सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको अभियोगमा पक्राउ

0
Shares

काठमाडौं।

सामाजिक सञ्जालमा तेश्रो लिङ्गीको तस्विर र महिलाको सम्पर्क विवरण समेत उल्लेख गरी चरित्र हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–६ बौद्ध बस्ने काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–५ का इनड्राईभरका ट्याक्सी चालक २४ वर्षीय कर्म वाङ सिङ लामा रहेका छन् । उनलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानको क्रममा कर्मले सामाजिक सञ्जाल फेसबुकमा फेक एकाउन्टमार्फत पीडितको तस्विर अपलोड गरी पीडितका साथीहरूसँग पैसा समेत माग्ने गरेको खुलेको प्रहरीले जनाएको छ ।

सोही फेक एकाउन्ट प्रयोग गरी स्टडी म्याटिरियल नामक म्यासेन्जर ग्रुपमा अर्की पीडित महिलाको पेशा देह व्यापार हो भन्ने आशयका शब्दहरू पोष्ट गरेको समेत खुल्न आएको छ ।

पीडित महिलाले इनड्राईभर नामक राइडर एप्लिकेसन प्रयोग गर्ने क्रममा दिएको नाम, ठेगाना र मोवाइल नम्बर सहितको विवरणको दुरुपयोग गरी पोर्न साइटमा समेत कर्मले पीडितको व्यक्तिगत विवरण सेयर गरेको खुल्न आएको छ ।

पीडितहरूलाई ब्यक्तिगत र सामाजिक रुपमा मानसिक तनाव, दुःख, हैरानी दिई बदनाम गराई चरित्र हत्या गर्ने कार्यमा संलग्न कर्मलाई नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनी उपर विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा मुद्दा दर्ता गरिएको छ । जिल्ला अदालत काठमाडौँबाट ५ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।