करार कर्मचारीको म्याद थप नगरेपछि कांग्रेसद्वारा गाउँपालिकाको कार्यालयमा तालाबन्दी

५७ जना कर्मचारीको पुनः म्याद थप

0
Shares

सिन्धुली । प्रमुख सत्ताझेदार दल नेपाली काग्रेसनिकट करार कर्मचारीहरूको म्याद थप नगरेपछि गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ । जिल्लाको गोलन्जोर गाउँपालिकामा कार्यरत करार कर्मचारीहरूको म्याद थप नरिएपछि उक्त गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरिएको हो ।

गत आर्थिक वर्ष २०७८/७९ मा भर्ना गरिएका करार कर्मचारीको समायावधि सकिएको छ । नयाँ आर्थिक वर्ष २०७९/८० मा उक्त गाउँपालिकाले पुनः म्याद थप नगरेपछि पालिकाको कार्यालयमा कांग्रेसले तालाबन्दी गरेको हो ।

करार अवधिका लागि भर्ना गरिएका अधिकांश कर्मचारीले राम्रोसँग कार्यसम्पादन नगरेको भन्दै गोलन्जोर गाउँपालिकाले २५ जना करारका कर्मचाको म्याद थप गरेको छैन । यी बाहेक अन्य ५७ जना करार कर्मचारीको भने गाउँपालिकाले करार अवधिको लागि पुनः म्याद थप गरेको छ ।

तर, गाउँपालिकाले २५ जना कर्मचारीको म्याद थप नगरेपछि कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि र नेताहरूले गत साउन १ गतेदेखि पालिकामा धर्ना दिँदै आएका थिए । उनीहरूले म्याद थप नगरिएका कर्मचारीको तत्काल बिनासर्त म्याद थप गर्नुपर्ने भन्दै गाउँपालिकाको कार्यालयमा ताला लगाएको गोलन्जोर गाउँपालिका-२ का वडाअध्यक्ष दौलत कार्कीले बताए ।

कर्मचारीहरुको म्याद थप गर्न माग राख्दै गाउँपालिका अध्यक्ष सहितको सर्वपक्षिय बैठक बस्दा पनि कुनै निष्कर्ष ननिस्किएपछि बिहीवारदेखि ताल लगाईएको वडाअध्यक्ष कार्कीले बताए । कार्यपालिकाका सदस्यहरूलाई कुनै जानकारी नै नदिइ पालिका अध्यक्ष र प्रमुख प्रशासकिय अधिकृतले पुर्वाग्राही ढंगबाट करार कर्मचारी हटाउने षडयन्त्र भईरहेको छ । यस्तो गतल कामको नेपाली काग्रेस र हाम्रो गम्भिर आपत्ति छ । गाउँपालिकाले तत्काल २५ जनाकै म्याद थप गर्नुपर्छ । म्याद थप नभएसम्म तालबन्दी भईरहन्छ,’ वडाअध्यक्ष कार्कीले भने ।

कार्कीले गाउँपालिका अध्यक्ष शंकर बराल मनोमानी ढंगले चल्न थालेको समेत आरोप लगाए । गाउँपालिका अध्यक्ष शंकर बरालले भने कार्यसम्पादन र मुल्यांकनमा राम्रो नदेखिएका कर्मचारीको म्याद थप नगर्ने गिकिर गरे ।

यस अघिको निर्वाचन (२०७४)मा काग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्ष पुष्प कार्कीले आफ्ना कार्यकर्तालाई अनावश्यक रुपमा भर्ना गरी तलब भत्ता खुवाई रहेको पाईएकाले कार्यसम्पादन मुल्यांकन राम्रो नभएका कर्मचारीलाई हटाउने निर्णय गरिएको अध्यक्ष बरालले बताए ।

‘प्रमुख प्रशासकिय अधिकृतको नेतृत्वमा रहेको छानबिन समितिले नै कार्यसम्पादन र मुल्यांकन गर्दा केही कर्मचारीको कार्यसम्पादन राम्रो नपाइएपछि उनीहरूको म्याद थप नगरिएको हो । तलब भत्ता खुवाउनका लागि मात्रै कर्मचारी राख्ने होईन,’ अध्यक्ष बरालले भने ।

गाउँपालिका अध्यक्ष बरालले कांग्रेससँग छलफल भईरहेकाले छिट्टै निकास निस्कने बताए । गोलन्जोर गाउँपालिकाका अध्यक्ष शंकर बराल नेकपा (एमाले)बाट, उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित भएका छन् भने ३ वटा वडाका वडाअध्यक्षसहित बहुमत कार्यपालिका सदस्य कांग्रेसले जितेको छ ।

हिजो (बिहीबार) काग्रेस र सो पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुले गोलन्जोर गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् । कार्यालयमा तालाबन्दी भएपछि स्थानीयबासीहरू सेवा लिनबाट बञ्चित भएका छन् । त्यस्तै स्थानीय सरकारका लागि केन्द्र र प्रदेश सरकारबाट प्राप्त हुने आवश्यक सूचना र जानकारी पनि पालिकाले लिन सकेको छैन ।