राजनीतिक व्यवसायीको भ्रमणले पकाएको खिचडी



मानवजीवनको इतिहासदेखि वर्तमानसम्म आइपुग्दा मानवजातिले अथाह तरक्की गरेकोमा कुनै सन्देह छैन । यो भन्दा पनि अझ बढी तरक्की गर्ने प्रयास अझै जारी छ । तथापि कतिपय ऐतिहासिक कालखण्डमा मानवकै रूपमा जन्म लिएर शासकको रूपमा परिणत भएका कतिपय शासकहरूले आ–आफ्ना स्वार्थपूर्तिका लागि थुपै्र मानव संहारमा प्रत्यक्ष वा अप्रत्यक्षरूपमा सहभागी हुन पुगेको कहाली लाग्दो इतिहास पनि जनजनको सामुन्ने कहिलेकाहीँ जिस्केर खडा भइदिन्छ ।

छिमेकी ठूला दुई राष्ट्रलाई नेपालको तर्फबाट कुनै पनि बहाना वा आवरणमा कतै समस्या छैन भन्ने कुरा जगजाहेर छ । यति हुँदाहुँदै किन पटक–पटक सानो देशले सास्ती भोगिरहनुपर्ने हो ? जन–जनमा उठेको यो आक्रोशलाई सही अर्थमा समस्याको चुरो के हो भन्ने कुरा सम्बन्धित सरोकारवालाहरूले अवगत गराउनु र यस्ता विषयमा पुनः समस्या नदोहोरिने गरी समस्या समाधान गर्नु सबैको हितमा हुन्छ भनेर जनजन कुल्र्याकुल्र्यै छन् । जति कुर्ले पनि ती कुर्लाइहरुले राजनीतिक व्यवसायीहरुमा झीनो असर पनि गर्न सकेन, जसको कारण सीमाभन्दा बाहिर पुगेर भए पनि यस्तै खाले कार्यमा लाग्न राजनीतिक व्यवसायीहरु दत्तचित्त परिरहे ।

मानवलाई आफ्नो जीवनकालभरि शान्तिसँग जीवन निर्वाह गर्न पनि कमसे कम केही न केही आधारभूत आवश्यकताको अनिवार्य विनारोकटोक परिपूर्ति हुनै पर्दछ भन्ने सवालमा विश्व जनमत एक हुन पुगेकोमा कतै विमति छैन । ती आवश्यकताहरु भनेका कम्तीमा पेटभर खान पाउनुपर्ने, आङ ढाक्ने वस्त्र हुनै पर्ने र रात्रि अवस्थाको लागि सुरक्षित बासस्थान हुनै पर्ने हुन् । यति सामान्य कुराको अभावमा विश्वका थुप्रै मानवहरु अभैm भौँतारिरहेको र संघर्षमा पौंठेजोरी खेलिरहेको अवस्था सबैका आँखा सामुन्ने छर्लंग छ ।

संसारमा जति पनि उपलब्ध प्राकृतिक स्रोतहरूलगायत मानव सिर्जित स्रोत र साधनहरू छन्, ती सबैमा सरल र सहज पहँुच मानव जातिकै हो । जति–जति मानवको संख्यामा वृद्धि हँुदै गयो त्यति–त्यति साधन र स्रोतहरूमा कब्जा जमाउन खोज्ने होडबाजीको शुरूवात थरी–थरीका शासकहरुमा जन्म हुन पुग्यो अनि वर्तमान अवस्थासम्म आइपुग्दा यसले विकराल रूपधारण गरिसकेको छ । त्यस क्रमको निरन्तरता जारी नै रहेको छ ।

शक्तिशाली राष्ट्रहरूको प्रतिस्पर्धाले संसारका प्रत्येक जनलाई चिन्तामा डुबाइदिएको छ । संसारका महत्वपूर्ण विविध स्रोतहरूमा कसको पकड कहाँ हुने, यसैको रस्साकस्सीमा कमजोर र साना राष्ट्रहरू सदैव पिल्सिँदै आएका छन् । हाम्रा देशका राजनीतिक व्यवसायीहरूको अदूरदर्शिताले नेपाल पनि पिल्साइएका कमजोर राष्ट्रहरूमध्ये एउटा राष्ट्र बन्न पुगेको छ । देशको सही धरातल यही नै हो । विशेष गरी कमजोर तथा अविकसित देशहरूमा शक्तिशाली कहलिएका देशहरूको डर लाग्दो कुदृष्टिबाट सम्बन्धित देशका जनजनहरू मुक्त हुन सकेका छैनन् । समय–समयमा हुने र भैरहने हस्तक्षेपका कारणले नै प्रथम र द्वितीय विश्वयुद्ध संसारले भोगिसकेको छ ।

पछिल्लो रुस र युक्रेनबीचको लडाइँले कतै तेस्रो विश्वयुद्धको शुरुवात त हुने होइन भन्ने त्रास विश्व जनहरुमा छाएको छ । अवस्था यहाँसम्म पुगिसक्यो कि टाढा–टाढाका शक्तिशाली देशहरूले कमजोर शासन प्रणाली र कमजोर आर्थिक अवस्थामा रहेका देशलाई आपूmखुशी खेलाउने वा उनीहरूको स्रोतमा कब्जा जमाउने प्रयास आफ्नो ठाउँमा छुट्टै रहेको त सर्वविदितै छ । त्यसबाहेक पनि आफ्ना घनिष्ट छिमेकी मित्र राष्ट्र मात्र होइन एक देशका जनतालाई अप्ठ्यारो पर्दा अर्का देशको जनताको आँखा रसाउने सम्बन्ध कायम भएका देशहरुमा समेत आफ्नो शक्तिको होड र घमण्डमा चुर भएर अनाहक पीडा दिने कार्यमा अभैm सुधार आउन सकेको छैन ।

राजनीति र कूटनीति लफडाबाजी गर्नु र देखाउनु अनि सुध्रिन्छ, सुध्रिसक्यो भनेर भ्रम छरिरहनु छुट्टै कुरा हो । जबसम्म कमजोर बनाइएका राष्ट्रहरूले ढुलमुले नीतिलाई मात्र अवलम्बन गरिरहन्छन् तबसम्म मिचाहा राष्ट्रहरूको मिचाहा प्रवृत्ति कायम रहिरहन्छ । हाम्रो देश विगतदेखि यसको ज्वलन्त उदाहरण बनिरहेको छ ।भर्खरै सत्र हजार नागरिकको रगतमाथि खेलबाड गरेर जग हँसाइरहेको आरोप खेपिरहेका प्रचण्ड अनि वर्तमान प्रधानमन्त्रीकी पत्नी आरजु देउवाको भारत भ्रमणको व्यापक चर्चा–परिचर्चाहरु भैरहेका छन् ।

भर्खरै भएको चीनका नेताहरुको भ्रमण र त्यसकै लगत्तै नेपालका राजनीतिक व्यवसायीका सदस्यहरुको भारत भ्रमणमा जे–जति खिचडी पाके र पकाइए पनि जनजनको मनमा त्रासले घर गरेको छ । राजनीतिक व्यवसायीहरुले राष्ट्रको हितमा छलफल भएका छन् र वर्तमानमा बिग्रेको नेपालको छवि अब सुधारिन्छ भन्ने कुरामा जतिसुकै चिच्याएर कराए पनि जनहरुले एकसुकाको जति पनि विश्वास गरेका छैनन् । देशका राजनीतिक व्यवसायीहरुले गरेका प्रायः भ्रमणहरु आफू कसरी सत्तामा पुग्ने र सत्तामा पु¥याउन सहयोग माग्नमै केन्द्रित छन्-हुन्छन् भन्ने कुरामा कतै विमति देखिँदैन । विदेशबाट यो वा त्यो नाउँमा भ्रमणमा अएका विदेशीहरुको काम देशका राजनीतिक व्यवसायीहरुलाई आफ्नो मुठ्ठीमा कसरी राख्न सकिन्छ र आाफूले भनेको कुरा कसरी लाद्न र मनाउन सकिन्छ भन्ने कुरादेखि बाहेक अरु विषयमा सामान्य छलफल पनि हुँदैन ।

यता केही दशकदेखि मित्रताको आधारमै छलफल भएको भन्ने कुरा दुई छिमेकीहरुले जति विषयान्तर गर्न खोजे पनि यी कुराहरु कुनै पनि जन मान्न तयार छैनन् । समय निश्चित भएर पनि मोदीले प्रचण्डलाई नभेट्नु, सामान्यरुपमा रात्रिकालीन लुगामा विदेशमन्त्रीले भेट्नु, सामान्य कार्यकर्ताको तहबाट देशको पूर्वप्रधानमन्त्री भैसकेका व्यक्तिलाई स्वागत गर्नु कुनै नौलो कुरा त थिएन नै । भर्खरै कान्तिपुरमा दिएको अन्र्तवार्ताको सारांशले पनि यसै कुरालाई इंगित गर्दछ । मोदीले समय दिएर पनि नभेट्नुको कारण आफूलाई थाहा नभएको कुरा जनाउनुले पनि नेपालका राजनीतिक व्यवसायीहरुको स्तर कतिसम्म खस्किसकेको रहेछ भन्ने कुरा खोज्न अब दुलो–दुलो भौंतारिनुपर्दैन । मोदी आफ्नो देशमा जमेर शासन गर्ने हैसियत बनाएर शासन गरिरहेका छन् ।

विश्व हल्लाउने सामथ्र्य राख्छन् उनी । प्रचण्ड, ओली, शेरबहादुर, माधवकुमार, झलनाथ, बाबुरामजस्ता दश–दशजना चारैतिर बसी मोदी एक्लै बसेर छलफल गर्ने हो भने पनि सबैलाई थाङ्नामा सुताइदिन सक्छन् । त्यस्तो स्थिति देखा पर्नु भनेको कतिपय अयोग्य पात्रहरुले देशको शासन बागडोर आफ्नो हातमा लिएको कारण हो भने कतिपय योग्य पात्र भएर पनि स्वार्थ र लोभमा फसेको कारण यस्तो हुन पुगेको हो । मोदीको हैयिसतमा रहन वा त्यही हैसियत बनाउन वर्तमानमा रहेका हाम्रा कुनै पनि राजनीतिक व्यवसायीहरुबाट तत्काल सम्भव छँदै छैन । आगामी हुने संसद र प्रदेशको निर्वाचनले त्यो हैसियत राख्न सक्ने नेता जन्माएछ भने बेग्लै कुरा ।

संवादबाट समस्या सुल्झाउनु विशिष्ट परिपक्व नीति हो तर संवादमा स्वार्थ घुसाएर समस्या सुल्झाउने नाउँमा आफ्नो स्वार्थ सिद्ध गर्न खोज्नु देश र जनजनको लागि ठूलो धोका हो । संवादको नाउँमा स्वार्थ घुसेको अवस्था देखा पर्न गयो भने ढिलो–चाँडो जनजनको कोपभाजन बन्नुपर्ने कुरालाई सम्बन्धित सरोकारवालाहरूले हृदयंगम गर्नु उपयुक्त ठहरिनेछ । तथापि छिमेकी सँधियार देशहरूको बारेमा भन्नुपर्दा दुवै देशले नेपाललाई सदैव यो वा त्यो नाउँमा शंकाको दृष्टिले हेर्ने अवधारणालाई त्याग्न किन नसकेको हो ? यसको उत्तर न त हाम्रा शासकले दिन्छन्, न त छिमेकी मित्र राष्ट्रले नै प्रस्ट पार्न चाहन्छन् ।

जब छिमेकी ठूला दुई राष्ट्रहरु भारत र चीनलाई नेपालको तर्फबाट कुनै पनि बहाना वा आवरणमा कतै समस्या छैन भन्ने कुरा जगजाहेर हुँदाहुँदै पनि किन पटक–पटक सानो देशले यही बहानामा सास्ती भोगिरहनुपर्ने हो ? जनजनमा उठेको यो आक्रोशलाई सही अर्थमा समस्याको चुरो के हो भन्ने कुरा सम्बन्धित सरोकारवालाहरूले अवगत गराउनु र यस्ता विषयमा पुनः समस्या नदोहोरिने गरी समाधान गर्नु सबैको हितमा हुन्छ ।कुनै पनि राष्ट्रका वर्तमान वा पूर्वराष्ट्राध्यक्ष वा पूर्वसरकार प्रमुखहरूको आफ्नो सीमा टाँसिएको छिमेकी देशहरुको भ्रमण हुनु नितान्त स्वागतयोग्य कुरा हो । यसरी गरिने भ्रमणहरूले तुषारापात भैरहेको आपसी सम्बन्धमा निखार ल्याउने कार्य गर्दछ भन्ने मान्यता राखिन्छ ।

के कुरामा पक्कै विमति छैन भने, विशेष गरेर चीनभन्दा पनि नेपाल र भारत दुवै देशका जनताबीच धेरै विषयहरु र मुद्दाहरू समान छन् । राजनीतिक मुद्दाहरू फरक हुन सक्लान्, तथापि दुवै देशका जनतासँग सम्बन्धित सम्बोधन गर्नुपर्ने साझा विषयहरू थुप्रै छन् । यति हुँदाहुँदै पनि जहिल्यै पनि राजनीतिक परिदृश्यको माध्यमबाट छिमेकी मुलुक भारतले नेपालप्रति हेर्ने दृष्टिकोणमा प्रायः हेपाहा प्रवृत्ति अपनाएको देखिन्छ । यस मानेमा जसले जे भने पनि कहिलेकाहीँ आफ्नो रणनीति र स्वार्थवश अपवादको रूपमा परिवर्तन आएको हो कि भन्ने सामान्य अनुभूति प्राप्त गर्ने सवालमा कहिलेकाहीँ सकारात्मक देखिने वक्तव्य र व्यवहारदेखिबाहेक हृदयदेखि नै सम्बन्ध सुदृढ हुन सकिरहेको छैन ।

छिमेकीका रूपमा रहेका दुवै देशका साझा मुद्दालाई एक–अर्काका मनमा कत्ति पनि क्लेश नराखी यथार्थरूपमा सम्बोधन गर्ने प्रयास गरिन्छ र सम्बोधनका क्रममा बेला–बेलामा बाचा गरिएका एवं प्रतिबद्धता जनाइएका विषयहरूलाई इमानदारीपूर्वक व्यवहारमा उतारिन्छ भने त्यति बेला दुई छिमेकी देशको सम्बन्ध सुदृढ भएको मानिन्छ । दुई देशको सुदृढीकरणका लागि यो मान्यतालाई दुवै देशले अंगिकार गर्नै पर्छ । ठूला छिमेकीहरुले त यसमा जति लचिलो हुन सक्यो त्यत्ति नै गाढा मित्रताले स्थान ओगट्छ ।

एकातिर नेपाल–भारत सम्बन्धमा भएका थुप्रै समझदारी कार्यान्वयनमा नआएका थुप्रै उदाहरण छन् भने अर्कातिर कहिले नाकाबन्दीको विवाद, कहिले सीमामा विवाद त कहिले सीमाको पिलरमा हुने विवाद दैनिक दालभात खाएजस्तो भएको छ । जबसम्म यी विषयमा आ–आफ्नो तर्पmबाट आत्मशुद्धिको प्रयास गरिँदैन, तबसम्म अन्य गन्थनहरुले सम्बन्ध सुधारोन्मुखको बाटोलाई पहिल्याउन कठिन नै हुन्छ ।
(लेखक मैनाली अधिवक्ता हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्