कालिजंग गण धुलिखेलद्वारा विद्यार्थीहरुका लागि जुनियर डिभिजन एनसिसी तालिम दिन शुरु

0
Shares

काभ्रे।

नेपाली सेनाको कालिजंग गण धुलिखेलले जिल्लाका तीन विद्यालयमा अध्ययनरत १ सय ८ विद्यार्थीहरुका लागि जुनियर डिभिजन एनसीसी तालिम शुरु गरेको छ । थप तिन विद्यालयमा सिनियर डिभिजन तालिमको तयारी भएको छ ।

 

एसओएस बालग्राम, अरुणोदय मावि र सामुदायिक विद्यालय पनौतीमा अध्ययनरत कक्षा ८–१० का प्रति विद्यालय १८ छात्रा र १८ छात्र गरी ३६ जनाका दरले १ सय ८ जना विद्यार्थीहरुलाई जुनियर डिभिजन एनसिसि तालिम शुरु गरिएको हो । १ सय दिनको तालिममा ७९ दिन विद्यालयमै दिईनेछ भने २१ दिनको तालिम ‘क्लोज क्याम्प’का रुपमा बर्दिबासमा हुनेछ । ‘तालिममा विद्यार्थीहरुलाई राष्ट्रप्रेम, नेतृत्व विकास, अनुशासन, जफादेहिता, ईमान्दारिता र बफादारिताका बारेमा सिकाईनेछ’–कालिजंग गण धुलिखेलका गणपति कर्णेल मिलन थापाले भन्नुभयो–‘सैन्यलगायत मानवीय र सामाजिक क्षेत्रका बारेमा बालबालिकालाई एक सय दिनको तालिम दिइनेछ ।’

 

तालिमका लागि न्यूनतम मापदण्ड पूरा भएका बालबालिका छनोट गरिएको छ । तालिममा सैन्य ज्ञान, विषद् व्यवस्थापन, सरसफाई तथा वातावरण लगायतका विषयमा जानकारी गराइन्छ । विद्यार्थीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले उक्त तालिम नेपाली सेनाले २०२२ साल कात्तिक ७ गतेबाट शुरू गरेको थियो । लामो समयसम्म उक्त तालिममा ५ सयले भन्दा तालिम प्राप्त गर्न सकेका थिएनन् । आर्थिक वर्ष २०७२÷२०७३ बाट नेपाली सेनाले उक्त तालिम पुनः शुरू गरेको थियो । काभ्रेमा पनि उक्त तालिम आर्थिक वर्ष २०७१÷२०७२ बाट शुरु भएको थियो । कक्षा ८–१० सम्मका बालबालिकाका लागि जुनियर तालिम दिइनेछ भने कक्षा ११ र १२ का विद्यार्थीका लागि सिनियर तालिम दिइनेछ । उक्त तालिम पश्चात बालबालिकाहरु भविश्यमा नेपाली सेना र नेपाल प्रहरीमा समेत जान चाहेको अवस्थामा सहज हुनेछ । कोरोना भाईरसको अवधीमा भने उक्त तालिम संचालन हुन सकेन ।

यस अघि बनेपाको नाईटिङ्गेल एकेडेमी, पनौतीको एसओएस बालग्राम र अरुणोदय मावि, पाँचखालको गोल्डेन फ्युचर मावि र नमोबुद्धको भकुण्डेमा रहेको जनक माविमा सेनाको राष्ट्रिय सेवा दल गठन गरिएको थियो । गोल्डेन, जनक र एसओएस बालग्राममा सिनियर डिभिजन तथा नाईटिङ्गेल र अरुणोदयमा जुनियर डिभिजन गठन भएको थियो । उक्त तालिमको अवसरमा जनक मावि १६ विद्यालयमा उत्कृष्ट भएको थियो भने पनौतीको अरुणोदय माविबाट छात्रा प्रस्तुतिकरणमा उत्कृष्ट भएकी थिईन् । विद्यालय जीवन देखि नै बालबालिकाहरूलाई राष्ट्रिय एकताको भावना जगाउन, बफादारिता, इमानदारिता, अनुशासन, नेतृत्व गर्ने बानीको विकास गर्ने उद्देश्यले नेपाली सेनाले विद्यालयमा राष्ट्रिय सेवा दल गठन गरेको हो ।

विद्यार्थी र अभिभावकहरूको रुचि, उचाइ तथा तौल, शारीरिक स्वस्थता लगायतका मापदण्डका आधारमा विद्यार्थीहरू छनौट गरिएको हुन्छ । राष्ट्रिय सेवा दल गठन गर्नु अघि नेपाली सेनाको कालिजंग गण धुलिखेलका गणपति कर्णेल मिलन थापाले अभिभावक, विद्यार्थी र शिक्षकहरूलाई राष्ट्रिय सेवा दलको उद्देश्यका बारेमा अभिमुखीकरण गर्नु भएको थियो । विद्यार्थीहरूलाई अध्ययनमा कुनै असर नपार्ने गरी सेवा दलमा सहभागी भएकाहरूलाई बिहान बेलुकाको अतिरिक्त समयमा नेपाली सेनाको टोलीले तालिम प्रदान गर्नेछ । तीन महिने तालिममा सहभागीहरूलाई सेनाले पोसाक लगायतका आवश्यक सामाग्री निःशुल्क उपलब्ध गराउनेछ ।

विद्यालय तहमा लिइने तालिम समापन पछि सेनाले विभिन्न स्थानमा रहेका युनिटहरूमा ‘क्लोज क्याम्प’ मा तीन साता भन्दा लामो समय विद्यार्थीहरूलाई सहभागी गराउनेछ । सोही तालिममा उत्कृष्ट भएकाहरूलाई सेनाले विभिन्न देशमा अध्ययन अवलोकनका लागि पठाउने छ । विशेष गरी स्थानीय स्तरमा हुने विभिन्न खालका विपद् भएको अवस्थामा त्यसको व्यवस्थापनका लागि राष्ट्रिय सेवा दलमा आबद्ध भई तालिम प्राप्त विद्यार्थीहरू सक्रिय हुन सकुन् भन्ने उद्देश्यले विद्यालय तह देखि नै विद्यार्थीहरूले सक्रिय बनाइएको हो ।

नेपालमा विपद् धेरै भएकाले विपद् व्यवस्थापन गर्न स्थानीय तहमै जनशक्ति तयार गर्ने उद्देश्यले उक्त सेवा दललाई ऐनमा भएको व्यवस्था अनुसार कार्यान्वयन सुरु गरिएको हो । तालिम पश्चात् विद्यार्थीहरूलाई एल्मुनाई एसोसिएसन मार्फत सक्रिय गराई सामाजिक काममा समेत उत्प्रेरणा जगाउने अभिप्रायले राष्ट्रिय सेवा दल गठन गरिएको हो । नेपाली सेनाको कालिजंग गण धुलिखेलका गणपति कर्णेल मिलन थापाले जुनियर डिभिजन तालिमको उद्घाटन गर्नु भएको छ ।