आर्थिक विकासका लागि नेपालमा युवा रोजगारीको अवसर सिर्जना गर्नुपर्छ

0
Shares

काठमाडौँ।

दायित्वले युवा रोजगारीको विषयमा इको टल्क्स’ श्रृंखला अन्तर्गतको दोस्रो नीति संवाद सम्पन्न गरेको छ । यस संवादले सांसद तथा पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री एवं पूर्व उर्जा मन्त्री गोकर्ण बिष्टलाई नीति अभिभावकका रुपमा प्रस्तुत गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव जिवलाल भुषाल, नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चका अध्यक्ष्य एवं सस्तो डिल प्रा.ली.का संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत अमुन थापा, श्रीनगर एग्रो ग्रुपका निर्देशक मौसुमी श्रेष्ठ र नीति अनुसन्धान प्रतिष्ठानका, सिनियर रिसर्च फेलो डा.कल्पना खनाल रहेको संवादको प्यानलले युवा जनशक्ति परिचालनका चुनौति र नवप्रवर्तक तरिकाहरु पहिचान गर्दै नेपालमा युवा श्रमशक्तिलाई कायम राख्न रोजगारीका अवसरहरू सिर्जना गर्न संसदीय कदम चाल्नको लागि नीतिगत सुझावहरु दिएको थियो ।

उद्यम सम्बन्धी नीतिहरूको योजना र कार्यान्वयनबीचको खाडललाई सम्बोधन गर्ने आवश्यकता; सरकारको उचित नीति र विज्ञताको अभावले स्टार्टअप र नवप्रवर्तनकारी उद्योग जगतले भोग्नुपरेको चुनौतीहरु; रेमिट्यान्समा र व्यापारमा आधारित अर्थतन्त्रबाट उत्पादनमा आधारित अर्थतन्त्र तर्फ लाग्नुपर्ने अत्यावश्यकता; युवा श्रमशक्तिलाई कायम राख्न नेपालमा जीवनयापनको लागत घटाउने महत्व र उद्योगको आवश्यकता र हाम्रो शैक्षिक संस्थाले सीपहरूबीचको अन्तर जस्ता मुख्य मुद्दाहरुबारे गहन छलफल गरिएको थियो ।

कार्यक्रमले नीति निर्माता, नागरिक समाज संस्था, निजी क्षेत्रका अगुवा, पत्रकार लगायत ६० भन्दा बढी व्यक्तिहरुका बिच संवाद गरेको थियो । यस ‘ईको टल्कस’ श्रृंखलाका सबै संवादमा नीति क्षेत्रको ३ सरोकारवालाहरु ( नीति लाभार्थी, नीति आलोचक, तथा नीति कार्यान्वयनकर्ता) प्यानलिस्ट हुनेछन् भने युवा सांसदहरु नीति प्रवर्द्धकका रुपमा प्रमुख सिकाई तथा सुझावहरुलाई लिएर अघि बढ्ने बताईयो ।

कार्यक्रममा गोकर्ण विष्टले नेपालको नीतिगत समस्यालाई अब नवप्रवर्तक तरिकाले सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो । “नेपालको विकासबारे छलफल गर्दा मानव संसाधन र मानव पुँजी सबैभन्दा महत्त्वपूर्ण कुरा हो । दुर्भाग्यवश, सरकारसँग यकिन तथ्यांक छैन तर वैदेशिक रोजगारीको खोजीमा नेपालबाट गएको श्रमशक्तिको औसत अनुमान ६० लाखभन्दा बढी छ । नेपालमा युवा श्रमशक्तिलाई टिकाउने एक मात्र उपाय देशभित्रै दिगो रोजगारीका अवसरहरू सिर्जना गर्नु हो । तर, जबसम्म हामीले व्यापारभन्दा उत्पादनलाई प्राथमिकतामा राख्दैनौँ, तबसम्म यो समस्या समाधान हुँदैन”,विष्टले भन्नुभयो ।

त्यस्तै, अर्थ मन्त्रालयका उपसचिव निर्मल ढकालले भन्नुभयो, “विदेश जाने युवा श्रमशक्तिलाई नेपालमा राख्न नसक्नुको मुख्य कारण महंगो जीवनयापन नै हो । हामीले विदेश पलायन भएका युवा जनशक्ति फिर्ता ल्याउन नसक्ने र त्यसको कारण भनेको अन्य देशको तुलनामा नेपालमा दैनिक जीवनयापनको लागत अत्यन्तै बढी रहनु हो । यस समस्यालाई समाधान नगरेसम्म हामीले देशमा युवा श्रमशक्तिलाई टिकाउन सक्दैनौ”।

“नेपालको आर्थिक अवस्था तिव्र रुपमा खस्किदै गएको बेला युवाहरु भने राम्रो अवसरको खोजीमा विदेशीने क्रम बढ्दो छ । अबको २७ वर्षमा नेपाल एक वृद्ध राष्ट्र हुनेछ यो न्यून रोजगारीको प्रवृत्तिलाई बेलैमा सच्याइएन भने हामीले ठूलो सामाजिक र आर्थिक दलदलको सामना गर्नुपर्नेछ । हाम्रो युवाजनशक्तिलाई देशमै कसरी राख्ने र युवा उद्यमशीलता मार्फत युवा रोजगारीलाई कसरी प्रवर्द्धन गर्ने जस्ता मुख्य नीतिगत मुद्दाहरूलाई हामीले यस विशेष संवाद मार्फत सम्बोधन गर्ने प्रयास गरिरहेका छौँ”, दायित्वका अध्यक्ष डा. पुकार मल्लले भन्नुभयो ।

इको टल्क्स श्रृंखलाको दोस्रो नीति संवादले जनसांख्यिक विन्डो अवधिभरमा अधिकतम आर्थिक वृद्धिको सम्भावना हासिल गर्नका लागि युवा जनशक्ति परिचालनका नवप्रवर्तक तरिकाहरू खोजी गरी नेपालको आर्थिक वृद्धिलाई गति दिन युवा रोजगारीको प्रभावकारी अवसरहरु सिर्जना गर्न नीतिगत सिफारिसहरूका लागि बलियो आधार निर्माण गरेको दाबी गरेकोछ । संवादलाई पत्रकार रुपा खड्काले सहजीकरण गर्नु भएको थियो ।
‘ईको टल्कस’ शृङ्खलाको सुरुवात गत जुन महिनामा भएको थियो र यस अन्तर्गत थप चारवटा यस्तै संवादहरू आयोजना गरिनेछ । पहिलो संवाद महिलाहरुको आर्थिक सबलिकरणको विषयमा आधारित भएको जानकारी गराईयो ।

समयमै उचित कदम चालिएन भने नेपाल आर्थिक संकटको साक्षी हुन बाध्य हुनेछ । राष्ट्रिय आर्थिक चुनौतिहरूको समाधानका लागि परिणाममुखी राजनीतिक नेतृत्वसहित असल सार्वजनिक नीति आवश्यक छन् । तसर्थ, दायित्वले राष्ट्रको आर्थिक वृद्धिका लागि प्रमाणको आधारमा हुने नीतिगत निर्णयहरूको वकालत गर्ने र प्रवर्द्धन गर्ने उद्देश्यका साथ ‘ईको टल्कस’ श्रृंखला सुरु गरेको संस्थाले जनाएकोछ । नेपालको आर्थिक विकास सम्बन्धी प्रमुख आर्थिक नीतिका मुद्दाहरूमा सरोकारवालाहरूसँग संलग्न हुन सांसदहरुलाई सहयोग गर्नको लागि दायित्व र न्यासनल डेमोक्रेटिक इन्सटिच्युटको सहकार्यमा ‘इको टल्कस’ श्रृंखला सञ्चालन भइरहेको पनि जानकारी गराईयो ।

दायित्व एक गैर गैर सरकारी नेपाली संस्था हो । सन् २०१३ देखि दायित्वले नेपाल सरकारको साझेदारीमा ३० देशबाट प्रशिक्षित १ सय ४१ नेपाली युवाहरुद्वारा ५१ सरकारी संस्थाहरु र २४ सांसदहरुसँग संघीय, प्रान्तीय र स्थानीय तहमा नीति अनुसन्धान सहयोग पुर्याएको छ । साथै, दायित्वले नेपालको तीनवटा प्रदेशका ८५ वटा वृद्धिमुखी ग्रामीण उद्यमहरु (४५ महिलाद्वारा सञ्चालित) लाई द्रुतीकरण गरेको छ । यसले उद्यमीहरुलाई व्यापारमा नवप्रवर्तन ल्याउने, कम ब्याजदरमा ऋृण दिने र रोजगारीका अवसरहरु सृजना गर्ने कार्यमा पैरवी गर्दै आएको पनि जानकारी गराईयो ।