पानीका मुहान संरक्षणमा स्थानीय तहको तत्परता



रामेछाप ।

खाँडादेवी गाउँपलिका वडा न. ६ ले पानीका मुहान संरक्षणमा तत्परता देखाएको छ । वडाले यस वर्ष गाउँपालिकाबाट वडालाई प्राप्त भएको बजेटबाटे वडाका सबै खाने पानीका मुहान संरक्षण गर्ने जनाएको छ ।

वडाध्यक्ष नारायण कार्कीका अनुसार वडामा जम्मा ३१ वटा खाने पानीका मुहान पहिचान भएका छन् । ती सबै मुहानको एकै साथ संरक्षणको काम गरिने छ । सबै ठाउँमा एकै खालका कुवा बनाएर मुहान संरक्षणको काम गर्ने कार्कीले बताउनु भयो । कुवासँगै साना साना पोखरी पनि बनाइने छन् । जसले पानी रिचार्जको लागि सहयोग गर्ने छ । त्यसबाट नजिकैको जग्गामा तरकारी खेती लगाउन समेत सहयोग पुग्ने कार्कीले बताउनुभयो । ‘कुवा बनाएपछि एउटा धारो त्यहाँ छाडिन्छ, बढी भएको पानी नजिकका बस्तीमा वितरणको व्यवस्था मिलाइने छ’, कार्कीले भन्नुभयो ।

सो वडाले यस वर्ष खाने पानीका सबै समस्या समाधान गर्ने गरी काम गर्ने पनि उहाँले बताउनुभयो । ‘बर्सेनि कति खानेपानीको लागि भनेर काम गर्ने ? त्यसैले सबै बस्तीको माग संकलन गरी खाने पानीको लागि बजेट छुट्याएका छौँ, यस वर्ष सबै खानेपानी योजनाको काम सम्पन्न गर्छौ, अर्को वर्षबाट खाने पानीमा थप पैसा छुट्याउनै पर्दैन’, उहाँले भन्नुभयो ।

वडा भरिका खानेपानी, सिँचाई, कृषि लगायतका कामका लागि छुट्टा छुट्टै मूल समिति बनाउने र त्यही समिति अन्तर्गत उपसमिति बनाएर योजना निर्माणका काम गरिने नयाँ योजना पनि कार्कीले सुनाउनुभयो । यसो गर्दा मूल समितिको नाममा बैँकमा खाता सञ्चालन हुने भएकोले धेरै वटा खाता पनि खोलिरहनु नपर्ने तथा समान खरिद र ढुवानीमा पनि सहज हुने उहाँले बताउनुभयो ।

यो वर्ष खानेपानीको समस्या समाधान गरेपछि अर्को वर्ष अर्को क्षेत्रमा हात हाल्ने कार्कीको सोच छ । सिँचाइको लागि साना साना साना पानीका ट्याङ्की बनाइने कार्कीले बताउनुभयो । ठुला ट्याङ्की बनाउँदा धसिने र फुट्ने डर भएकोले साना साना बनाउन लागेको उहाँले सुनाउनुभयो ।

स्थानीयको आवश्यकता र मागको आधारमा वडा कार्यालयले विकास निर्माणका कामलाई क्रमशः अघि बढाउने कार्कीले बताउनुभयो । पाँच वर्ष भित्र नागरिकका आधारभूत आवश्यकता पूरा गर्ने गरी काम गर्ने उहाँको योजना छ ।

 

 

प्रतिक्रिया दिनुहोस्