आगामी प्रदेश र संघको निर्वाचनसम्म तालमेल हुन्छ : कांग्रेस प्रवक्ता महत



काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले आगामी निर्वाचनसम्म तालमेल गरेर जाने निर्णय भएको बताएका छन् ।

नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले तालमेल गर्न जटिल भए पनि आगामी निर्वाचनसम्म अहिलेकै गठबन्धनको तालमेल हुने बताए ।

उनले भने, “स्थानीय तहको निर्वाचनको अनुभवले पनि हामीलाई विश्वास बढाएको छ ।” स्थानीय निर्वाचनको नतिजालाई सबै दलले सन्तोषजनकरुपमा लिएको भन्दै उनले यसैलाई आधार मानेर निर्वाचनमा जाने बताए ।

उनले भने, “मलाई विश्वास छ । यो गठबन्धन टुट्दैन ।” शीर्ष नेताहरू समेत गठबन्धन नतोड्ने पक्षमा रहेको उनको भनाइ थियो ।

तालमेल गर्दा पार्टीको नेतृत्वदायी भूमिका र समग्रमा पार्टी पङ्तिको भावनाअनुसार हुने उनले बताए । फरक प्रसङ्गमा उनले सरकारले अहिले देश विकास, स्थायित्व र जनआकांक्षाअनुसार काम गरेको बताउनु भयो ।

उनले भने, “सरकारमा रहेर देशको विकास कसरी गर्न सकिन्छ भन्नेतर्फ हाम्रो ध्यान गएको छ ।” विषम परिस्थितिमा कांग्रेसको नेतृत्वमा सरकार बनेको भन्दै उनले त्यसको सामना गर्दै अघि बढेको बताए ।

पत्रकार सम्मेलनमा उहाँले भ्रातृसङ्गठनले यही साउन महिनाभित्र पूर्णता पाउने बताए ।

प्रतिक्रिया दिनुहोस्