक्षमा डिल्लीराम खतिवडा (१ नम्बर प्रदेश), अनिल कर्ण (मधेश प्रदेश), डा. मुरारी अधिकारी (वागमती), ऋषिकान्त पौडेल (गण्डकी), माधवप्रसाद अर्याल (लुम्बिनी), राजेन्द्रबहादुर कार्की (कर्णाली), प्रेम चुनारा (सुदूरपश्चिम), जीवन भण्डारी (उपत्यका) विजयी हुनुभएको छ । महासचिवमा दिलिप पौडेल ८ सय ७८ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

उपमहासचिवमा युवराज गौतम, कमल पन्त र रवीन्द्र सुवेदी निर्वाचित हुनुभएको छ । उपमहासचिव महिलामा सुलोचना गौतम र दिलिपाश्री अधिकारी निर्वाचित हुनुभएको छ । उपमहासचिव समावेशीमा अभयकुमार राई निर्वाचित हुनुभएको छ । सचिवमा केदारप्रसाद दाहाल, खगेन्द्र भण्डारी, भुवन शर्मा र तीर्थराज बस्नेत निर्वाचित हुनुभएको छ । सचिव महिलामा पुष्पा शर्मा विजयी हुनुभएको छ । केन्द्रीय लेखा समिति संयोजकमा पदमराज जोशी विजयी र खुला सदस्यमा गिरीराज पोखरेल र घनश्याम पौडेल विजयी हुनुभएको छ ।

कांग्रेसनिकट शुभेच्छुक संगठन नेपाल प्रेस युनियनको नवौं महाधिवेशन शुक्रबारदेखि भएको थियो । प्रेस युनियन केन्द्रमा पदाधिकारी, केन्द्रीय सदस्य र केन्द्रीय लेखा समितिसमेत गरी १ सय २० जनाको प्रतिनिधित्व रहने गरी विधानमा व्यवस्था गरिएको छ । जसमध्ये अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष १२, महासचिव १, उपमहासचिव ६, सचिव १७, कोषाध्यक्ष १ र केन्द्रीय सदस्य ७६ जनासमेत गरी कुल १ सय १५ जना रहने व्यवस्था छ ।
केन्द्रीय लेखा समितिमा संयोजक १ र सदस्य ४ जनासमेत गरी ५ सदस्य रहने व्यवस्था छ । कुल १ सय २० वटा पदमध्ये १ सय १८ पदका लागि उम्मेदवारी परेको थियो ।

२ पदका लागि कुनै पनि मनोनयन दर्ता भएन । उम्मेदवारी परेका ३१ पदमा निर्विरोध निर्वाचित हुनुभएको थियो । मनोनयन दर्ता नभएको पदमा अल्पसंख्यक महिला कोटाको केन्द्रीय सदस्य र उपत्यका महिला कोटाको केन्द्रीय सदस्य छन् । अल्पसंख्यक महिला केन्द्रीय सदस्यतर्फ १ जनाको कोटामा कुनै मनोनयन दर्ता भएन । उपत्यका प्रदेशको महिला केन्द्रीय सदस्यमा २ जनाको कोटामा १ जनाको मात्र मनोनयन दर्ता भयो । बाँकी ८७ पदका लागि भने निर्वाचन भएको थियो । यसका लागि १ सय ७३ जना उम्मेदवार चुनावी मैदानमा रहनुभएको थियो । शुक्रबार प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशन उद्घाटन गर्नुभएको थियो ।