काठमाडौं । शहरी विकास मन्त्री मेटमणी चौधरीले सिंहदरवार परिसरभित्र निर्माणाधिन संघीय संसद् भवन निर्माणको काम तोकिएकै समयसीमाभित्र सम्पन्न गर्न निर्देशन दिएका छन् ।
मन्त्री भएपछि पहिलो पटक निर्माणाधिन संसद् भवनको स्थलगत निरीक्षण गर्दै उनले तोकिएकै समयमा काम सम्पन्न गर्न निर्देशन दिएका हुन् । 
देशकै महत्वपूर्ण आयोजनाको रुपमा रहेको संसद् भवन निर्धारित समयमा सम्पन्न गरेर सञ्चालन ल्याउनुपर्छ, मन्त्री चौधरीले भने । निर्माणाधिन संसद् भवनको काम हाल सन्तोषजनक देखिएको प्रतिक्रिया दिँदै उनले आधुनिक र सुविधा सम्पन्न भवन निर्माण हुने विश्वास व्यक्त गरे ।
संसद् भवन निरीक्षणको क्रममा शहरी विकास मन्त्रालयका सचिव डा. रमेश प्रसाद सिंहले निर्धारित समयमै काम सम्पन्न गर्न निर्माण व्यवसायीलाई निर्देशन दिए । विभिन्न बहानाबाजीमा आयोजनाको म्याद थप नहुने बताउँदै उनले भवन निर्माणको गुणस्तरमा कुनै पनि सम्झौता नहुने बताए । समयमा नै काम सम्पन्न गर्न मन्त्रालयले गर्नुपर्ने सम्पूर्ण काम गर्न तयार रहेको बताउदै सिंहले ढिलासुस्ती र बहानाबाजी स्वीकार्य नहुने बताए ।
सचिव सिंहले भने, ‘बाहिर संसद् भवन कहिलेसम्म बन्छ ? भन्ने प्रश्न उठिरहेको छ, अब यो वा त्यो बहानामा म्याद थप्ने काम हुँदैन । भवनको गुणस्तरलाई ध्यानमा राखेर काम गर्नुस् ।’
विशेष भवन निर्माण आयोजना समन्वन्वय कार्यालयका आयोजना निर्देशक दिलिपशेखर श्रेष्ठले हालसम्म भवन निर्माण अन्तर्गत ९५ प्रतिशत काम सम्पन्न भएको बताए । उनले संसद् भवनसहित ११ वटा संरचनाको स्ट्रक्चर निर्माण भएर हाल छानो छाउने काम भइरहेको बताउँदै निर्धारित समयभित्र नै काम सम्पन्न गर्न आयोजनाले निर्माण व्यवसायीलाई निर्देशन दिँदै आएको बताए ।
उनले भने। ‘भवन गुणस्तरीय ढंगले निर्माण भएको छ, निर्माणको क्रममा आइपुगेको समस्या समाधान गर्न आयोजना, कन्सल्टेन्ट र निर्माण व्यवसायीबीच त्रिपक्षी रुपमा समन्वय गर्दै काम गरिरहेका छौं ।’ भवन निर्माणमा आयोजनाको तर्फबाट गर्नुपर्ने सम्पूर्ण काम भइरहेको बताउँदै निर्माण व्यवसायीले बाँकी रहेको कामलाई तीव्रता दिनुपर्ने बताए ।
संसद् भवन निर्माणको जिम्मेवारी पाएको टुण्डी÷सेक ज्वाइन्ट भेन्चरले पाएको छ भने भवनको सुपरीक्षवेक्षण काम इस्टवेस्ट÷ डिजिकोन÷इङगार जेभी कन्सल्टेन्स गरिरहेको छ ।
अन्तर्राष्ट्रिय मापदण्डअनुसार डिजाइन गरिएको भवन १ सय ५१ रोपनी क्षेत्रफलमा फैलिएको संसद् भवन निर्माणको काम २०७६ असोजबाट सुरु भएको थियो । यस अवधिमा स्ट्रक्चरको काम ९५ प्रतिशत काम सम्पन्न भएपनि फिनिसिङको काम अझै हुन सकिरहेको छैन् । आयोजना २०७९ चैत्र मसान्तभित्र सम्पन्न गर्नुपर्ने सम्झौता रहेको छ ।











प्रतिक्रिया