पर्वतमा दुई जनामा डेंगु संक्रमण



पर्वत । पर्वतमा दुई जना बिरामीमा डेंगुको संक्रमण पुष्टि भएको छ  । उपचारका लागि आएका दुई बिरामीमा डेंगुको लक्षण भेटिएको पर्वत अस्पतालले पुष्टि गरेको हो ।

अस्पतालका सूचना अधिकारी लक्ष्मण उपाध्यायका अनुसार कुश्मा नगरपालिकाभित्र बसोबास गर्ने १९ वर्षीया महिला र ५० वर्षीय पुरुषमा डेंगुको लक्षण फेला परेको छ ।

स्वास्थ्यमा समस्या भएपछि परीक्षणका लागि आएका बिरामीमध्ये शंका लागेर परीक्षण गर्दा दुई जनामा डेंगुको संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । पर्वतमा डेंगुको संक्रमण ३ वर्षयताको पहिलो हो । तीन वर्षअघि पर्वतका एक जनामा डेंगुको संक्रमण पहिलोपटक देखिएको थियो ।

ज्वरो आएपछि करिब एक सातासम्म घरमै आराम गरिरहेको र निको नभएपछि पर्वत अस्पतालमा उपचारका लागि आएका उनीहरुमा डेंगुको आशंकामा स्वास्थ्यकर्मीले प्रयोगशालामा रगत परीक्षण गरेका थिए ।

ज्वरो आएका करिब ६० बिरामीको रगत परीक्षण गरिएकोमा उनीहरुमा मात्रै डेंगुको लक्षण भेटिएको अस्पतालका ल्याव टेक्निसियन अमृत पौडेलले पुष्टि गरे । संक्रमण पुष्टि भएका दुवै जनाको पर्वत अस्पतालमै उपचार भइरहेको छ ।

स्वास्थ्य कार्यालय पर्वतका निमित्त प्रमुख सन्तोष पौडेलले अस्पतालको ल्याबमा गरिएको परीक्षणबाट दुई जनामा संक्रमण पुष्टि भएको जनाउँदै अब पर्वतमा पनि सचेत हुन आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्