राजधानीको सडकमा फोहोरका पोका

0
Shares

–सडक निर्माण हुन अझै केही दिन लाग्ने
–अर्को साता मात्र फोहोर लैजान सकिने

काठमाडौं । 

बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर बिसर्जन हुन नसक्दा सडकमा पोका पारेर राखिएको छ । ल्याण्डफिल साइट पुग्ने बाटो निर्माण गर्न शहरी विकास तथा भवन निर्माण विभागले एक साताअघि फोहोर बोक्ने सवारी नचलाउन आग्रह गरेको थियो ।

सोही आग्रहअनुसार काठमाडौं महानगरपालिकाले एक सातासम्म फोहोर ल्याण्डफिल साइट नलैजाने निर्णय गरेको थियो । कामपाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेलले सूचना जारी गरी एक सातासम्म घरमै फोहोर राख्न आग्रह गरिएको बताउनुभयो ।एक सातासम्म घरभित्र फोहोर राख्न असम्भव भएपछि महानगरवासीले बाटोमा फोहोर राखेका थिए । महानगरवासीले राखेको फोहोर वडा कार्यालयको संयोजनमा प्लास्टिकको झोलामा पोका पारी बाटोको साइडमा राखिएको छ ।

कामपा वातावरण व्यवस्थापन विभाग ल्याण्डफिल साइट इन्चार्ज सरकारदीप श्रेष्ठले टेकु ट्रान्सफर स्टेसनमा फोहोर व्यवस्थापन गर्न असम्भव भएपछि बाटो किनारामा पोकापारी राखिएको जानकारी दिनुभयो । कामपा प्रवक्ता नवीन मानन्धरले विकल्प नभएपछि कामपाले प्याकिङ गरी व्यवस्थित रुपमा सडक किनारामा राखिएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘दुर्गन्ध नआउने गरी केमिकल राखेर व्यवस्थित किनारामा राखेका छौं ।’ एक दुई दिन मात्र बाटोमा राख्ने र त्यसपछि ल्याण्डफिल साइटमै लैजाने उहाँको भनाइ थियो ।

तर उहाँले भनेजस्तो पूर्ण रुपमा दुर्गन्धहिन देखिँदैन । ‘विभागले दिएको समय सकिन दुई दिन बाँकी छ, हामी तोकेकै दिन बञ्चरेडाँडामा फोहोर लैजाने तयारी गरेका छौं’ –उहाँले भन्नुभयो । महानगरपालिकाका अनुसार २ सय मिटर सडक पूर्ण रुपमा तयार हुन अझै केही दिन लाग्नेछ । यही अवस्था भए अर्को साता मात्र बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर लैजान सकिनेछ ।

विभागले दिएको एकसाताको समयसिमा ११ गते सकिदैन । ५ गतेबाट बाटो निर्माण शुरु भएको थियो । कामपाले बिहीबारबाट फोहोर लैजानु अघि ल्याण्डफिल जाने सडकको अवस्थाबारे जानकरी लिन महानगर वातावरण व्यवस्थापन विभागको टोली सोमबार सिसडोल पुगेको थियो । टोलीले बाटोको अवस्थाबारे जानकारी लिएको थियो । बाटोको अवस्था हेर्दा यो सातासम्म ल्याण्डफिल साइटमा फोहोर लैजान सक्ने अवस्था नभएको टोलीका एक सदस्यले भने ।

‘बाटो निर्माणको प्रगति हेर्दा सुस्त छ, अझै केही दिन निर्माण गर्न सकिँदैन’ –कामपाको टोलीले नेपाल समाचारपत्रसंग भन्यो । यही ५ गते जारी सूचनामा घर र पसल तथा व्यवसायबाट उत्पादन हुने फोहोर बाहिर ननिकाल्न काठमाडौँ महानगरपालिकाले अपिल गरेको छ । त्यस बेला मेयर बालेन्द्र साहको अध्यक्षतामा बसेको फोहोरमैला व्यवस्थापन समितिको बैठकले बञ्चरेडाँडा पुग्ने सडक निर्माण कार्यमा सघाउ पु¥याउन फोहोर नलैजाने निर्णय गरेको थियो ।

उपत्यकाको फोहोर ढुवानी गर्ने सडक खण्डअन्तर्गत सिसडोल भ्याली १ मा सडक बनाउन सवारी आवतजावतका कारण कठिनाइ भएको व्यहोरा उल्लेख गरी साउन ३ गते सहरी विकास तथा भवन निर्माण विभागले महानगरलाई पत्र पठाएको थियो ।समितिको बैठकले ल्यान्डफिल साइट जाने सडकबाट फोहोर ढुवानी कार्य ७ दिनका लागि रोक्ने निर्णय गरेको थियो । उक्त अवधिभर फोहोर बाहिर फोहोर उत्पादकलाई अनुरोध गर्ने र सडकको फोहोर पोको बनाउँदै व्यवस्थापन गर्ने निर्णय भएको थियो ।

प्रवक्ता मानन्धरले विभागले दिएको समय सकिएलगत्तै बञ्चरेमै फोहोर लैजाने दाबी गर्नुभयो । दैनिक करिब ७ सय टन फोहोर संकलन हुने कामपामा पाँच दिनसम्म फोहोर नउठ्दा बाटो, गल्ली र शहरी क्षेत्रको सडकमा फोहोरको डंगुर देखिन थालेको छ । कम परिमाणमा फोहोर संकलन हुने भएकाले ललितपुर महानगरसहित १७ स्थानीय निकायले आफ्नै क्षेत्रमा फोहोर व्यवस्थापन गरिरहेको छ ।

कामपाले अब सबै वडाले आ–आफ्नै क्षेत्रमा कुहिने फोहोर जम्मा गरेर मल बनाउनुपर्ने र नकुहिने फोहोर तोकिएको बारमा मात्र संकलन गर्ने व्यवस्था गर्न लागेको छ । अब हामीले वडामै फोहोर व्यवस्थापन गर्न विकल्प खोज्नुपर्छ । त्यसका लागि महानगरले कार्ययोजना बनाउने तयारीमा छ ।