उद्यमी कृषकहरूलाई कृषि सामाग्री तथा बिउ बिजन वितरण

0
Shares

स्याङ्जा ।

जिल्लाको वालिङ नगरपालिकाका कृषक तथा उद्यमीहरूलाई कृषि सामाग्री तथा बिउ बिजन वितरण गरिएको छ । कृषकहरूको माग र आवश्यकताका आधारमा कृषि औजारहरूका साथै अन्य सामाग्री वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

वालिङ नगरपालिका र युएनडिपी नेपालको साझेदारी तथा दियालो संस्थाको व्यवस्थापनमा वालिङमा सञ्चालन भइरहेको ‘हरित पुनः उत्थान तथा कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य पहल परियोजना’ अन्तर्गत कृषि औजार, बिउ विजन वितरण गरिएको हो ।

कृषि सामाग्री हस्तान्तरण गर्नुहुँदै वालिङ नगरपालिकाका उपप्रमुख कविता तिवारी गैह्रेले वास्तविक कृषकहरूलाई सहयोग गरी उत्पादन बढाउने नगरपालिकाको नीति रहेको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, ‘कृषक र उद्यमीलाई प्रोत्साहनसँगै आवश्यक सहयोग गर्दै जानेछौँ ।’ मागको आधारमा कृषक तथा उद्यमीहरूलाई आवश्यक सामाग्री उपलब्ध गराइएको भन्दै उपप्रमुख तिवारीले भन्नुभयो, उत्पादन बढाउने कृषकहरूका लागि नगरपालिकाले जुनसुकै सहयोग गर्नेछ । तिवारीले नयाँ ब्यावसाय गर्न खोजेका युवाहरू तथा ब्यावसाय प्रवद्र्धन गर्न चाहने उद्यमीहरूलाई नगरपालिकामा सञ्चालनमा रहेको ई बिक शाखामा सम्पर्क गर्न सुझाव समेत दिनुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले कृषक तथा उद्यमीहरूको सोचमा परिवर्तन आएमा मात्रै उत्पादन वृद्धि गर्न सकिने बताउनुभयो । कृषक तथा उद्यमीहरूलाई उपलब्ध गराइएको सामाग्रीहरूको सही सदुपयोग गर्न सुझाव समेत दिनुभयो । कृषक तथा उद्यमीका माग र सहकारी तथा समूहहरूको आवश्यकताका आधारमा सामाग्री वितरण गरिएको दियालो संस्थाका कार्यवाहक अध्यक्ष सीतादेवी गैह्रे पंगेनीले जानकारी दिनुभयो ।

कार्यक्रममा विभिन्न १० वटा सहकारी तथा समूहलाई बिउ बिजन, ४० जना कृषकलाई टनेल, एक समूहलाई कम्वाईन मिल, चापकटर, ठेला लगायतका सामाग्री वितरण गरिएको परियोजनाले जनाएको छ । लक्षित समुदायको आयआर्जनमा सहयोग पु-याउने र स्थानीय स्तरमा नै प्राविधिक सेवा पु-याउने उद्देश्यले सामग्री वितरण गरिएको हो । स्थानीय स्तरमा कृषिमा प्राविधिक सेवा दिने लक्ष्य सहित गरिएको कार्य सराहनीय रहेको कार्यक्रममा सहभागीहरूले बताएका छन् ।

जलवायुमैत्री कृषि खेती प्रवर्द्धनका लागि विभिन्न कृषि औजार हस्तान्तरण गरिएको हो । बेमौसमी तरकारी खेतीका लागि प्रख्यात मानिएको वालिङ क्षेत्रमा सक्रिय रूपमा लागेका किसानलाई वडा कार्यालयको सिफारिस र पहिचानका आधारमा सामाग्री वितरण गरेको नगरपालिकाले जनाएको छ ।