अस्पतालको टिकट अब मोबाइलबाट


हेटौंडा।

हेटौंडा अस्पतालको ओपीडी टिकट अब मोबाइल एपबाट काट्न सकिने भएको छ । बिमाबाहेक अस्पतालको ओपीडी टिकट मोबाइलबाट काट्न सकिने भएको हो ।

हेटौंडाका सचेत युवाहरुले अस्पतालको सेवासुधारका लागि आवाज उठाएपछि हेटौंडा अस्पतालले क्रमशः सुधार गर्दै लाने प्रतिवद्धताअनुरुप आइतबारदेखि मोबाइल एपबाट टिकट लिन सकिने व्यवस्था गरेको हो ।

सेवाग्राहीहरु घण्टौं लाइनमा बसेर टिकट काउन्टरबाट टिकट काट्नुपर्ने बाध्यता हट्ने भएपछि युवाहरुले उठाएको आवाजले सार्थकता पाउँदै गएको सचेत युवा दीपेन्द्रचन्द ठकुरीले बताउनुभयो ।

बिमाबाहेकका बिरामीले मोबाइलबाट आफूलाई चाहिने चिकित्सकको ओपीडी समय लिन सक्नेछन् । त्यसका लागि हेटौंडा हस्पिटल एप डाउनलोड गर्नुपर्नेछ । बिमाका बिरामीको हकमा पनि यो सुविधा केही दिनपछि लागू गरिने अस्पतालले जनाएको छ ।

सेवाबारे नागरिकलाई बुझाउन अस्पतालपरिसरमा हेल्पडेस्क स्थापना गरिएको छ । बिरामी र बिरामीका आफन्तलाई अनलाइनबाट टिकट कसरी काट्ने र शुल्क कसरी पैसा तिर्ने भन्ने सिकाउन डेस्क राखिएको अस्पतालले जनाएको छ ।