दासानायकेले तुरुन्तै क्यानडाको प्रस्ताव स्विकारे



काठमाडौं ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षकबाट राजीनामा दिएका पुबुदु दासानायकेले तुरुन्तै क्यानडाको प्रस्ताव स्विकार गरेका छन् । क्रिकेट क्यानडाले उनलाई मुख्य प्रशिक्षकको रूपमा नियुक्त गरेको हो । यसको पुष्टि क्रिकेट क्यानडाले आफ्नो सामाजिक सञ्जालमार्फत् जानकारी गराएको हो ।

नेपालको पछिल्लो समयको प्रदर्शन औसतभन्दा माथि उठ्न नसकेको कारणले उनले पद त्यागेको चर्चा चलेको छ । उनले नियुक्त भएको एक वर्ष नपुग्दै नेपाली क्रिकेट छाडेका छन् । तर, उनले यसमा स्पष्ट गरेका छन् कि उनी अब घरबाहिर काम गर्न नसक्ने भएका छन् । पुबुदुले बुधबार पत्रकार सम्मेलनमा बताए—घरबाट बाहिर मैले काम गर्न नसक्ने भएको छु । म क्यानडामै बसेर स्थानीय क्रिकेट हेर्नेछु ।

दासानायकेको पहिलो नेपालको नेतृत्व निकै राम्रो भएको थियो । सन् २०१४ मा सम्पन्न आईसीसी टी–२० विश्वकप क्रिकेटमा उनले नेपाली टोलीलाई छनोट गर्न सफल भएका थिए । यो नेपाली क्रिकेटको इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो उपलब्धि हो । पुबुदु सन् २०११ देखि २०१५ सम्म नेपाली टोलीका मुख्य प्रशिक्षक भएका थिए । उनको नेतृत्वमा नेपाली टोली परिपक्व र उत्कृष्ट पनि थिए । जसमा पारस खड्का, ज्ञानेन्द्र मल्ल, सरद भेषवाकर, वसन्त रेग्मी जस्ता शानदार खेलाडीले नेपाली टोलीलाई माथि उकास्न निकै मेहनत गरेका थिए । यति मात्रै होइन, अन्य खेलाडीको पनि योगदान रहेको थियो । नेपाली टोली आईसीसीको डिभिजन २ सम्म पुगेको थियो ।

तर, नेपाल क्रिकेट संघ (क्यान) भित्रको आन्तरिक झगडाले गर्दा नै सन् २०१५ मा दासानायकेले नेपाली क्रिकेट छाड्नुपरेको थियो । उनी पुनः दोस्रोपटक नेपाली टोलीसँग जुटे । उनी टोलीमा फर्केपछि टोलीले पहिले जस्तै इतिहास रच्ने आस त भएको थियो । तर, भएन । नेपाली टोलीको प्रदर्शन औसत नै रह्यो । दासानायकेको नेतृत्वमा नेपालले १४ ओडीआईमध्ये ९ मा हार र ४ मा जित हासिल ग¥यो । यो एकदमै कमजोर औसत पनि हो । यस्तै, टी–२० क्रिकेटमा १३ खेलमा १० मा जित र ३ मा हार आत्मसात गरेको छ ।

ब्याटिङ नै कमजोर

नेपाली टोली टी–२० विश्वकप पुग्न नसकेको कारण ब्याटिङ नै थियो । नेपाली टोलीले छनोट खेलमा आयरल्यान्डले प्रस्तुत गरेको १ सय २८ रनको लक्ष्य नै लिन सकेन । टोली १ सय ११ रनमै खुम्चियो । सेमिफाइनलमा यूएईसँग १ सय ७६ रनको विजयी लक्ष्य पनि लिन सकेन । नेपाली टोली १ सय ७ रनमै अलआउट भएको थियो । नेपालको लागि यो खेल जित्ने ठूलो अवसर पनि थियो र फाइनल पुगेर विश्वकपमा खेल्ने पनि मौका पनि थियो । तर, नेपाली टोलीको ब्याटिङ निकै खराब भएको थियो ।

टी–२० विश्वकप छनोटमा नेपालले ५ खेलमध्ये चार खेल जितेको थियो । त्यसपछि नेपालले युएईमा आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक ओडीआई सिरिज खेल्न गयो । युएईसँग फेरि नेपाली टोली पराजित भयो । यूएईलाई १ सय ६८ रनमा रोकेको नेपाली टोली जवाफी ब्याटिङमा १ सय २० रनमा समेटियो । यस्तै, युएईविरुद्धकै २ सय ३ रनको विजयी लक्ष्य लिन तम्सेको नेपाली टोली अझ कम योगफल १ सय ३ रनमा समेटिएको थियो । पछि घरेलु मैदानमा खेलिएका पपुवा न्युगिनीसँग दुवै ओडीआई खेलमा नेपाली टोलीले हारको सामना गर्नुपरेको थियो । जुन नतिजाले नेपालले सिरिज गुमाउनुपरेको थियो । तर, मलेसिया र पपुवा न्युगिनीसँगको त्रिकोणात्मक ओडीआई सिरिजमा भने बाँकी सबै खेलमा जित हात पारेर नेपाली टोलीले इज्जत जोगायो ।

त्यसपछि, नेपालले जिम्बावे ‘ए’ सँग तीन दिवसीय अभ्यास खेल २–१ ले जित्यो । नेपाली टोलीले जुन महिनामा अमेरिका भ्रमण ग-यो । अमेरिकामा भएको विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपाली टोलीले एक खेलमा जित, २ मा हार र एकमा टाईको नतिजा आत्मसात गरेको थियो । अभ्यास खेलमा नेपाली अल स्टार्ससँग हारेको थियो ।

यही सातामा स्कटल्यान्डमा सम्पन्न विश्वकप लिग २ मा पनि नेपाली टोलीको ब्याटिङमै समस्या यथावत रह्यो । नेपाली टोलीले स्कटल्यान्ड र नामिबियासँग खेलको दुई दुई खेलमध्ये एक खेलमा मात्रै जित सम्भव पार्न सकेको थियो । नेपालले स्कटल्यान्डलाई उसकै घरेलु मैदानमा हराएर स्कट टोलीविरुद्ध पहिलो ऐतिहासिक जित हासिल गरेको थियो । तर, दोस्रो खेलमा भने नेपाली ब्याटरहरूले स्कटल्यान्डविरुद्ध मात्र १ सय २८ रन जोड्न सकेका थिए ।

प्रतिक्रिया दिनुहोस्