संसदीय छानबिन समितिले मगायो मुख्य प्रवेशद्वारको फुटेज

0
Shares

काठमाडौं, (नेस) ।

पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय छानबिन समितिले अर्थमन्त्रालयमा रहेको सीसी टिभीको फुटेज फेला पार्न नसकेपछि सिंहदरबार प्रवेशद्वारको फुटेज मगाएको छ ।

आइतबार बसेको समितिको बैठकले सिंहदरबार प्रवेशद्वारको फुटेज मगाउने निर्णय गरेको हो । समितिले नेपाल प्रहरीको विद्युतीय विधि विज्ञान प्रयोगशालाको छानबिन प्रतिवेदन आउन अझै समय लाग्ने देखिएपछि सिंहदरबारको दक्षिण र पूर्वी प्रवेशद्वारका सीसीटिभी फुटेज मगाएको समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी दिनुभयो ।

यसअघि छानबिन समितिले पूर्व अर्थमन्त्री जनार्दन शर्मालाई बोलाएर घटनाको विषयमा बयान लिइसकेको छ । तीन घण्टाको बयानका क्रममा उहाँले सीसीटिभीको स्टोरेजबारे आफूलाई जानकारी नरहेको बताउनुभएको थियो ।

बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गराउँदै राजश्वको दरमा हेरफेर गरेको आरोप लागेपछि अर्थमन्त्री शर्माले राजीनामा दिनुभएको थियो । साउन ५ मा सात दिनको म्याद थपिएको समितिले अर्थमन्त्रालयका पदाधिकारीसँग पनि घटनाको विषयमा छलफल गरिसकेको छ । सिहंदरबार परिसरभित्र प्रवेश गर्ने मूलद्वार र परिसरभित्र रहेको सीसी क्यामेराको निगरानी नेपाल प्रहरी र नेपाली सेनाले गर्दै आएको छ । हाल सिंहदरबार परिसरभित्र ५० वटाभन्दा बढी सीसीटिभी जडान गरिएको छ ।

सीसीटिभीको फुटेज तीन महिनासम्म राख्नुपर्ने प्रावधान भए पनि आवश्यक स्रोत साधन नहुँदा १० दिनपछि आफंै डिलेट हुने गरेको बताइएको छ । सिंहदरबार प्रवेश गर्नको लागि हाल दक्षिण, पूर्वी र पश्चिम द्वार सञ्चालनमा रहेको छ । सर्वसाधारणका लागि दक्षिण द्वार प्रयोग हुँदै आएको छ भने पूर्वी र पश्चिम द्वार कर्मचारीका लागि प्रयोग हुँदै आएको छ ।