पाँच जिल्लामा अनलाइनमार्फत् नामावली संकलन

0
Shares

काठमाडौं । 

निर्वाचन आयोगले बुधबारदेखि थप पाँच जिल्लामा पनि अनलाइन माध्यमबाट मतदाता नामावली संकलन गर्ने प्रबन्ध मिलाएको छ ।

फोटोसहितको मतदाता नामावली संकलनको कार्यलाई सरलीकरण गर्न अनलाइनबाट नै फाराम भर्न सकिने व्यवस्था पाँच जिल्लामा विस्तार गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो । काठमाडौं उपत्यकामा प्रारम्भिक परीक्षणको रूपमा लागु गरिएको एक साता नबित्दै आयोगले चितवन, कास्की, मोरङ, काभ्रे र झापा जिल्लामा अनलाइन मतदाता फाराम भर्ने व्यवस्था मिलाइएको हो।यो व्यवस्था मिलाइएपछि अनलाइनबाट मतदाता फारम भर्न मिल्ने जिल्लाहरूको संख्या आठ पुगेको छ ।

अनलाईनमा आधारित मतदाता नामावली दर्ता गराउने पद्धति (वेबबेस्ट भोटर लिस्ट प्रि–रजिस्ट्रेसन सिस्टम) को प्रारम्भिक परीक्षणको रूपमा असार २९ गतेदेखि काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा सञ्चालन गरिएको थियो । अनलाइन माध्यमबाट फारम भर्ने काम प्रभावकारी भइरहेको ललितपुर जिल्ला निर्वाचन अधिकृत गोमा धमलाले बताउनुभयो । ‘राष्ट्रिय परिचयपत्र बनाउने आउनेको भीड भइरहेको बेला अनलाइनमार्फत् मतदाताको लागि फाराम भर्ने व्यवस्थाप्रति राम्रो प्रतिक्रिया पाएको छ’ –उहाँले भन्नुभयो ।

फोटोसहितको मतदाता नामावलीमा हालसम्म नाम दर्ता नगरेका नेपाली नागरिकले अनलाइनबाट फाराम भर्न चाहेमा निर्वाचन आयोगको वेबसाइटमा गई व्यक्तिगत विवरण भरी जिल्ला निर्वाचन कार्यालयमा अनलाइनबाटै आवेदन पेस गर्न सक्नेछन् । अनलाइन फारम भरिसकेपछि प्राप्त संकेत नम्बर, नागरिकतालगायतका परिचय पत्रसहित फोटो खिचाउन र औंठा छाप लगाउन सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा जानुपर्छ । यसअघि नै मतदाता नामावलीमा नाम लेखाइसकेकाहरूले भने फेरि नाम लेखाउन नपर्ने आयोगले जनाएको छ ।

अनलाइन फाराम भर्ने व्यवस्था मिलाइएपछि सेवाग्राहीलाई लामो समयसम्म लाइनमा बस्नुपर्ने स्थिति नआउने पनि आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो । आगामी प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गरी आयोगले असार १ गतेदेखि मतदाता नामावली संकलन शुरू गरेको थियो । त्यसका लागि फोटो खिचाउने र आवश्यक विवरण बुझाउन आउने १८ वर्ष पुगेका नागरिकहरूको भीड निकै बढेको थियो ।

त्यसै गरी आयोगले मतदाता नामावलीमा नाम हटाउन, त्रुटि सच्चाउन, दाबी विरोध गर्न र दोहोरो हटाउन सूचना दिने विवरण र मतदाता नामावली सार्नको लागि दिने दरखास्तको ढाँचाको आयोगको बेवसाइट र फेसबुकमा पेजमा राखेको छ ।
गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा १८ वर्षमाथिका १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाता रहेका छन् । अब आयोगले त्यस अवधिसम्म नाम छुटेका र त्यसपछि १८ वर्ष भएका नेपाली नागरिकहरूको मतदाता नामावलीमा समेट्ने छ ।

निर्वाचनको मिति घोषणा गरेपछि मतदाता नामावली अद्यावधिक गर्न नहुने कानुनी बाध्यता रहेको जनाउँदै आयोगले प्रदेश र संघको निर्वाचनको लागि मतदाता नामावली अद्यावधिक गर्ने कार्यलाई अहिलेको मुख्य प्राथमिकतामा राखेको छ । मतदाता नामावलीसम्बन्धी ऐन, २०७३ को दफा ४ मा निर्वाचनको घोषणा भइसकेपछि सो निर्वाचन प्रयोजनको लागि मतदाताको नाम दर्ता गर्न नमिल्ने प्रावधान रहेको छ । यसका लागि आयोगले मंसिर २ गते शुक्रबारको मिति सरकार समक्ष सिफारिस गरिसकेको छ । सरकारबाट अब मिति घोषणा हुन बाँकी छ ।

त्यस्तै विभिन्न पेसा व्यवसाय तथा अध्ययनको सिलसिलामा आफ्नो स्थायी ठेगानाभन्दा अन्यत्र अस्थायी रूपमा बसोबास गरिरहेको स्थानबाट पनि नामावली दर्ता गर्न सकिने आयोगले जनाएको छ । काठमाडौंमा बसिरहेका उपत्यकाका बाहिरका कुनै जिल्लाको स्थायी मतदाता भएका व्यक्तिले पनि त्यही आफू बसेकै ठाउ“मा गएर मतदाता नामावलीमा नाम दर्ता गर्न पाउने व्यवस्था पनि गरिएको छ । त्यसरी दर्ता गरिएको नामावली सम्बन्धित जिल्लामा पठाउने पनि आयोगले जनाएको छ ।