ब्रेसवेलको दुर्लभ कीर्तिमान

0
Shares

लन्डन, (एजेन्सी) । 

न्युजिल्यान्डका बलर माइकल ब्रेसवेलले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नयाँ कीर्तिमान बनाएका छन् । ब्रेसवेलले टी–२० करियरको पहिलो ओभरमै हेट्रिक लिएका हुन् । उनी यो छोटो फरम्याटमा यस्तो उपलब्धि हासिल गर्ने विश्वका पहिलो बलर भएका छन् ।

हुन त बे्रेसवेलले टी–२० मा दुई खेल खेलिसकेका छन् । तर, बलिङ भने गरेका थिएनन् । आयरल्यान्डविरुद्ध बलिङ गर्दा उनले पहिलो ओभरमै विकेट लिए । उनले ५ बलमा ५ रन दिएर ३ विकेट हासिल गरेका हुन् । १३.२ ओभरसम्म ७ विकेटका लागि ९१ रन बनाएको आयरल्यान्डको पूरै टोली यसै ओभरमा अलआउट भयो । योसँगै न्युजिल्यान्ड ३ खेलको टी–२० सिरिज जित्न सफल भएको छ ।

ब्रेसवेलकोले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पनि शानदार प्रदर्शन दर्शाइसकेका छन् । उनले आयरल्यान्डविरुद्धको वानडे सिरिजअन्तर्गत पहिलो खेलमा १ सय २७ रनको नटआउट इनिङ खेले । उनले अन्तिम र ५०औं ओभरमा ५ छक्का प्रहार गरेर टोलीलाई जित दिलाएका थिए । जबकी टोलीको लागि अन्तिम ६ बलमा २० रनको आवश्यक थियो ।

टी–२० मा हेट्रिक

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्म ३५ बलरले हेट्रिक गरिसकेका छन् । यसमा श्रीलंकाबाट सबैभन्दा बढी ४ जना बलरले हेट्रिक गरेका छन् । उनीहरू परेरा, लासिथ मालिंगा, धनंजया र डिसिल्भा हुन् । यसमध्ये मालिंगाले दुईपटक यो उपलब्धि हात पारेका थिए । उनी अहिले अन्तर्राष्ट्रिय क्रिकेटबाट टाढा भइसकेका छन् ।

२०२१–२२ को सिजनमा सबैभन्दा १० हेट्रिक आएको थियो । जारी सिजनमा भने ७ हेट्रिक आइसकेको छ । टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो हेट्रिक गर्ने बलर अस्टे«लियाका फास्ट बलर ब्रेट ली हुन् । लीले २००७ को टी २० विश्वकपमा बंगलादेशविरुद्ध लगातार तीन बलमा विकेट लिएर हेट्रिक पूरा गरेका थिए ।