बुटवलमा पुनः जग्गाको लगत संकलन शुरु

0
Shares

बुटवल ।

बुटवल उपमहानगरपालिकाले पुनः जग्गाको लगत संकलन शुरु भएको छ । बुटवल उपमहानगरपालिकाको वडा नं. १२ सहितका केही वडामा लगत संकलन कार्य जारी रहेको नगर प्रमुख खेलराज पाण्डेयले जानकारी दिनु भयो ।

लगत संकलनको काम सकिएपछि कार्यपालिकाको बैठकले जग्गाको नापजाँचका लागि राष्ट्रिय भूमि आयोगबाट अनुमति लिने उहाँले बताउनु भयो ।
‘अहिले कुन जग्गा व्यक्तिको हो, कुन जग्गा सार्वजनिक हो, कहाँ बस्ती बसेको छ, कहाँ छैन भन्ने लगत संकलनको काम हुन्छ, उहाँले भन्नु भयो–त्यसपछि पनि कसैको जग्गाको लगत संकलन गर्न छुटेको छ कि भनेर १५ दिने सूचना जारी गछौं, अनि कार्यपालिकाको बैठकले भूमि आयोगसँग जग्गा नापजाँचका लागि अनुमति लिएर जग्गाको नापजाँचको काम शुरु हुन्छ ।’

गत जेठ ९ मा उपमहानगरपालिकाको प्रमुख पदमा बहाली गर्दै नगरप्रमुख पाण्डेयले सुकुम्बासी, भूमिहिनहरुलाई जग्गा उपलब्ध गराउन अव्यवस्थित बसोबासी, सुकुम्बासीहरुको अल्पकालीन र दीर्घकालीन व्यवस्थापन गर्ने निर्णय गर्नु भएको थियो । सोही अनुसार स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकारबमोजिम सार्वजनिक, ऐलानी र पर्ती जग्गाको लगत राख्ने तथा संरक्षण गर्ने काम नगरले अघि बढाएको प्रमुख पाण्डेयले बताउनु भयो ।

जग्गाको लगत संकलनका लागि नगरले स्थानीयसँग छलफल पनि थालेको छ । सोमबार बुटवल १२ का बासिन्दाहरुबीच छलफल गरेको नगर प्रवक्ता शिव रानाले जानकारी दिनु भयो ।

स्थानीयले राखेका जिज्ञासाको जवाफ दिदै नगरप्रमुख पाण्डेयले छिटै नै बुटवल उपमहानगरपालिकाले जग्गाको लगत संकलन गरेर भूमि आयोगलाई बुझाउने र सोही आधारमा लालपूर्जा वितरण हुने बताएका थिए ।

कार्यक्रममा बोल्दै राष्ट्रिय भूमि आयोग रुपन्देहीका अध्यक्ष हरिबहादुर आचार्यले बुटवल उपमहानगरपालिकाले दिएको लगत र तथ्यांकका आधारमा लालपूर्जा वितरणको प्रक्रिया अघि बढ्ने बताउनु भयो ।