सङ्घीयताविरुद्ध अनावश्यक टीकाटिप्पणी नगर्न मुख्यमन्त्री पाण्डेको आग्रह



काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले सङ्घीयताविरुद्ध अनावश्यक टीकाटिप्पणी नगर्न प्रदेशसभा सदस्यहरुलाई आग्रह गरेका छन् ।

प्रदेश विनाको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको परिकल्पना गर्न नसकिने उल्लेख गर्दै उनले प्रदेशसभा ससदहरुलाई बलिदानीपूर्ण आन्दोलनले ल्याएको सङ्घीयताको विरोध नगर्न अनुरोध गरे ।

विभिन्न समयमा प्रदेशसभा सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै मुख्यमन्त्री पाण्डेले प्रदेशसभामा उनीहरुलाई सङ्घीयता बलियो बनाउन सहयोग गर्न सुझाए । प्रदेशसभा सदस्यहरुबाट नै प्रदेश खारेजीको माग उठेकामा उनले आपत्ति जनायो ।

“सबैको त्याग र बलिदानबाट प्राप्त सङ्घीयतालाई थप मजबुत बनाउनुपर्छ”, उनले भने । गठबन्धन सरकार देशको स्वाधीनता र अस्तित्व रक्षा गर्न सदैव तयार भएको मुख्यमन्त्री पाण्डेले उल्लेख गरे ।

यसैगरी आज बसेको प्रदेशसभा बैठकमा दफावार छलफलका लागि चार विधेयक पेस गरिएका छन् । मुख्यमन्त्री पाण्डेले पेस गरेको प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दफावार छलफलका लागि प्रदेश मामिला समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ ।

यस्तै, आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले विभूषण सिफारिस तथा सम्मान र पदकसम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक र युवा तथा खेलकुदमन्त्री रत्नप्रसाद ढकालले पेस गरेको प्रदेश युवा परिषद् ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक दफावार छलफलका लागि विषयगत समितिमा पेस गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्