कुहिने हरियो, नकुहिने नीलो

0
Shares

काठमाडौं । 

कीर्तिपुर नगरपालिकाले हरियो रङको गाडीमा कुहिने र निलो रङको गाडीमा कुहिने फोहोर मात्र संकलन गर्नेभएको छ । नगरपालिकाले केही दिनभित्र नगरपालिका क्षेत्रमा यस्तो व्यवस्था गर्न लागेको जानकारी दिँदै कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीले आइतबार नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘नगरपालिका क्षेत्रमा तोकिएको दिनअनुसार हरियो गाडीले कुहिने र निलो गाडीले नकुहिने फोहोर संकलन गर्नेछ ।’ उहाँले तोकेको दिनअनुसार फोहोर व्यवस्थापन नगरे कानुनअनुसार कारबाही गर्ने जानकारी दिनुभयो ।

उपत्यकाका दुई महानगरपालिकासहित १८ स्थानीय तहमध्ये कीर्तिपुर नगरपालिकाले यस्तो व्यवस्था गर्न लागेको हो । बन्चरेडाँडा ल्यान्डफिल साइट एक साताका लागि बन्द भएको अवस्थामा आफ्नै क्षेत्रमा फोहोर व्यवस्थापन गर्न सफल कीर्तिपुर नगरपालिकाले अहिले पनि दैनिक रूपमा फोहोर संकलन गरिरहेको छ । मेयर नकर्मीले भन्नुभयो– ‘हामी जस्तोसुकै अवरोध भए पनि फोहोर संकलन बन्द गर्दैनांै । निजी क्षेत्रको सहयोगमा दैनिक फोहोर संकलन गरिरहन्छौं ।’ उहाँका अनुसार सो नगरपालिकाले त्रिभुवन विश्वविद्यालयले उपलब्ध गराएको कीर्तिपुर प्रवेश गेट नजिकैको स्थानमा व्यवस्थित रूपमा फोहोर विसर्जन गरिरहेको छ ।

कीर्तिपुर नगरपालिकामा दैनिक करिब ४ टन फोहोर संकलन हुने गरेको छ । नगरपालिकाले स्रोतमै वर्गीकरण नगरेको फोहोर संकलन नगर्ने भन्दै निजी क्षेत्रलाई पनि वर्गीकरण नगरेको फोहोर संकलन नगर्न आग्रह गरेको छ । निजी क्षेत्रले पनि नगरपालिकाको निर्देशनअनुसार कुहिने र नकुहिने फोहोर फरकफरक बारमा संकलन गरिरहेको छ ।

नगरपालिकाले सबै वडावासीलाई कुहिने र नकुहिने फोहोर व्यवस्थापन गर्न हरियो र निलो बास्केट दिने तयारी गरेको छ । उहाँका अनुसार वडाले तथ्याङ संकलन गर्ने र सोही आधारमा निःशुल्क रूपमा बास्केट वितरण गर्ने तयारी भइरहेको छ । कीर्तिपुरले नगरलाई पूर्ण हरियाली, स्वच्छ र सफा नगरपालिका बनाउन पहिलो प्राथमिकता फोहोर व्यवस्थापनलाई दिएको छ ।

नगरपालिकाले फोहोरमैला व्यवस्थापन तथा प्लास्टिक झोला प्रतिबन्धसम्बन्धी निर्देशिका २०७५ अनुसार फोहोरमैला व्यवस्थापनलाई विशेष प्राथमिकतामा राखेको जनाएको छ । सरकारले जारी गरेको फोहोरमैला व्यवस्थापन ऐनको दफा ३ मा फोहोरमैला व्यवस्थापन गर्ने जिम्मा स्थानीय तहको रहेको उल्लेख छ ।

नगरपालिकाले जथाभावी फोहोर फ्याक्नेमाथि पनि कडा कारबाही गर्ने तयारी थालेको छ । मेयर नकर्मीले निर्देशिकामा उल्लेख भएअनुसार कारबाही गरिने चेतावनी दिँदै भन्नुभयो– ‘निर्देशिकामा सार्वजनिक ठाँउमा फोहोर फ्याँक्नेलाई १ हजार ५ सयदेखि ५ हजार रुपियाँसम्म जरिवाना गर्ने व्यवस्था छ । त्यस्तै डस्टविन वा कम्पोस्ट विनको प्रयोग नगर्ने तथा औषधि जन्य वस्तु तोकिएको डस्टविनमा नराख्ने वा सिरिञ्ज-सिसालाई इलेक्ट्रिक मेसिनबाट जलाई व्यवस्थापन नगर्ने व्यक्ति वा संस्थालाई ५ हजारदेखि २५ हजारसम्म जरिवाना गर्ने व्यवस्था छ ।’ त्यस्तै पटकपटक सूचित गर्दा पनि अटेर गरी जथाभावी फोहोर फ्याँक्ने संस्था र व्यक्तिलाई कालोसूचीमा राख्ने निर्देशिकामा उल्लेख छ ।