रूख ढलेर बस र स्कुटरलाई किच्दा तीनको मृत्यु

0
Shares

 भक्तपुर । 

भक्तपुरको सल्लाघारीमा रूख ढलेर बस र स्कुटरलाई किच्दा तीन जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । सल्लाघारी चोङ्गा गणेशमा रहेको सल्लाघारीको जंगलको बाटोमाथिको रूख एक्कासी ढलेर बाटोमा आउँदा सडकमा गुडिरहेको बस र स्कुटरलाई किच्दा उक्त दुर्घटना भएको हो ।

महानगरीय प्रहरी परिसर भक्तपुर सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजु पाण्डेका अनुसार मृत्यु हुनेमा एक जना स्कुटी चालक छन् भने दुई जना बसका यात्रु हुन् ।दुर्घटनामा भक्तपुर नगरपालिका २ बस्ने २५ वर्षका विशेष खर्बुजा, चागुँनारायण नगरपालिका २ का ५५ वर्षका न्हुँच्छेराम बखत्यो र सर्लाहीको हरिवन नगरपालिका ४ का ४५ वर्षका राजकुमार भुजेलको ज्यान गएको छ । भुजेल स्कुटरमा हुनुहुन्थ्यो भने बाँकी दुई जना गाडीमा हुनुहुन्थ्यो । यस्तै घाइते १२ जनाको भक्तपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

रूख ढलेर केही बेर सडक नै अवरुद्ध भएको थियो । तर, सुरक्षाकर्मीले रूख पन्छाएपछि सडक नियमित सञ्चालनमा आएको थियो । तीनवटै शवलाई इबामुरा मेमोरियल अस्पतालमा राखिएको छ ।घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको उहाँले जानकारी दिनुभयो । ठिमीबाट भक्तपुर नगरपालिका दूधपाटीतर्फ जाँदै गरेको बा २ ख ३५८४ नम्बरको बस र भक्तपुर दूधपाटीबाट सल्लाघारीतर्फ आउँदै गरेको बा ६१ प ३९७८ नम्बरको स्कुटरलाई किचेको थियो ।

घाइतेहरूको इवामुरा अस्पताल सल्लाघारी, भक्तपुर अन्तर्राष्ट्रिय अस्पताल कौशलटार र मध्यपुर अस्पताल ठिमीमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनालगत्तै प्रहरी र स्थानीय उद्धारमा जुटेका थिए ।