बूढानीलकण्ठ नगरपालिकामा ‘शिक्षक बैंक’

बिदामा बस्ने शिक्षकको ठाउँमा बैंकका शिक्षक खटाइने

0
Shares

काठमाडौं ।

बूढानीलकण्ठ नगरपालिकाले विद्यालयमा निरन्तर पठनपाठन गराउन शिक्षक बैंक स्थापना गरेको छ । सो नगरपालिकामा रहेका सामुदायिक विद्यालयमा पढाइ खाली हुन नदिन शिक्षक बैंकमार्फत् शिक्षक परिपपूर्ति गर्न शिक्षक बैंक स्थापना गरेको हो । नगरपालिकाले बैंकमा २० जना शिक्षकको नाम राखेको जनाएको छ ।

नगरपालिकाका शिक्षा शाखाका शाखा अधिकृत इन्द्रप्रसाद दाहालले योग्यता पुगेका २० जनाको नाम छनोट गरी बंैकमा राखेको जानकारी दिनुभयो । ‘विज्ञसहितको टोलीले परीक्षा लिएर शिक्षक छनोट गरेका हुन्, सबै प्रक्रिया पूरा भएकालाई मात्र छनोट गरेका छांै’ –शाखा अधिकृत दाहालले भन्नुभयो ।

शिक्षक बैंकमा रहन नगरपालिकाको लिखित र मौखिक परीक्षा दिएर उत्तीर्ण भएकालाई मात्र राखिन्छ । उत्तीर्ण भएका शिक्षकसँग अनिवार्य रूपमा शिक्षक अनुमतिपत्र भएको हुनुपर्ने व्यवस्था छ । नगरपालिकाको शिक्षा शाखाले सामुदायिक विद्यालयका शिक्षकले बिदामा बसेमा उनीहरूको स्थानमा सोही विषय पढाउन शिक्षक बैंकमा रहेका शिक्षक खटाउने गरेको छ । त्यसअघि विद्यालयका प्रधानाध्यापकले बिदा बस्ने शिक्षकको निवेदन नगरपालिकामा पठाउनुपर्ने व्यवस्था गरेको छ ।

शाखा अधिकृत दाहालका अनुसार सुत्केरी, क्रिया, बिरामी, भैपरी आउनेलगायत बिदा लिएमा नगरपालिकाले बिदा नसकिँदासम्म पढाउन शिक्षक बैंकका शिक्षकलाई खटाउने गरेको छ । विज्ञान, गणित र अंग्रेजी विषयमा सोचेजति छनोट हुन नसकेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो– ‘अहिलेसम्म २० जना शिक्षक छन् । उक्त संख्या अपुग भएकाले पुनः आवेदन माग्ने तयारी गरेका छौं ।’

शिक्षक बैंकमा कार्यरत शिक्षकले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकले पाउने सरहको तलब पाउनेछन् । छोटो बिदा लिएर जाने शिक्षकको स्थान रिक्त हुन नदिन र पढाइमा नियमित गराउन शिक्षक बैंकको अवधारणा ल्याएको मेयर मिठाराम अधिकारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘विद्यालयमा शिक्षक नभएर कोर्स पूरा हुन नसक्ने परम्परा अन्त्य गर्न बैंक स्थापना गरेका हौं ।’

मेयर अधिकारीका अनुसार सामुयायिक विद्यालयको स्तर उकास्न र पढाइलाई नियमित गर्न नयाँ व्यवस्था गरेको हो । सो नगरपालिकाले संगीत र खेलकुद विषयमा ३ जना शिक्षकलाई रोजगारी दिइसकेको छ । सामुदायिक विद्यालयको अतिरिक्त क्रियाकलापलाई व्यवस्थित र नियमित गराउन दुई विषयमा नगरपालिकाले नै तलब बेहोर्ने गरी शिक्षक नियुक्ति गरेको हो ।

ती शिक्षकले बारअनुसार रुटिन बनाएर सबै विद्यालयमा खेलकुद र संगीत विषयको कक्षा लिने गरेका छन् । ‘संगीत र खेलकुद विषयको शिक्षक विज्ञबाटै परीक्षा लिएर छनोट गरेका हौं’ –शाखा अधिकृत दाहालले भन्नुभयो । नगरपालिकाले शिक्षकको तलबबापत ६० लाख रुपियाँ विनियोजन गरेको छ ।

उक्त रकम सामुदायिक र शिक्षक बैंकमा कार्यरत शिक्षकको तलबसमेत समावेश गरिएको छ । सो नगरपालिकाभित्र १९ वटा सामुदायिक र १ सय २२ संस्थागत विद्यालय छन् । नगरपालिकाले शिक्षामा सुधार गर्न यस्तो व्यवस्था गरेको हो । सो नगरपालिकामा रहेका सरकारी विद्यालयको अवस्थामा सुधार आएको मेयर अधिकारीले बताउनुभयो ।

यसरी शिक्षक बैक स्थापना गरेपछि विद्यालयमा शिक्षक अपुग भएको वा नआएको भन्ने गुनासो सुन्न नपर्ने भएको छ । ‘सायद हाम्रो नगरपालिकाले शिक्षक बैंक स्थापना गरेको पहिलो भएको दाबी गरेका छौं’ –मेयर अधिकारीको भनाइ थियो ।