चिटको बहानामा प्याड खोल्न लगाएपछि…

क्याम्पसमा तोडफोड



हेटौंडा । परीक्षार्थीले परीक्षा केन्द्रमा किताब, गेसपेपर, गाइड, चिट र मोबाइल आदि लैजान नपाउने नियम छ । निषेधित ती वस्तु लगेको आशंकामा परीक्षामा खटिएका निरीक्षकहरुले जुनसुकै बेला खानतलासी गर्न भने पाउनेछन् ।

तर, हेटौंडामा एक क्याम्पसका परीक्षा निरीक्षकले अर्को क्याम्पसका परीक्षार्थीमाथि अत्यन्त क्रुरढंगले दुव्र्यवहार गरेका छन् । हेटौंडास्थित पुरानो शैक्षिक संस्था हेटौंडा क्याम्पसमा स्नातक तह दोस्रो वर्षको परीक्षा दिन पुगेका दुई परीक्षार्थी छात्रालाई भित्री वस्त्रमात्र होइन, महिनावारी हु“दा लगाइएको प्याडसमेत खोल्न लगाइएको पाइएको छ । परीक्षा दिन पुगेका दुई छात्राको भित्रीवस्त्रसमेत खोल्न लगाएर परीक्षा मर्यादित गर्न भन्दै ‘जा“च’ गरिएको थियो ।

दुई छात्रामाथि चिट लुकाएको भन्दै क्याम्पसका कर्मचारीले भित्रीवस्त्रसमेत खोल्न लगाएको भन्दै पीडित एक परीक्षार्थीले भनिन्–म महिनावारि भएको र प्याड प्रयोग गरेको भन्दासमेत कर्मचारीले प्याडमा समेत चिट हुन्छ भन्दै खोल्न लगाएर अभद्र व्यवहार गरे ।

घटनाबारे सामाजिकसञ्जालमा ब्यापक आलोचनापछि घटनास“ग सम्बन्धित दुई छात्राका अभिभावक, क्याम्पस सञ्चालक समिति अध्यक्ष मुनु सिग्देल, क्याम्पस प्रमुख देवचन्द्र मानन्धर र विद्यार्थी संगठनका प्रतिनिधिले घटनाबारे जाँझबुझ गरिरहेको बेला करिब २ सयको हाराहारीमा मकवानपुर बहुमुखी क्याम्पसबाट आएका विद्यार्थीले हेटौंडा क्याम्पसमा नाराबाजी गरे । त्रिभुवन विश्वविद्यालयअन्तर्गत् परीक्षामा मकवानपुर बहुमुखी क्याम्पसको परीक्षा केन्द्र हेटौंडा क्याम्पसमा पर्ने गर्दछ । दुव्र्यवहारमा परेका दुई छात्रा मकवानपुर बहुमुखी क्याम्पसकै हुन् ।

भीड आक्रोशित बनेपछि हेटौंडा क्याम्पसका सिसाहरुमा क्षति पु¥याइएको छ । क्याम्पसमा खटिएका सुरक्षाकर्मी र विद्यार्थीबीच धकेलाधकेल भएपछि भीडलाई उत्तेजित पार्ने ४ विद्यार्थीलाई नियन्त्रणमा लिइ क्याम्पसकै एउटा कोठामा राखिएको थियो ।

आरोप लागेको हेटौंडा क्याम्पसमा बसेको सर्वपक्षीय बैठकले ४ बु“दे सहमति गर्दै दुई कर्मचारीलाई अब कुनै परीक्षामा निरीक्षकका रुपमा सहभागी हुन नपाउने गरी निलम्बन गर्ने सहमति गरेको छ । बुधबार क्याम्पसमा पीडित छात्राहरु, अभिभावक, विद्यार्थी संगठनबीचको वार्तापछि दुव्र्यवहार गर्ने दुई कार्यालय सहयोगीलाई निलम्बन गर्ने सहमति भएको अनेरास्ववियु मकवानपुर सचिव पुष्कर तिमल्सिनाले जानकारी दिनुभयो ।

‘परीक्षार्थी चेकजा“चमा संलग्न कार्यालय सहयोगी दुई जनालाई त्रिविलगायत कुनै परीक्षामा सहभागी हुन नपाउने गरी निलम्बन गरिनेछ,’ सहमतिपत्रमा भनिएको छ । परीक्षा सञ्चालनका क्रममा देखिएका कमजोरीप्रति क्याम्पस प्रशासनले दुःख व्यक्त गर्दै माफी मागेको छ । आगामी दिनमा हुने परीक्षा व्यवस्थित, भयरहित र सौहाद्र्रपूर्ण वातावरणमा सञ्चालन गरिने प्रतिवद्धतासमेत व्यक्त गरिएको क्याम्पस प्रमुख मानन्धरले बताउनुभयो ।

सहमतिमा अब हुने परीक्षालाई भयरहित बनाउने तथा परीक्षा दिन अन्य क्याम्पसबाट आएका परीक्षार्थीलाई विभिन्न समयमा अभद्र व्यवहार भएको भन्ने गुनासोका सबालमा ३ दिनभित्र प्रतिवेदन सार्वजनिक गरी दोषीलाई कारबाही सिफारिस गर्न क्याम्पस प्रमुखकै नेतृत्वमा ‘छानविन समिति’ गठन गर्ने उल्लेख छ । जुन क्याम्पसमा घटना भएको हो, सोही क्याम्पसका प्रमुखको नेतृत्वमा ‘छानविन समिति’ गठन हुनुलाई आश्चर्य मानिएको छ । छानविन समिति सदस्यमा विद्यार्थी संगठनका प्रतिनिधिहरु किसन घिसिङ, राजु खतिवडा, दिनेश सुबेदी, अरुण बर्तौला र ललित घलान तथा एक अभिभावक हुनुहुन्छ ।

मंगलबार करिब १२ बजे परीक्षा दिन परीक्षा केन्द्र रहेको क्याम्पस हाताभित्र प्रवेश गर्दा दुई महिला कार्यालय सहयोगीले छात्राहरुमाथि महिनावारि हु“दा लगाइएको प्याड र तीन छात्रालाई पाइन्ट खोल्न लगाएको आरोप छ ।

पीडित छात्राहरुले गोपनीयता हनन् हुने गरी जा“च गरिएको र परीक्षार्थीलाई मानसिक तनाव दिएको भन्दै क्याम्पस प्रशासनसमक्ष छानबिन गरेर कारबाही गर्न माग गरेका थिए । घटना सार्वजनिक भएपछि बुधबार विहानबाट क्याम्पसमा तनाव भएको थियो । विद्यार्थीले दोषीलाई कारबाहीको माग गर्दै क्याम्पसमा तालाबन्दी गर्नुका साथै तोडफोड गरेपछि क्याम्पस प्रशासनले अभिभावकसहित विद्यार्थी संगठनका प्रतिनिधिको सर्वपक्षीय बैठक बोलाएर सहमति गरेको हो ।

दुई छात्रा परीक्षार्थीमाथि अनैतिक क्रियाकलाप भएको भन्दै क्याम्पसमा तोडफोड गरिएको छ । मकवानपुर बहुमुखी क्याम्पसलगायत अन्य क्याम्पसका विद्यार्थी संगठनले विद्यार्थीमाथि दुव्र्यव्यहार भएको र दुव्र्यवहार गर्नेलाई कडा कारबाही माग गर्दै क्याम्पस तोडफोड गरेका थिए । उक्त क्याम्पसमा यसअघिका वर्षहरुमा पनि परीक्षामा परीक्षार्थीउपर निर्मम तरिकाले शारीरिक जा“च हु“दै आएको परीक्षार्थीको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्