लुम्बिनीका दुई प्रादेशिक अस्पतालमा विरामीका लागि टिकट र जनरल बेड फ्रि

0
Shares

बुटवल।

लुम्बिनी प्रदेशका दुईवटा प्रादेशिक अस्पतालमा विरामीको लागि वहिरंग र इमर्जेन्सी टिकट तथा जनरल बेडमा निःशुल्क सेवा शुरु भएको छ । प्रदेश सरकार मातहतमा रहेका लुम्बिनी प्रादेशिक अस्पताल बुटबल र राप्ती प्रादेशिक अस्पताल दाङमा टिकट र जनरल बेड निःशुल्क भएको हो ।

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा आइतबार मुख्यमन्त्री कुलप्रसाद केसीले विरामी बेनिमाया थापालाई निःशुल्क टिकट हस्तान्तरण गर्दै सेवा शुभारम्भ गनुर्र भयो । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९÷८० को वजेटमा लुम्विनी र राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि आउने बिरामीहरुलाई ओपिडी र इमर्जेन्सीको टिकट तथा जनरल बेडमा शुल्क नलिने घोषणा गरेको थियो ।

उक्त सेवाको सुभारम्भ कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीले टिकट र जनरल बेड निशुल्क गर्न चालु आर्थिक वर्षको वजेटमा एक करोड ५० लाख रुपैयाँ बिनियोजन गरेको बताउनु भयो । उहाँले प्रादेशिक अस्पताललाई गौरवको आयोजनाका रुपमा राखेर विशेषज्ञ अस्पतालको रुपमा विकास गर्न लागिएको बताउनु भयो । छिटै १२ सय शैयाको १० तले भवन निर्माणको प्रकृया शुरु हुने र अस्पतालको आयस्रोतका लागि इलाका वन कार्यालयको जग्गा अस्पतालको स्वामित्वमा ल्याएर व्यवसायिक सटर र चिकित्सकका लागि आवास भवन बनाउने योजना रहेको मुख्यमन्त्री केसीले बताउनु भयो ।

प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव विकास देवकोटाले अस्पतालमा एमबीबीएसको पढाई शुरु गरी संस्थालाई एकेडेमिक रुपमा अगाडि बढाउने सरकारको तयारी रहेको बताउनु भयो । एमबीबीएसको पढाई शुरु गर्न सके चिकित्सकको दरबन्दी थप्नुपर्ने समस्या हट्ने र सरकारलाई आर्थिक भार कम हुने बताउनु भयो ।
अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. इन्द्र ढकालले अस्पतालले सेवा विस्तार र गुणस्तरमा सुधार गरेका कारण विरामीको चाप निरन्तर बढ्दै गएको बताउनु भयो । अस्पतालमा मासिक ३० हजार विरामीले उपचार सेवा लिने गरेको छन ।

लुम्बिनी प्रादेशिक अस्पतालमा आइतबारबाटै निःशुल्क रगत सेवा पनि शुरु भएको छ । निःशुल्क रगतका लागि सरकारी अस्पतालहरुले रक्त सञ्चार सेवा केन्द्रसँग सम्झौता गर्नुपर्छ ।