‘सैनिक नागरिक सम्बन्ध फराकिलो हुँदै छ’ : ज्योतिन्द्र

14
Shares

काभ्रे । 

जिल्लाको सबै भन्दा अग्लो स्थान ३०१८ मिटर हाइटमा नेपाली सेनाको सहयोगमा बेथान्चोक गाउँपालिकाले बुद्ध प्रतिमा निर्माण गरेको छ । सेनाको कालीजंग गण धुलिखेलको जनशक्तिले बेथान्चोक गाउँपालिका वडा नम्बर ३ स्थित चिप्लेटी डाँडामा बुद्ध प्रतिमा निर्माण गरेको हो । उक्त प्रतिमा सहितको संरचना निर्माणका लागि गाउँपालिकाले १० लाख रकम विनियोजन गरेको थियो ।

 

 

‘सैनिक र नागरिक सम्बन्ध फराकिलो बनाउन सेनाले स्थानीय सरकार तथा नागरिक समाजसँगको समन्वयमा सामाजिक सेवा गरिरहेको छ’–२६ नम्बर बाहिनी भकुन्डेका सहायक रथी ज्योतिन्द्र महतले भन्नुभयो–‘समाजबाट समाजसम्म भन्ने नाराका साथ नेपाली सेनाले समु्दायसँग कार्य गरिरहेको छ ।’

सैनिक नागरिक सम्बन्ध फराकिलो हुँदै गएको उहाँले बताउनु भयो । काभ्रेपलान्चोक जिल्लाको अग्लो स्थान बेथान्चोकलाई पर्यटकीय रूपमा अघि बढाउन सबै क्षेत्रको सहयोग आवश्यक रहेको ज्योतिन्द्र महतले बताउनु भयो । गाउँपालिका अध्यक्ष भगवान् अधिकारीले बेथान्चोक गाउँपालिकालाई समृद्ध बनाउन पर्यटन विकास प्रमुख भएको बताउनु भयो ।

बेथान्चोक नारायण स्थान मन्दिर वरपर घेरा बार लगाउँदै अन्य पूर्वाधार निर्माण गरी पर्यटकहरूका लागि आकर्षक बनाउने अभियानमा क्रियाशील रहेको बताउनु भयो । पर्यटनको विकासले मात्रै बेथान्चोक गाउँपालिकाको समृद्धि हुने गाउँपालिका अध्यक्ष भगवान् अधिकारीले बताउनु भयो । नेपाली सेनाको सहयोग र समन्वयले बेथान्चोक गाउँपालिकाको समृद्धिलाई थप सहयोग पुगेको अध्यक्ष अधिकारीले बताउनु भयो ।

कार्यक्रममा निवर्तमान अध्यक्ष गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले गाउँपालिकाको विकास र समृद्धिका लागि सुरु भएका योजनाहरूको कार्यान्वयन जरुरी रहेको बताउनु भयो । बेथान्चोक नारायण स्थानको विकास र पर्यटकहरूको आकर्षणका लागि थप संरचनाहरु निर्माण गर्नु पर्ने बताउनु भयो । विकटता रहेको बेथान्चोक नारायण स्थानलाई सुगम बनाउँदै पर्यटकहरूलाई सहज बनाउनु पर्ने तिमल्सिनाले बताउनु भयो ।

कार्यक्रममा वडा अध्यक्ष कुवेर ढकालले बेथान्चोकमा केबुलकार निर्माणका लागि अध्ययन गर्न तथा पर्यटन विकासमा गाउँपालिका र अन्य सरोकारवाला क्षेत्रको समन्वय आवश्यक रहेको बताउनु भयो । कालीजंग गण धुलिखेलका गणपति कर्णेल मिलन थापाले नेपाली सेनाले समुदाय सँगको समन्वयमा सामाजिक कार्यहरु गरिरहेको बताउनु भयो ।

सोही अवसरमा वडा अध्यक्षहरु, निवर्तमान वडा अध्यक्ष एवं पुर्व जनप्रतिनधि तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो । जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरुको पनि कार्यक्रममा सहभागी थियो । बुद्ध प्रतिमा उद्घाटनसँगै सोही क्षेत्रमा वृक्षारोपण गरिएको छ । कालीजंग गण धुलिखेलको २१८ औ वार्षिकोत्सवको अवसरमा गाउँपालिकाको समन्वयमा बुद्ध प्रतिमा निर्माण गरिएको कर्णेल मिलन थापाले बताउनु भयो ।