करार कर्मचारीको म्याद थप नगरेको विरोधमा गाउँपालिकाको कार्यालयमा तालबन्दी



खोटाङ । खोटाङको जन्तेढुंगा गाउँपालिकामा करारका कर्मचारी हटाएको विरोधमा प्रमुख प्रथिपक्षी दल नेकपा (एमाले) पुनः तालाबन्दी गरेको छ ।

२०७४ को स्थानीय तह निर्वाचनबाट निर्वाचित एमालेका जनप्रतिनिधिले नियुक्त गरेका करारका कर्मचारी हटाएको विरोधमा उसले तालाबन्दी गरेको हो ।

८१ जना करार कर्मचारी हटाएको विरोधमा विभिन्न वडामा लगाइएको ताला तोडेपछि एमालेले पुनः तालाबन्दी गरेको एमाले खोटाङले बताएको छ ।

एमालेले आइतबार जन्तेढुंगा गाउँपालिका–५ चिसापानीमा ताला लगाएको छ । आफ्नो मागको सुनुवाई नगरी ताला तोडेको आरोप लगाउँदै उसले पुनः तालाबन्दी गरेको एमाले खोटाङका सचिवालय सदस्य शंखरबहादुर राईले बताए ।

यसअघि लगाइएको ताला वार्ता र छलफल नगरी खोलिएकाले पुनः सबै वडा कार्यालयमा ताला लगाउन सुरु गरिएको एमालेले जनाएको छ ।

६ वडामध्ये एमालेले साउन २ गते जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालय र ३ साउनमा अन्य वडामा ताला लगाएको थियो । त्यसमध्ये डम्बर्खुशिवालयमा लगाइएको ताला भने हालसम्म खोलिएको छैन । एमालेले तालाबन्दी गरेपछि सेवाग्राही मारमा परेको चिसापानीका वडाध्यक्ष धनबहादुर राईले बताए ।

गाउँपालिकाको बजेटबाट तलब पाउनेगरी नियुक्त भएका करारका कर्मचारीको साउन १ गतेदेखि करार म्याद थप नगर्ने निर्णय विरुद्ध एमाले वडा कमिटिले सम्वन्धित वडा कार्यालय, कृषि तथा पशु शाखा, सामुदायीक स्वास्थ्य इकाई लगायतका कार्यालयमा ताला बन्दी गरेको थियो ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेका अध्यक्ष र उपाध्यक्ष विजयी भएको जन्तेढुंगामा गत ३० बैसाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा गठबन्धनका उम्मेदवार विजयी भएका थिए ।

एमाले नेतृत्वको जनप्रतिनिधिले नियुक्त गरेका करारका कर्मचारीलाई गठबन्धनले हटाइएपछि एमाले रुष्ट छ । वडा कार्यालय चिसापानीको तालाबन्दीमा डम्बर्खुशिवालय वडाध्यक्ष बिदुरमान राईको समेत संलग्नता रहेको भन्दै गठबन्धन पक्षले विरोध जनाइरहेका छन् ।

३१ असारमा बसेको गाउँ कार्यपालिकाको बैठकले गाउँपालिकाको बजेटबाट तलब भुक्तानी हुनेगरी सम्झौता भएका गाउँपालिकामा कार्यरत सबै तहका करारका कर्मचारी, सामुदायीक स्वास्थ्य इकाईमा कार्यरत करारका स्वास्थ्यकर्मी, कार्यालय सहयोगी, कृषि तथा पशु शाखामा कार्यरत करारका कर्मचारी, वडा कार्यालयमा कार्यरत करार सेवाका कर्मचारी, गाउँपालिकाको पुर्ण अनुदानबाट विद्यालयमा कार्यरत शिक्षक तथा वालविकास केन्द्रका सहजकर्ताको करार म्याद थप नगर्ने निर्णय गरेको थियो । आवश्यकताका आधारमा पुन करारको कर्मचारी नियुक्त गरिने जन्तेढुंगा गाउँपालिकाका उपाध्यक्ष खेम खड्काले बताए ।

यस्तै, खोटाङका १० स्थानीय तहमध्ये दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले पनि १ असारदेखि लागु हुनेगरी करारका २९ कर्मचारीको करार अवधि थप नगर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्