पछिल्लो २४ घण्टामा थप ३९१ जनामा कोरोना सङ्क्रमण पुष्टि



काठमाडौं । पछिल्लो समय ३९१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार तीन हजार ९८१ जनामा गरिएको परीक्षणमा आज देशभर सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा समिरकुमार अधिकारीले ललितपुरमा २२, भक्तपुर नौ र काठमाडौँमा १८५ जनामा सङ्क्रमित पुष्टि भएको जानकारी दिए ।

हाल सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार २७६ रहेका छन् । काठमाडौं उपत्यकामा सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार २७० पुगेको छ । विगत २४ घण्टामा ४६ जना सङ्क्रमणमुक्त भएका छन् ।

काठमाडौं जिल्लामा ५०० बढी सङ्क्रमित रहेको पाइएको मन्त्रालयले जनाएको छ । हाल होम आइसोलेशनमा दुई हजार १४३, संस्थागत आइसोलेशनमा १३३ र सघन उपचार कक्ष आइसियु०मा २१ जना उपचार भइरहेको छ ।

यस्तै विगत २४ घण्टामा एक लाख २१ हजार ५१५ ले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्