१२ वर्षीय बालकसहित ३ पक्राउ

चार वर्षीया बालिकाको बलात्कारपछि हत्या

0
Shares

वीरगन्ज । 

वीरगन्ज महानगरपालिका–२ छपकैयाँकी ४ वर्षीया बालिका साउन ५ खेल्दा खेल्दै हराइन् । परिवारका सदस्यहरुले रातिसम्म पनि बालिका घर नआएपछि सशंकित भए र भोलिपल्टै जिल्ला प्रहरी कार्यालयमा अभिभावकले उजुरी दिए । भोलिपल्ट साउन ६ गते शुक्रबार हजुरबुबा मो.मैनुदिन मिया ठकुराईले नातिनी हराएकाले खोजी दिन आग्रह गर्दै प्रहरीमा निवेदन दिनुभयो ।

प्रहरीले पनि खोजी शुरु ग-यो । छिमेककै अन्दाजी १२ वर्षीय बालकले बालिकाको शव झाडीमा रहेको भनी अभिभावकलाई खबर गरे । साउन ७ गते बिहान वीरगन्ज–२ छपकैयास्थित खाली जग्गाको झाडीमा बीभत्स अवस्थामा बालिका मृत भेटिइन् । अभिभावकहरुले शव उठाएर घरमा ल्याए ।

घरका सदस्यहरुले शव घरमा ल्याइसकेपछि बिहान ७ बजेतिर मात्रै प्रहरीले शव भेटिएको खबर पाएको थियो । त्यसपछि वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक विशाल मल्लसहितको टोली घटनास्थल अनुसन्धानका लागि पुग्यो । सोधखोज गर्ने क्रममा बालिकाको शव देखाउने अन्दाजी १२ वर्षीय बालक नै पहिला शंकाको घेरामा परेको प्रहरी निरीक्षक मल्लले बताउनुभयो ।

उनै १२ वर्षीय बालकले दिएको बयानको आधारमा थप तीन जनालाई पक्राउ गरिएको मल्लले बताउनुभयो ।१२ वर्षीय बालकसहित वीरगन्ज–२ बस्ने १९ वर्षीय जफ्रुदिन भन्ने सलमान खान, वडा नं. १६ नगवा बस्ने १८ वर्षीय सलमान खान वीरगञ्जमै पक्राउ परे भने घटनापछि दिल्ली फरार भएका १७ वर्षीय अभियुक्तलाई पनि प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

आरोपितहरूविरुद्ध जबरजस्ती करणी तथा ज्यानसम्बन्धी कसुरमा साउन ८ गते पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । गम्भीर प्रकृतिको घटना भएकाले त्यसैअनुसार अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्कीले जानकारी दिनुभयो ।