मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकन कार्य योजना तयार

0
Shares

काठमाडौं । 

निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकनको गृहकार्य अघि बढाएको छ । आयोगले मतदाता नामावली संकलन कार्यसंगै मतदानस्थल तथा मतदान केन्द्र निर्धारणसम्बन्धी कार्य समेत अघि बढाएको हो ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले नेपाल समाचारपत्रलाई आगामी निर्वाचनलाई ध्यानमा राखेर मतदानस्थल र मतदान केन्द्र पुनरावलोकन कार्ययोजना बनाइसकेकोे जानकारी दिनुभएको हो ।

सुरक्षा तथा सुविधाको दृष्टिकोणबाट मतदान केन्द्र तोक्दा अपनाउनुपर्ने आधारहरु समेत राखेर आयोगले कार्ययोजना तयार गरेको बताइएको छ । यसको लागि साउन १ गतेदेखि भाद्र ७ गतेसम्म कार्यक्रम सञ्चालन हुने गरी आयोगको गत असार ३१ गतेको निर्णयअनुसार कार्यक्रम स्वीकृत गरी जिल्ला जिल्लामा पठाई सकिएको पनि प्रवक्ता पौडेलले बताउनुभयो ।सम्पूर्ण मतदाताको हितलाई ध्यान दिई सुरक्षित, पहु“चयोग्य र विवादरहित रुपमा पायक पर्ने स्थानमा स्थल तथा केन्द्र निर्धारण गर्न निर्देशन दिइएको पनि प्रवक्ता पौडेलले बताउनुभयो । यस विषयमा जिल्लामा राजनीतिक दलहरुसंग समन्वय गरिने पनि प्रवक्ता पौडेलको भनाइ छ ।

आयोगले हरेक निर्वाचनको लागि मतदाताको संख्या तथा सुरक्षा अवस्थालाई ध्यानमा राखेर मतदानस्थल तथा मतदान केन्द्र तोक्ने गर्दछ । यससम्बन्धी कार्यविधिअनुसार सकभर मतदातालाई पायक पर्ने गरी सार्वजनिक स्थानमा तोक्नुपर्नेछ ।
यसैबीच आयोगले आवश्यक पूर्वाधारसहितको पायक पर्ने स्थानमा मतदानस्थल तथा मतदान केन्द्र निर्धारण गरी पुनरावलोकन गर्दै सिफारिश गरी पठाउने सम्बन्धमा समन्वय गरिदिन सरकार, गृह मन्त्रालय, अर्थ मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई आग्रह गरेको छ ।

मतदान स्थल तथा केन्द्र पुनरावलोकनमा सरोकारवालासंग प्रभावकारी समन्वय गर्न जिल्ला निर्वाचन अधिकारीलाई सक्रिय भई कानूनी व्यवस्थाअनुसार प्रक्रिया अगाडि बढाउन निर्देशन दिइसकेको पनि आयोगले जनाएको छ । मतदान स्थल र मतदान केन्द्र पुनरावलोकनमा अवलम्बन गर्नुपर्ने व्यावहारिक पक्ष तथा सरोकारवालाको समन्वयको आवश्यकताका विविध पक्षबारे आयोगले जिल्ला निर्वाचन अधिकृतलाई अवगत गराइसकेको छ । हरेक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्लास्थित विभिन्न सुरक्षा निकाय तथा सरोकारवालाहरू सम्मिलित जिल्ला मतदानस्थल र मतदान केन्द्र सिफारिस समिति हुने गरेको छ ।