म्याग्दी ।
म्याग्दीको प्रमुख तथा प्रसिद्ध धार्मिक तीर्थस्थल गलेश्वर शिवालयमा आज बिहानैदेखि श्रद्धालु, भक्तजनहरुको भीड लागेको छ । बेनी नगरपालिका–९, गलेश्वरस्थित रहेको गलेश्वर शिवालयमा यसवर्ष साउन महिनाको पहिलो सोमबार म्याग्दीसहित देशका विभिन्न जिल्लाका भक्तजनहरुले पूजा गरेका हुन् ।
आज साउन महिनाको पहिलो सोमबार म्याग्दी, पर्वत, बागलुङ, कास्की, चितवनलगायत जिल्लाहरुबाट गलेश्वर शिवालयको दर्शन तथा पूजाआजा गर्न भक्तजनहरु आएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । साउने सोमबारमा गलेश्वर शिवालयमा भक्तजनहरुलाई लक्षित गरेर विभिन्न १९ वटा समितिहरु गठन गरी उनीहरुलाई सहज रुपमा पुजाअर्चना गर्ने व्यवस्था मिलाइएको छ ।
यस पटकको साउन महिनामा पाँचवटा सोमबार परेको हुँदा गाउँघरमा खेतीपातीको काम अझै बाँकी रहेको तथा प्रचण्ड गर्मीका बाबजुद पनि भक्तजनहरु गलेश्वर शिवालय पुगेका छन् ।
गएको दुईवर्ष कोरोनाको कारणले गर्दा पूजाअर्चना गर्न नपाएका भक्तजनहरु यस वर्षको साउन महिनाको पहिलो सोमबारको दिन पूजा गरेका छन् । यसवर्ष पहिलो सोमबार म्याग्दीसहित देशका विभिन्न जिल्लाहरुबाट २० हजारको हाराहारीमा भक्तजनहरु आएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो ।
साउने सोमबार हिन्दु महिलाहरूको लागि विशेष दिन मानिन्छ । आजको दिन महिलाहरू ब्रत बस्ने र शिव मन्दिरमा पुगेर पुजा गर्ने गर्छन् । देशैभरका शिव मन्दिरमा आज बिहानैदेखि खासगरी ब्रतालु महिलाको भीड लागेको छ ।
साउन महिनामा शिवलाई शुद्ध जल चढाएमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेको छ । सोमबार ब्रत बसी शिवको आराधना गर्दा अटल सौभाग्य प्राप्ति हुने जनविश्वास भएकाले महिलाहरू बिहानै शिवालय मन्दिर पुग्ने गर्दछन् । साउन महिनालाई भगवान् महादेव (शिव)को प्रिय महिनाको रुपमा पनि मानिन्छ ।
बेनीका महिला उद्यमी सिर्जना भट्टचनले मनोकामनासहित परिवारमा सुख, शान्तिका लागि शिवालयको दर्शन गरेको अनुभव सुनाउनुभयो ।हिमालपारीको जिल्ला मुस्ताङमा अवस्थित प्रसिद्ध मुक्तिनाथ मन्दिरको प्रवेशद्वारको रूपमा रहेको म्याग्दीको गलेश्वर शिवालयमा पछिल्लोपटक ११ वटा गौमुखी धारा जडान गरिएको छ ।
गलेश्वरको दर्शन गर्न आउने भक्तजनलाई लक्षित गरेर पवित्र कालीगण्डकी नदीको गङ्गाजलले स्नान गर्ने व्यवस्था मिलाइएको हुँदा भक्तजनको संख्यामा वृद्धि हुँदै गएको छ । धार्मिक पर्यटन प्रवद्र्धनका लागि गलेश्वर शिवालय, पौलस्त्य पुलहाश्रम, जगन्नाथधाम र स्वर्गाश्रमको विकासमा आवश्यक पहल थालिएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले जानकारी दिनुभयो ।
पवित्र कृष्णागण्डकीबाट उठेर ९ रोपनी क्षेत्रफलमा फैलिएको एउटै प्रसिद्ध गोलाकार चक्रशिलाको उत्तरपूर्वी कोणमा अवस्थित मन्दिरभित्र स्वयं उत्पत्ति ज्योतिर्लिङ्गेश्वर महादेव विराजमान भएको धार्मिक विश्वास रहेको छ । मन्दिरमा सङ्कलित भेटी पूर्वाधार विस्तार, जेष्ठनागरिक तथा कर्मचारी व्यवस्थापनसहित विभिन्न धार्मिक कार्यमा खर्च गरिन्छ ।
सत्य युगमा सतीदेवीले अग्नीकुण्डमा हामफालेर देहत्याग गरेपछि उनको मृत शरिर बोकेर महादेव पृथ्वीको भ्रमण गर्ने क्रममा गलेश्वरमा आएर गला पतन भएको धार्मिक मान्यता छ । गलेश्वर मुक्तिनाथ क्षेत्र प्रवेशद्वारको रुपमा मानिन्छ ।
साउने सोमबारको अवसर पारेर आफ्ना स्वर्गीय मातापिता तारानाथ–धनेश्वरीको सम्झनामा १०८ धारा निर्माणमा गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष समेत रहनुभएका छोरा माधवप्रसाद र बुहारी लक्ष्मी रेग्मीले कोषलाई नगद ५१ हजार एकसय ५१ रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गर्नुभएको थियो ।
यसैबीच, आज साउनको पहिलो सोमबार सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीले पनि गलेश्वर शिवालयको दर्शन तथा पूजाअर्चना गर्नुभएको छ । केही दिन पहिला पोखरा आउनुभएका पराजुली साउनको पहिलो सोमबार म्याग्दीको गलेश्वरमा परिवारसहित दर्शन गर्न आएको बताउनुभयो ।गलेश्वर क्षेत्र पछिल्लो समय उच्च सरकारी अधिकारीसहित स्वदेशी तथा विदेशीको रोजाइमा पर्दै जान थालेको छ ।
प्रतिक्रिया