गठबन्धनको नाममा निरन्तर कांग्रेसको बलजफ्ती स्वीकार्य छैन : नारायणकाजी श्रेष्ठ

0
Shares

काठमाडौँ।

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले गठबन्धनको नाममा कांग्रेसको निरन्तरको बलजफ्ती स्वीकार्य हुन नसक्ने बताएका छन्। नागरिकता विधेयक र एमसीसी पारित सम्बन्धमा माओवादी केन्द्रले पार्टीको अडान विपरीत कांग्रेसलाई साथ दिएको भन्दै श्रेष्ठले गठबन्धनको नाममा कांग्रेसको निरन्तरको बलजफ्ती स्वीकार्य हुन नसक्ने बताएका हुन्।

‘नेपाली कांग्रेसले गठबन्धनको नाममा निरन्तरको बलजफ्ती हामीलाई सधैं स्वीकार्य हुन सक्दैन भन्ने कुरा समयमै बुझोस्। हाम्रो पार्टीले गठबन्धन र सरकारको नाममा सबै राष्ट्रिय मुद्दाहरुमा सम्झौता हुन सक्तैन भनेर गम्भीरतापूर्वक सोच्नैपर्ने भएको छ। श्रेष्ठले सामाजिक सञ्जालमा लेखेका छन्, गठबन्धन सरकार र भोट हाम्रो साध्य होइन।’

श्रेष्ठले नागरिकता विधेयक पारित गर्दा जुन प्रक्रिया अपनाइयो र वैवाहिक अंगीकृत नागरिकताको हकमा जे व्यवस्था गरियो, त्यो दुवै कोणबाट गलत ठहर गरेका छन्। उनले राज्य व्यवस्था समितिले बहुमतबाट पारित गरेको नागरिक विधेयकको तत्कालीन प्रतिवेदनलाई नै अगाडि बढाउनुपर्नेमा त्यसो नगरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

नेता श्रेष्ठले एमसीसीको विषयलाई पनि यस सन्दर्भसँग जोडेका छन्। ‘हाम्रो पार्टीले एमसीसीलाई राष्ट्रिय हित अनुरुप ठान्दैन, तर गठबन्धन सरकारको कारणले पार्टीभित्र मतभेदको बीचमा बाध्यात्मक रुपमा १२ बुँदे ब्याख्यात्मक घोषणासहित अनुमोदन गर्यो। अहिले फेरि नागरिकताको विषयमा समितिको धारणा नै हाम्रो धारणा हुँदाहुँदै पनि सरकारको विधेयकलाई पारित गर्ने निर्णय भयो। एसपीपीको बारेमा अस्वीकारको पत्र सरकारले पठाएको छैन। उनले भनेका छन्, के हामी गठबन्धनको नाममा पत्र नपठाउने कार्य सरकारले गरिरह्यो भने त्यसलाई पनि बाध्यात्मक समर्थन गर्न सक्छौं त?’