बन्चरेडाँडा जाने सडक एक साता बन्द

सिसडोल खण्डमा २४ सै घण्टा काम हुने

0
Shares

काठमाडौं  ।

काठमाडौं उपत्यकाको फोहोर विर्सजन हुँदै आएको बन्चरेडाँडा ल्यान्डफिल साइट जाने सडक एक साता बन्द भएको छ । बन्चेडाँडा जाने सडक खण्डको सिसडोलमा फोहोर बोकेका गाडी जान नसक्ने भएपछि मंगलबारबाट स्तरोन्नतिको काम शुरू गर्दै एक साता सडक बन्द गरिएको हो ।

काठमाडौं महानगरपालिकाले कुहिने-नकुहिने फोहोर छुट्याएर मात्र ल्यान्डफिल साइट लैजाने योजना अघि बढाइरहेका बेला सिसडोल खण्डमा ग्याबिङ भर्ने काम अघि बढाइएको छ । शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत रहेको बन्चरेडाँडा ल्यान्डफिल साइट आयोजनाले तीनपिप्ले हुँदै बन्चरेडाँडा ल्यान्डफिल साइटसम्म जाने करिब साढे १२ किलोमिटर सडकको स्तरोन्नतिको काम अघि बढाएको छ ।

ठेक्का सम्झौता भएर असार पहिलो साताबाट काम अघि बढाए पनि निरन्तरत रूपमा फोहोरका गाडी गुड्दा सडक मर्मतको कामले गति लिन सकेको छैन । सडक स्तरउन्नति गर्ने जिम्मेवारी पाएको समानान्तर निर्माण सेवाले आगामी मंसिरसम्म काम सम्पन्न गर्नुपर्ने सम्झौता भएको छ ।

बन्चरेडाँडा ल्यान्डफिल साइट आयोजनाका प्रमुख रवीन्द्र बोहोराले बन्चरेडाँडा जाने सडकको स्तरउन्ततिको काम धमाधम भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘गाडी जानका लागि समस्या रहेको सिसडोल खण्डको दुई सय मिटरमा ग्याबिङ भर्ने कामका लागि एक साता सडक बन्द गराएर काम शुरू भएको छ ।’ उहाँका अनुसार साढे १२ किलोमिटरमध्ये पाँच किलोमिटर सडकमा आइसीसी ढलान हुनेछ भने बाँकी सडक खण्डको ठाउँठाउँमा स्तरउन्नति हुनेछ ।

बोहोराले भन्नुभयो– ‘सिसडोल क्षेत्रमा गाडी नै जान नसक्ने अवस्था सिर्जना भएपछि एक साता बन्द गरेरै काम गर्ने निर्णय गरिएको हो ।’ बन्चरेडाँडा जाने सडक ११ करोडमा लगानीमा स्तरउन्नति हुन लागेको हो । समानान्तर निर्माण सेवाका प्रोजेक्ट म्यानेजर महेश भट्टले मंसिरभित्र सडक स्तरउन्नतिको काम सम्पन्न गर्नुपर्ने भए पनि दुई महिनाभित्रै सम्पन्न गर्ने गरी काम अघि बढाइएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘फोहोर विर्सजन गर्न जाने एक मात्र सडकलाई छिटोभन्दा छिटो स्तरउन्नतिको काम सम्पन्न गरेर हस्तान्तरण गछौं ।’

उहाँका अनुसार सिसडोल खण्डबाहेक अन्य खण्डमा गाडी बन्द नगरी काम गर्ने योजना छ । भट्टले सडक बन्द गरेर सिसडोल खण्डमा २४ सै घण्टा काम गरिने बताउँदै ५५ जनाभन्दा बढी कामदार परिचालन गरिएको बताउनुभयो । विभागले करिब एक अर्ब लगानीमा निर्माण गरेर आधुनिक र व्यवस्थित बन्चरेडाँडा ल्यान्डफिल साइटको सेल वान काठमाडौं महानगरपालिकालाई हस्तान्तरण गरिसकेको छ । हाल काठमाडौं महानगरपालिकासहित उपत्यकाका १८ वटा स्थानीय तहको फोहोर बन्चरेडाँडामा विर्सजन हुँदै आएको छ ।

आयोजनाका प्रमुख बोहोराका अनुसार सेल टुको काम पनि अन्तिम चरणमा पुगेको छ । केही समयभित्र नै सेल टु सम्पन्न गरेर महानगरपालिकालाई हस्तारन्तरण गरिने उहाँले बताउनुभयो ।