दशैंअघि नै भारतीय रेल विराटनगरसम्म आइपुग्ने

0
Shares

विराटनगर ।

भारतको बथनाहबाट मोरङको विराटनगरस्थित एकीकृत भन्सार जाँच चौकी .आईसीपी) सम्म दशैंअघि नै मालवाहक रेल सञ्चालनमा आउने भएको छ ।निर्माणको अन्तिम चरणमा पुगेको बथनाह–कटहरी रेल्वे लाइनअन्तरगत आईसीपीसम्म तत्कालै रेल सञ्चालन गर्ने विषयमा उद्योग संगठन मोरङमा आयोजित बैठकमा दुवै देशका अधिकारीले रेल सञ्चालनका लागि तयारी अघि बढाउने सहमति गरेका हुन् ।

रेल सञ्चालनको पूर्व तयारीका सम्बन्धमा भएको बैठकमा भारतीय रेल्वे कटिहार डिभिजनका डिभिजनल मेनेजर एस.के. चौधरीले विराटनगरदेखि मालवाहक रेल अविलम्व सञ्चालनमा ल्याइने जानकारी दिनुभयो । चौधरीले १८ दशमलव ६ किलोमिटर लामो बथनाह–विराटनगर रेल्वेको काम अन्तिम चरणमा पुगेको जानकारी दिँदै नेपाल र भारत सरकारबीच प्राविधिक र प्रशासनिक प्रक्रिया चाँडो पूरा गरी त्यसको १५ दिनभित्र मालवाहक रेल सञ्चालनमा ल्याउन सकिने बताउनुभयो । उहाँले जोगवनीमा रेल्वेको मर्मत केन्द्र निर्माण गर्न भारतीय रेल्वे मन्त्रालयमा बजेट माग गरिसकेको जानकारी दिंदै उक्त मर्मत केन्द्र निर्माणपश्चात् मोरङको कटहरीसम्म विस्तार हुने यात्रुबाहक रेल सेवा समेतलाई फाइदा पुग्ने बताउनुभयो ।

उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले बथनाह–विराटनगर मालवाहक रेल यथाशक्य छिटो सञ्चालनका लागि आवश्यक समन्वय गर्न नेपाल सरकारसँग आग्रह गरेको जानकारी दिंदै भन्नुभयो– ‘मालवाहक रेल सञ्चालन भएपछि मात्रै नेपाली उद्योगीहरूले राहत पाउनेछ ।’ छलफलका क्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले दुई देशीय व्यापार विस्तारका लागि मालवाहक रेलको सञ्चालन अति नै महत्वपूर्ण रहेकोमा जोड दिनुभयो । उहाँले रेल सञ्चालन गर्न महानगरपालिका सबै भूमिका निर्वाह गर्न तयार रहेको बताउनुभयो ।

छलफलमा विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ताराप्रसाद सापकोटाले रेल सेवा सञ्चालनमा ल्याउन नेपालस्थित भन्सार कार्यालयबाट गरिने सबै सहयोग अझ प्रभावकारी रुपमा गरिने आश्वासन दिनुभयो । नेपालस्थित रेल विभागका इन्जिनियर रोशन कुमार देवले दुई देशका प्राविधिक टोलीले निर्माणाधीन परियोजनाको प्राविधिक पक्ष परीक्षण गरी अन्य प्रशासनिक प्रकृया पूरा गरेपछि विराटनगर–बथनाह रेल सञ्चालनमा आउने बताउनुभयो ।

नेपाली अधिकारीहरूले एक वर्षअघि नै गरेको स्थलगत निरीक्षणका क्रममा बथनाहबाट विराटनगरको आईसीपीसम्म मालवाहक रेल सञ्चालन गर्न कुनै ठुलो अवरोध नरहेको निश्कर्ष निकालेका थिए । हाल विराटनगरका लागि मालवाहक कन्टेनर बोकेर आउने भारतीय मालवाहक रेल नेपालस्थित आईसीपीभन्दा ७ किलोमिटर दक्षिणमा पर्ने भारतको बथनाहमै रोकिने गरेका छन् । त्यहाँबाट नेपाली उद्योगी व्यवसायीहरूले पुनः सामान अनलोड गराएर मालवाहक ट्रकमा राखेर आईसीपीसम्म ल्याउनुपर्ने बाध्यता छ ।